बागमतीको खेतीयोग्य जमिनमा बढ्दो अम्लियपना, घट्यो उत्पादन

April 12, 2024

नवीन तिमल्सिना  २०८० चैत २९ गते १८:१०

२९ चैत, हेटौंडा । बागमती प्रदेशको ८० प्रतिशत खेतीयोग्य जमिनमा अम्लियपना बढ्दै गएको देखिएको छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला, बागमती प्रदेशले २०७६ देखि गरेको माटो परीक्षणको तथ्यांकले अम्लियपना नियन्त्रणमा आउन नसकेको देखाएको हो ।

बागमती प्रदेशको २० लाख ३० हजार हेक्टर कुल क्षेत्रफलमध्ये ३ लाख २८ हजार २ सय ९७ हेक्टर अर्थात् १६ दशमलव १७ प्रतिशत भूभाग जमिन खेतीयोग्य छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअनुसार जसमा २ लाख ८९ हजार ६ सय ६२ हेक्टर जग्गामा खेती गरिएको छ ।

अम्लियपनाका कारण कृषि उत्पादनमा निरन्तर ह्रास आइरहेको कृषि विज्ञहरु बताउँछन् । २०७६ देखि चैत तेस्रो सातासम्म १५ हजार ५ सय ८८ वटा माटोको नमूना परीक्षण गर्दा ८० प्रतिशत माटोमा अम्लियपना देखिएको प्रयोगशाला प्रमुख वरिष्ठ माटो विज्ञ डा. जनार्दन खड्काले जानकारी दिए । प्रयोगशालाले ०७६/७९ सम्म १० हजार ६ सय ४१ वटा माटोको नमूना परीक्षण गरेकोमा ८३ प्रतिशत माटोमा अम्लियपना देखिएको उनले बताए ।

चालू आर्थिक वर्ष २०८०/८१ को चैत तेस्रो सातासम्म ४ हजार ९ सय ४७ वटा माटोको नमूना परीक्षण हुँदा ८७ प्रतिशत अम्लियपना देखिएको तथ्यांक छ । एक पटक माटो परीक्षण गरेपछि ५ वर्षसम्म पुनः परीक्षण नगरिने डा. खड्का बताउँछन् । ‘अम्लियको परीक्षण एक पटक नियन्त्रणका उपाय गरिसकेपछि कम्तिमा पनि ५ वर्ष गर्नुपर्दैन । नयाँ–नयाँ माटोको परीक्षण गर्दा अम्लिय एउटै दरमा देखिएको छ,’ उनले भने ।

माटोमा बढी अम्लियपना काठमाडौं उपत्यकासहित काभ्रे, मकवानपुरको उत्तरी क्षेत्र, चितवन, नुवाकोट र धादिङका जिल्लामा देखा परेको प्रयोगशालाले जनाएको छ । तरकारी उत्पादन बढी हुने क्षेत्रमा विषादीको प्रयोग अधिक, काठमाडौंको ढल बगेर पुग्ने जग्गा भएकाले, वर्षातको पानी बगेर जम्मा हुने गहिरो भूमागमा बढी अम्लियपपना देखिएको डा. खड्काले उल्लेख गरे । माटोमा खाद्य तत्व हुँदा पनि अम्लिपयनाले बिरुवा डढ्ने, उर्मिने वित्तिक्कै मर्ने/सुक्ने समस्या देखिने उनले बताए ।

रासायनिक मल र विषादीको बढ्दो प्रयोग, वर्षातको पानी बगेर सिधै खेतीयोग्य जग्गामा घुल्नुले अम्लियपना बढाएको कृषि विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक सुधीर श्रेष्ठले जनाए । वर्षातको पानी भेल बनेर आउँदा त्यसलाई सिधै खेतीयोग्य जग्गामा जानबाट रोक्नुपर्ने उनले सुनाए । ‘रासायनिकलाई घटाएर जैविक मलको प्रयोग बढाउने, वर्षातकाे पानी रोक्ने र कृषि चुनको प्रयोगले यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ,’ श्रेष्ठले भने । अम्लियपना बढ्नु र प्राङ्गारिक पदार्थको मात्रा घट्नुले उत्पादकत्वमा ह्रास भएको श्रेष्ठ बताउँछन् ।

बागमती प्रदेशका १३ वटै जिल्लाको खेतीयोग्य जग्गाको माटोमा ठूलो समस्या अम्लियपना नै रहेको प्रयोगशाला प्रमुख खड्काले उल्लेख गरे । ‘माटोको पैतृक पदार्थ चट्टान नै अम्लियपना छ,’ उनले भने । यस्तै, २०७६ देखि ०७९ सम्मको नमूना परीक्षणबाट माटोमा ४७ प्रतिशत मात्रै प्राङ्गारिक पदार्थ पाइएको छ । चालू आवको परीक्षणमा ५३ प्रतिशत कमी देखिएको डा. खड्काले जानकारी दिए । उत्पादनको क्षमता बढाउने प्राङ्गारिक पदार्थ माटोमा कमी हुनु दोस्रो ठूलो समस्याको रुपमा देखा परेको उनको भनाइ छ ।

गाईवस्तुको मलमा कमी आउनु, झार माटोमै कुहाउन छोड्नु, गाईवस्तुको मल नहाल्नुले माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको प्रयोगशाला प्रमुख डा. खड्का बताउँछन् । माटोमा पाइने नाइट्रोजन, पोटास र फस्पोरसको मात्रा भने स्थिर देखिएको छ । खाद्य तत्व फस्फोरस र पोटासको मात्रा ३० प्रतिशत कमी देखिएको भन्दै खड्काले समस्या नभएको बताए । ‘६० प्रतिशत माटोमा खाद्य तत्वको मात्रा भेटिनु राम्रो हो ।’

प्रयोगशालाले प्रदेशका विभिन्न जिल्लामा घुम्ती शिविर गरी माटो परीक्षण गर्दै आएको छ । दुई वटा बसलाई मोबाइल भ्यान बनाएर खेतखेतमै पुगेर परीक्षण गर्ने गरिएको कार्यालयकी माटो विज्ञ लक्ष्मी दाहालले बताइन् । बसमै परीक्षण मेसिन राखिएको उनले बताइन् । कार्यालयअनुसार प्रतिनमूना परीक्षणबाट ७२ रुपैयाँ ५० पैसा राजश्व लिने गरिएको छ । स्थानीय तहहरुले राजश्व दाखिला गर्दिने गरेकाले सामूहिक रुपमा माटोको नमूना परीक्षण गर्दै आएको दाहालले जानकारी दिइन् ।

घट्दो उत्पादन

बागमतीमा मुख्य बालीको रुपमा रहेको धान उत्पादनमा गिरावट आउने देखिएको छ । कृषि विकास निर्देशनालयले गतवर्ष भन्दा यसवर्ष ३२ हजार ६ सय २३ मेट्रिक टन धान उत्पादन घट्ने प्रक्षेपण गरेको छ ।

गत वर्ष धानको उत्पादकत्व ४ दशमलव ६ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव १ प्रतिशतमा खुम्चिएको निर्देशनालयले जनाएको छ । बागमतीमा गत आव २०७९/८० मा ४ लाख ६७ हजार ७ सय ५ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष ४ लाख ३५ हजार ८२ मेट्रिक टन मात्रै धान उत्पादनको अनुमान गरिएको कृषि निर्देशक सुधीर श्रेष्ठले जानकारी दिए ।

एक वर्षमा ६ हजार ६ सय ४६ हेक्टर सिंचित क्षेत्र घटेको उनले बताए । गत वर्ष १ लाख १५ हजार ९५ हेक्टर रहेकोमा यस वर्ष १ लाख ८ हजार ४ सय ४९ हेक्टर क्षेत्रफलमा मात्रै धात उत्पादन हुने भएको छ । बागमतीको चितवन, मकवानपुर, सिन्धुली, नुवाकोट र धादिङमा धेरै धान उत्पादन हुने गरेको छ । गत वर्षको तुलनामा चितवनमा १९ प्रतिशत, मकवानपुरमा १२ प्रतिशत, सिन्धुली र धादिङमा ५–५ प्रतिशत र नुवाकोटमा शून्य दशमलव ५४ प्रतिशत धान उत्पादन घट्ने निर्देशनालयको प्रक्षेपण छ ।

बागमतीमा गतव र्ष मकै ६ लाख ७७ हजार ९ सय ६२ मेट्रिक टन, कोदो ७२ हजार २ सय २७ मेट्रिक टन, तेलहन ४४ हजार ८ सय ७९ मेट्रिक टन, आलु ७ लाख ७७ हजार ९ सय ४८ मेट्रिक टन, उखु १ हजार ४ सय १० मेट्रिक टन उत्पादन भएको निर्देशनालयले जानकारी दिएको छ । गत वर्षभन्दा यस वर्ष यी बालीहरुको उत्पादन घट्न सक्ने अनुमान निर्देशनालयले गरेको छ ।

साना किसानमा पुग्न सकेन सरकार

माटोको अम्लियपना नियन्त्रणसँगै उत्पादन बढाउने उपायबारे कृषि पेशाबाट आत्मनिर्भर साना किसानहरु अनभिज्ञ रहेको पाइएको छ । संघ मात्र नभइ स्थानीय सरकार पनि साना किसानमा पुग्न नसकेको पाइएको हो । हेटौंडा उपमहानगरपालिका–१, मा मकै गोड्दै गरेकी पार्वती मरहठ्ठाले आफूलाई माटोमा हुने अम्लियपनाको बारेमा थाहा नभएको सुनाइन् । ‘मैले सुनेको मात्रै छु । यसलाई कसरी हटाउने भनेर कसैले भनेको छैन,’ उनले भनिन्, ‘अम्लियपनाले राम्रो फल्दैन भने त उपचार गरिहाल्छौं नी ।’

मकवानपुरगढी–५ का सुरेन्द्र र बिनिता हुमागाईं दम्पती पनि अम्लियपनाबारे अनभिज्ञ छन् । कृषिबाटै आत्मनिर्भर हुमागाईं परिवारलाई हरेक वर्ष बिरुवामा देखिने समस्याले पिरोल्ने गरेको छ । ‘बिरुवाको जरामा गाँठा पर्ने समस्या हुँदा के कारणले होला भन्ने लाग्थ्यो । माटोको बारेमा ज्ञान नै थिएन,’ बिनिताले भनिन्, ‘माटो राम्रो बनाउन जैविक मल हाल्नुपर्छ भनेर चाहिं सुनेको हो । वडातिर पनि केही भन्दैनन् ।’

मकवानपुरगढी गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी साना किसानसम्म पुग्न नसकेको स्वीकार्छन् । ‘व्यावसायिक किसानहरु चाहिं आउनुहुन्छ । हामीले पनि उनीहरुलाई कृषि चुन दिने गरेका छौं । साना किसान त माटो परीक्षणमा पनि आउँदैन, त्यहाँ पुग्न पनि नसकेको हो,’ चौधरीले भने । मकवानपुरगढीमा पशुपालनमा आधारित कृषि पेशा गर्ने गरेकाले माटोमा अम्लियपना धेरै नदेखिएको उनको भनाइ छ ।

पशुपालन नहुने र तरकारी खेती धेरै हुने जस्तै १, ८ र ७ नम्बर वडामा बढी अम्लियपना देखिएको उनले बताए । मकवानपुरगढी जिल्लाका १० पालिकामध्ये व्यवस्थित माटो परीक्षण प्रयोगशाला भएको स्थानीय तह हो । ६ नम्बर वडामा रहेको प्रयोगशालामा माटो परीक्षण गराउन आउन कृषक थोरै रहेको चौधरी बताउँछन् । साना किसानहरु माटो परीक्षणका लागि नआएको उनले बताए ।

स्रोत: https://www.onlinekhabar.com/2024/04/1463258 

Newsletter

Submit your details below to receive Newsletters

Newsletter