अझै सकिएन कर्णालीमा तुइन युग

July 29, 2025

ललितबहादुर बुढा साउन १३, २०८२ मंगलबार

अझै सकिएन कर्णालीमा तुइन युग

सुर्खेत : मुगुको सोरु गाउँपालिका–५ का मकरसिंह नेपाली तुइनमा नदी पार गर्दै थिए । एक्कासि तुइनको लठ्ठा चुँडियो । उनी तुइनसँगै कर्णाली नदीमा खसे । नदीमा पानीको वहाव धेरै भएकाले तत्काल उद्धार हुन सकेन । उनी नदीमै बेपत्ता भए । यो २०८० असोज २० गते हुम्लाको सर्केगाड गाउँपालिकामा भएको घटना हो । स्थानीय खरिखेत र रिपगाउँ जोड्ने तुइन तर्ने क्रममा कर्णालीमा खसेर बेपत्ता भएका ३८ वर्षीय नेपालीको मृत्यु भयो । घटना भएको एक महिनापछि उनको शव फेला परेको थियो । 

तुइनमा नदी तर्ने क्रममै डोल्पाको मुड्केचुला गाउँपालिकामा तुला बोहराले ज्यान गुमाइन् । स्थानीय जगदुल्ला नदी तर्न पुल नहुँदा उनी तुइनमा जाँदै थिइन् । त्यही क्रममा ५५ वर्षीया बोहरा तुइनबाट खसिन् । नदीमा खसेपछि उनको मृत्यु भयो । मुड्केचुला गाउँपालिका १ औलस्थित जगदुल्ला नदीमा रहेको पुल २०७६ सालको बाढीले बगाएको थियो । त्यसपछि नदी वारपार गर्न स्थानीयले तुइन सञ्चालन गरेका थिए । त्यही तुइनबाट खसेर २०८० असोज ६ गते बोहराको मृत्यु भयो । जाजरकोटका भुवामे खड्काको पनि तुइनबाटै खसेर ज्यान गुम्यो । स्थानीय छेडागाड खोलामा रहेको तुइनबाट खसेर जुनीचाँदे गाउँपालिका–४ का खड्काको मृत्यु भयो । 

null

जाजरकोटमा नदी तर्न पुल नहुँदा तुइनमा जोखिमपूर्ण यात्रा गर्दै एक बालक । तस्बिर : ललितबहादुर बुढा

जुनीचाँदे गाउँपालिका ४ र छेडागाड नगरपालिका–६ जोड्ने तुइनबाट खसेर अरू दुई जना घाइते भए । साढे तीन वर्ष अघिको उक्त घटनामा स्थानीय हरिसिंह खड्का र वीरबहादुर खड्का घाइते भएका थिए । छेडागाड खोला तर्न उनीहरूसँग तुइनबाहेक अर्को विकल्प थिएन । माथि उल्लेखित घटनाहरू केवल प्रतिनिधिमूलक हुन् । कर्णाली प्रदेशमा तुइनबाट खसेर ज्यान गुमाउने र घाइते हुनेको संख्या धेरै छ । कर्णालीका अधिकांश नदी र खोला तर्न सुरक्षित पुल छैनन् । जसले गर्दा अहिले पनि धेरै कर्णालीवासीले यिनै ज्यानमारा तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । 

हालसम्म कर्णालीमा तुइनबाट खसेर कति जनाको मृत्यु भयो भन्ने एकीन तथ्यांक कसैसँग छैन । तर, असुरक्षित र जोखिमपूर्ण तुइन तर्ने क्रममा तुइनको लठ्टा नै चुँडिने, तुइनबाट खस्ने, नदीमा बेपत्ता हुने र चोटपटक लाग्ने घटनाहरू अहिले पनि रोकिएका छैनन् । नदी र खोलामा सुरक्षित वारपार गर्न भन्दै सञ्चालन गरिएका तुइन नै कर्णालीवासीका लागि काल बनेका हुन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार तुइन दुर्घटनाका सबै रेकर्ड प्रहरीसँग पनि छैन । प्रदेशमा नदी र खोला तर्न प्रयोगमा रहेका तुइनहरू सुरक्षित नभएको प्रहरीको भनाइ छ । असुरक्षित तुइनका कारण सर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै कार्यालयले पछिल्ला केही वर्षमा भएका तुइन दुर्घटनाको मात्र रेकर्ड भेटिएको जनाएको छ । 

२०७५ देखि हालसम्मको अवधिमा तुइनबाट खसेर तीन जनाको मृत्यु भएको रेकर्ड प्रहरीसँग छ । यस्तै दुईजना घाइते भएको रेकर्ड कार्यालयसँग छ । त्योभन्दा अगाडि भएका तुइन दुर्घटनाको रेकर्ड आफूसँग पनि नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको रेकर्डमा नभए पनि कर्णालीमा बर्सेनि तुइनबाट खसेर सर्वसाधारणको मृत्यु हुने, बेपत्ता हुने र घाइते हुनेक्रम भने रोकिएको छैन । 

आँखा चिम्लँदै, तुइन तर्दै 
जोखिमपूर्ण तुइनको यात्रा गर्नु कर्णालीवासीको रहर होइन । नदी र खोलामा वारपार गर्ने पुल नहुँदा सर्वसाधारण तुइनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कति बेला तुइनबाट खसिने हो टुंगो छैन । तर, पनि भरपर्दो विकल्प नहुँदा सर्वसाधारणलाई आँखा चिम्लेर तुइनमा यात्रा गर्नुपर्ने अवस्था छ । 

हुम्लाको सर्केगाडका बासिन्दा अहिले पनि कर्णाली नदीमा रहेको तुइन तर्न बाध्य छन् । स्थानीयका अनुसार यहाँका जनप्रतिनिधिले पनि तुइनमा यात्रा गर्नुपर्ने बाध्यता छ । यो गाउँपालिकाको–२ का जनप्रतिनिधिलेसमेत तुइन तर्नुपर्ने बाध्यता छ । स्थानीय आइती फडेराले भनिन्, ‘कर्णाली तर्न पुल छैन, हामीलाई दिनहुँ वारपार गर्नुपर्ने काम हुन्छ । डर मानेर के गर्नु ? , हामी त बाध्यताले आँखा चिम्लेर तुइनमा वारपार गर्छौं ।’ उनका अनुसार नदी तर्ने केही उपाय नहुँदा गाउँलेहरू आफ्नो ज्यान नै जोखिममा राखेर तुइनमा यात्रा गर्न बाध्य छन् । 
तुइनमा खाद्यान्न, अन्य उपभोग्य सामान, घाँस र दाउरासमेत ढुवानी हुन्छ । तुइन तर्ने क्रममा यात्रा सुरक्षित होस् भन्दै स्थानीयले आफ्नो कुल देउता भाकल गर्ने गरेका छन् । स्थानीय जय बुढाले गाउँमा पुल नहुँदा तुइनको जोखिमपूर्ण यात्रा गर्नु बाध्यता भएको सुनाए । 

‘पहिला पनि तुइन चुँडिएर मान्छेको ज्यानै गएको थियो, हामीलाई अहिले पनि तुइनमा जाँदा मुटुले नै ठाउँ छोड्छ । तर, वारपार गर्नलाई अरू उपाय नै छैन, गाउँलेहरू अचेल अप्रिय घटना नहोस् भन्ने कामनासहित आफ्नो कुल देउतालाई सम्झेर तुइनमा यात्रा गर्छन् ।’ हुम्लामा मात्र होइन, कर्णालीका अन्य जिल्लामा रहेका तुइनबाटै कतिपय स्थानमा बालबालिका जोखिम मोलेर विद्यालय आउजाउ गर्न बाध्य छन् । कतिपय अवस्थामा विरामीलाईसमेत तुइनमा राखेर नदी र खोला पार गराउनुपर्ने बाध्यता छ ।

nullजाजरकोटमा पुल नहुँदा तुइनबाट नदी तर्दै स्थानीय । 

कर्णालीमा कति छन् तुइन ? 
कर्णाली प्रदेश सरकारले यस्ता ज्यानमारा तुइन विस्थापित गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि प्रदेश सरकारले गत जेठ २६ गते सार्वजनिक सूचना नै निकालेर प्रदेशभर सञ्चालनमा रहेका तुइनको जानकारी मागेको थियो । उक्त सूचनाका आधारमा कर्णालीका विभिन्न ८ जिल्लाबाट अहिले पनि जोखिमपूर्ण तुइन रहेको तथ्यांक प्रदेश सरकारले संकलन गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेशभर ५५ वटा तुइन रहेको भन्दै जिल्लाले विवरण पठाएका छन् । 

मन्त्रालयमा प्राप्त प्रारम्भिक तथ्यांकअनुसार सबैभन्दा धेरै १५ वटा तुइन हुम्लामा छन् । यस्तै कालीकोटमा १२, जाजरकोटमा १२, सुर्खेतमा ८, डोल्पामा ३, मुगुमा २, दैलेखमा २ र सल्यानमा एउटा तुइन रहेको भन्दै पुल माग भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी इन्जिनियर श्रद्धा बस्यालले भनिन्, ‘प्रदेशमा रहेका तुइनको तथ्यांक संकलन गर्न सार्वजनिक सूचना निकालेका थियौं, जसअन्तर्गत स्थानीय तह, वडा कार्यालय र सर्वसाधारणबाट विवरण प्राप्त भएको छ । विभिन्न ८ जिल्लामा यस्ता तुइन रहेको जानकारी हामीलाई आएको छ, जसअनुसार अहिले पनि प्रदेशभर ५५ वटा तुइन रहेको देखियो ।’ यद्यपि यो विवरण प्रारम्भिक भएको र थप अध्ययन गर्न जिल्लास्थित पूर्वाधार विकास कार्यालयहरूलाई भनिएको उनले बताइन् । जिल्ला कार्यालयले स्थलगत अध्ययन गरेपछि मात्र तुइनको वास्तविक अवस्था र विवरण आउने मन्त्रालयले जनाएको छ ।

दुई जिल्लामा भेटिएनन् तुइन
कर्णालीका दुईवटा जिल्लामा भने तुइन नरहेको पाइएको छ । सार्वजनिक सूचना नै जारी गरेर मागिएको विवरणअनुसार प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा तुइन रहेको पाइएको हो । प्रदेशका बाँकी दुई जिल्लामा भने तुइन नभेटिएको प्रदेश सरकारले जनाएको छ । 
सार्वजनिक सूचनामार्फत माग गरिएको अवधिमा रुकुमपश्चिम र जुम्लाबाट तुइन रहेको विवरण प्राप्त नभएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । यी जिल्लाबाट विवरण नआएकाले प्रदेशका दुई जिल्लामा हाल तुइन नरहेको निष्कर्षमा प्रदेश सरकार पुगेको छ । यद्यपि, यी दुई जिल्लामा तुइन सञ्चालनमा नरहेको भए पनि आवश्यक स्थानमा झोलुंगे पुल निर्माण गर्ने योजना भने प्रदेश सरकारको छ । बाँकी आठ जिल्ला हुम्ला, डोल्पा, जाजरकोट, कालीकोट, सुर्खेत, दैलेख, सल्यान र मुगुमा भने तुइन भेटिएको प्रदेश सरकारले जनाएको छ ।

‘तीनै तहका सरकारबीच समन्वय होस्’
 कर्णालीवासीलाई तुइनको कहरबाट मुक्त गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने सरोकारवालाले बताएका छन् । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएमा तुइनमुक्त अभियान सफल हुने बताइन् । कर्णालीबासीलाई तुइनको कहरबाट मुक्त गर्न अब ढिला गर्न नहुने उनको भनाइ छ । ‘बल्ल कर्णालीका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्, तर नदी र खोलामा अहिले पनि जोखिमयुक्त तुइन र काठका पुल बाँकी नै छन्’, उपाध्यक्ष तिमल्सिनाले भनिन्, ‘नागरिकले तुइनबाट खसेर ज्यान गुमाउनुपर्ने अवस्था अब अत्य हुनुपर्छ, यसका लागि पुल निर्माण गर्न तीनै तहका सरकार जुटौं ।’ उनले कर्णालीवासीको पीडामा स्थानीय, प्रदेश र संघीय सरकार संवेदनशील हुनुपर्ने बताइन् । 

यस्तै सामाजिक अभियान्ता विन्दुलाल रेग्मीले तुइनहरू निकै जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेको बताए । उनले भने, ‘कतिपय स्थानमा तुइन रूखमा बाँधेर चलाइएको छ, लठ्ठा बाँधिएका पोलहरू पनि कमजोर छन् । कुनै पनि बेलामा दुर्घटना हुने जोखिम छ, दुर्गम क्षेत्रका बासिन्दा तुइनबाट सुरक्षित छैनन् ।’ हालै मात्र आफूले पनि हुम्लामा कर्णाली नदीमाथिको तुइनमा यात्रा गर्नुपर्ने बाध्यता आइलागेको उनले सुनाए । nullजाजरकोटमा तुइन तर्दै स्थानीय ।  

उनले भने, ‘कतिपय स्थानमा वारीपारी सडक पुगेको छ, तर त्यहाँ पुल नबन्दा तुइनमा वारपार गर्नुपर्ने अवस्था छ । नागरिकले यस्तो दुख कहिलेसम्म भोग्नुपर्ने हो ?, अब तुइन हटाएर पुल निर्माण गर्न राज्यले ढिला नगरोस् ।’ उनका अनुसार तुइनबाट मोटरसाइकल तारेको एक हजार र व्यक्तिको एकसय रुपैयाँका दरले शुल्क लिने गरिएको छ । यसबाट नागरिक थप पीडित बनेको उनकोभनाइ छ ।

५ वर्षमा ५ सय झोलुंगे पुलको लक्ष्य 
कर्णालीमा आगामी पाँच वर्षभित्र झन्डै ५ सय अर्थात् ४ सय ९६ वटा नयाँ झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिइएको छ । कर्णालीको दोस्रो पञ्चवर्षीय योजनाले यो लक्ष्य समेटेको हो । जसअन्तर्गत आगामी ५ वर्षभित्र हाल कर्णालीमा रहेका १ हजार ३ सय ४ वटा झोलुंगे पुलको संख्या बढाएर १ हजार ८ सय पुर्‍याउने लक्ष्य राखिएको छ । 

कर्णाली प्रदेश योजना आयोगले तयार पारेको दोस्रो पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६) मा दुर्गम गाउँबस्ती, पदमार्ग र पर्यटकीय स्थल लगायतका स्थानमा एक घण्टाको दूरीमा झोलुंगे पुल निर्माण गरिने उल्लेख छ । यस्तै निर्माण सम्पन्न भएका झोलुंगे पुलको मर्मत सम्भार गरिने उक्त योजनाले समेटेको छ । आवधिक योजना अनुसार कर्णालीमा आर्थिक वर्ष २०७९/८० सम्म १ हजार ३ सय ४ झोलुंगे पुल निर्माण सम्पन्न हुँदा गत आर्थिक वर्ष २०८०/८१ मा ४० वटा पुल निर्माण भएका छन् । 

आगामी दुई वर्ष अर्थात् आर्थिक वर्ष २०८३–८४ सम्म कर्णालीमा झोलुंगे पुलको संख्या १ हजार ६ सय पुग्नेछ । आवधिक योजना समाप्त हुने आर्थिक वर्ष २०८५/८६ मा यस्ता पुलको संख्या १ हजार ८ सय पुग्ने योजना आयोगको प्रक्षेपण छ । संघीय सरकार, स्थानीय तह र विभिन्न विकास साझेदार सँगको सहकार्यमा यस्ता झोलुंगे पुल निर्माण गरी नागरिकलाई सुरक्षित यात्राको पहुँचमा पुर्‍याउने प्रदेश सरकारको लक्ष्य छ ।

यो आर्थिक वर्षभित्रै कर्णाली तुइनमुक्त हुन्छ । एक वर्षभित्र प्रदेशमा रहेका सबै तुइन हटाएर झोलुंगे पुल निर्माण गर्ने छौं । जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयबाट तुइनको स्थलगत अनुगमन हुँदैछ । आवश्यकताको आधारमा सरकारले झोलुंगे पुल निर्माण गर्नेछ । अब कर्णालीमा रहेका सबै तुइन विस्थापित हुनेछन् ।
शेरबहादुर बुढा, मन्त्री, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कर्णाली

नदी र खोलामा जोखिमयुक्त तुइन र काठका अस्थायी पुल बाँकी नै छन् । नागरिकले तुइनबाट खसेर ज्यान गुमाउनुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ । तुइन हटाएर पुल निर्माण गर्न तीनै तहका सरकारले समन्वय गरौं । कर्णालीवासीको पीडामा अब स्थानीय, प्रदेश र संघीय सरकार संवेदनशील हुनै पर्छ ।
देवकी तिमल्सिना, उपाध्यक्ष, सर्केगाड गाउँपालिका, हुम्ला

तुइनहरू निकै जीर्ण र जोखिमपूर्ण छन् । कतिपय तुइन रूखमा बाँधेर चलाइएको छ। लठ्ठा बाँधिएका पोल पनि कमजोर छन् । केही ठाउँमा वारपिारि सडक पुगेको छ । तर, त्यहाँ पुल नबन्दा तुइनमा वारपार गर्नुपर्ने बाध्यता छ । कुनै पनि बेलामा दुर्घटना हुने जोखिम छ । दुर्गमका नागरिकले यस्तो दुःख कहिलेसम्म भोग्नुपर्ने हो ? 
विन्दुलाल रेग्मी, सामाजिक अभियान्ता, सुर्खेत

एक वर्षभित्र ‘तुइनमुक्त कर्णाली’ 

पक्की पुल र झोलुंगे पुल नहुँदा कर्णालीका बासिन्दा तुइनबाट नदी तथा खोला तर्न बाध्य छन् । कतिपय स्थानमा भौगोलिक विकटताका कारण पनि छोटो दूरीका लागि तुइनको प्रयोग भइरहेको छ । यही बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले तुइनमुक्त कर्णाली बनाउने योजना बनाएको छ । 

जसअन्तर्गत कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यो विषय समेटेको हो । आधा घण्टाको हिँडाइ–फेरोभित्र पहुँच पुर्‍याउन झोलुंगे पुल निर्माण गरी यसै आर्थिक वर्षभित्र प्रदेशबाट पूर्णरूपमा तुइन विस्थापन गरिने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । 

यसका लागि तुइनको विवरण संकलन भइसकेको र यो आर्थिक बर्षभित्रै प्रदेशमा रहेका सबै तुइन हटाइने प्रदेश सरकारले जनाएको छ । तुइनमुक्त प्रदेश बनाउन तुइन हटाएर झोलुंगे पुल निर्माण गर्ने योजना प्रदेश सरकारको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र तुइन हटाउन आवश्यक बजेटसमेत विनियोजन गरेको छ । 

तुइन विस्थापित गर्न र थप ७५ वटा नयाँ झोलुंगे पुल निर्माण गर्न यो आर्थिक वर्षमा ३७ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा भन्छन्, ‘तुइनको यात्रा सुरक्षित छैन, यसका लागि सरकारले दिगो समाधान गर्दै छ । जोखिमपूर्ण तुइनहरू हटाउने अभियान सुरु भइसक्यो, यो आर्थिक बर्षभित्र स्रोत सुनिश्चित गरेर सबै तुइन हटाउने छौं ।’ यद्यपि उनले जिल्लाबाट प्राप्त भएको तुइनको विवरण बढी भएको बताए । प्रदेशमा तुइन भए पनि जिल्लाबाट आएको विवरण बढी देखिएकाले थप अध्ययन गर्न जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिइएको उनको भनाइ छ । 

सरकारले आंकलन गरेभन्दा बढी तुइनको विवरण आएपनि थप अध्ययन गरेर प्रदेशमा रहेका सबै तुइन हटाएर झोलुंगे पुल निर्माण गरिने मन्त्री बुढाले जानकारी दिए । तुइन हटाएर झोलुंगे पुल निर्माण भएमा नदी र खोला तर्नका लागि सुरक्षित हुने विस्वास सरकारको छ । भौगोलिक रूपले विकट र दुर्गम स्थानका बासिन्दाको यात्रामा सहजता ल्याउन तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

तुइनको यात्रा जोखिमपूर्ण रहेको र यसले दुर्घटना निम्त्याउने भएकाले पनि यही आर्थिक वर्ष भित्रमा सबै तुइन विस्तापित गर्ने अभियान सुरु गरिएको प्रदेश सरकारको भनाइ छ । अबको एक बर्ष भित्रमा प्रदेशमा रहेका सबै तुइन हटाइने प्रदेश सरकारको दाबी छ ।

स्रोत: https://annapurnapost.com/story/483156/ 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More