नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने एडिबीको अनुमान

April 09, 2025

२o८१ चैत २७ बुधबार १२:४७:oo

एसियाली विकास बैंक (एडिबी) ले बुधबार सार्वजनिक गरेको एसियाली विकास परिदृश्य ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एडिओ) अप्रिल २०२५ प्रतिवेदनअनुसार आर्थिक वर्ष सन् २०२५ मा नेपालले ४.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ। यो वृद्धिदर आर्थिक वर्ष २०२६ मा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

उत्पादन क्षेत्रको योगदान

प्रतिवेदनले सबै प्रमुख उत्पादन क्षेत्रमा विस्तार हुने अपेक्षा गरेकाे छ। कृषि मन्त्रालयले यो आर्थिक वर्षमा धान उत्पादनमा ४ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ। सामान्य अवस्थाभन्दा राम्रो मनसुन रहने, समयमै मलखादको उपलब्धता र उच्च उत्पादन दिने बिउबिजनको उपलब्धतालाई यसको कारण मानिएको छ । यद्यपि, हिउँदे वर्षाको कमीले हिउँदे बालीमा असर पर्न सक्ने भएकाले कृषि क्षेत्रको समग्र वृद्धि गत वर्षको ३ प्रतिशतबाट घटेर २.८ प्रतिशमा झर्ने अनुमान छ।

उद्योग क्षेत्रमा पनि सुधार हुने देखिन्छ। गत वर्ष संकुचनमा रहेका उत्पादन र निर्माण क्षेत्र यो वर्ष स्थिर पेट्रोलियम र कच्चा पदार्थको मूल्य, तरलतामा वृद्धि र ब्याजदरमा कमीका कारण विस्तार हुने अपेक्षा छ। यी कारणले सबै उत्पादन क्षेत्रमा कर्जा प्रवाह बढेको छ। सरकारले पुँजीगत खर्चलाई तीव्रता दिने लक्ष्य राखेको छ। सरकारले ८५ प्रतिशत खर्च गर्ने  सरकारी योजना छ।

जलविद्युत् आयोजनाहरूको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। कर्जामा पहुँच वृद्धि, प्रत्यक्ष वैदेशिक लगानीमा उच्च प्रतिबद्धता र अन्तर्राष्ट्रिय पर्यटक आगमनमा पुनरुत्थानका कारण सेवा क्षेत्रको वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण छ। आन्तरिक माग बढ्दा थोक र खुद्रा क्षेत्र बलियो हुने अपेक्षा छ। सडक सञ्जालको सुधार र पर्यटकको बढ्दो आगमनले यातायात र लजिस्टिक क्षेत्रमा पनि लाभ पुग्ने एडिबीको अनुमान छ।

प्रतिवेदनअनुसार सूचना र सञ्चार सेवा क्षेत्र पनि सुदृढ हुँदै छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा यो क्षेत्रको निर्यात २९ प्रतिशतले बढेको छ, जुन गत वर्ष ४.९ प्रतिशत मात्र थियो। हालै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन तथा कम्पनी ऐनमा गरिएको संशोधनले नेपालको सूचना प्रविधि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीलाई खुला गरिएको छ, जसले थप वृद्धिलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

स्रोत: https://www.nayapatrikadaily.com/news-details/164711/2025-04-09 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More