वसन्त ऋतुमा हिमाल आरोहणको सुखद सुरुवात

April 11, 2025

सुनिता कार्की, चैत २८, २०८१ बिहीबार १२:५२:७

वसन्त ऋतुमा हिमाल आरोहणको सुखद सुरुवात
messenger sharing button
काठमाडौं : वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहणका लागि चहलपहल बढेको छ। मार्च १ देखि अप्रिल ९ तारिख (फागुन १७ गतेदेखि चैत २७ गतेसम्म) ४१ समूहका ३८१ जनालाई विभिन्न हिमाल आरोहणको अनुमति दिइएको पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थीले जानकारी दिए। विभागले १५ हिमाल आरोहणका लागि ४१ समूहलाई अनुमति दिएको हो। हिमाल आरोहण अनुमतिको रोयल्टी बापत २४ करोड ५२ लाख रुपैयाँ संकलन भएको अवस्थीले अन्नपूर्णलाई जानकारी दिए। 

हिमाल आरोहरणको अनुमति लिनेमा २ सय ९७ जना पुरुष र ८४ जना महिला छन्। हरेक वर्ष सगरमाथा आरोहण नै सबैको आकर्षण बन्ने गरेको छ। यसपटक पनि सबैभन्दा बढी सगरमाथा आरोहणका लागि १४ समूहका १३४ जनाले अनुमति पाएका छन्।

अघिल्लो वर्षको यही अवधीमा ३ समूहले मात्र सगरमाथा आरोहणका लागि अनुमति पाएको सूचना अधिकारी अवस्थीले जानकारी दिए। सगरमाथा हिमाल आरोहण अनुमतिबाट २० करोड १६ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ। सगरमाथा चढ्न सबैभन्दा बढी अमेरिकाबाट ४२,  चिनबाट १९ र भारतबाट १७ जनाले अनुमति पाएको विभागले जनाएको छ। 

अनुमति पाउने आरोहीमा नेपालसहित विभिन्न ५७ देशका नागरिक छन्। जसमा २ जना नेपाली आरोही छन्। सबैभन्दा धेरै ६९ अमेरिकी आरोहीले अनुमति पाएका छन्। छिमेकी मुलुक भारतबाट ५१ र चीनका ४३ आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन्। सन् २०२५ को पहिलो हिमाल आरोहणको सिजनमा आरोहीको संख्या उत्साहित रूपमा बढेको विभागले जानकारी दिएको छ।

हाल दैनिक करिब ५ वटा सम्म आरोहणको अनुमति दिइने गरिएको अवस्थीले बताए। सन् २०२४ मा २९६ टिमले हिमाल आरोहण गरेको थियो, जसमा सगरमाथा आरोहण गर्ने टिम ४६ थिए। अघिल्लो वर्ष हिमाल आरोहणबाट ७८ करोड रोयल्टी उठेकोमा ६० करोड सगरमाथाबाट मात्रै उठेको अवस्थीले जानकारी दिए।  

सगरमाथा आधार शिविरमा हिमपहिरो
विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरमा बुधबार बिहान हिमपहिरो खसेको छ। आधार शिविर र प्रथम क्याम्पबीचको खुम्बुवास्थलमा हिमपहिरो गएको विभागका सूचना अधिकारी अवस्थीले जानकारी दिए।

हिम पहिरोका कारण नरोप फिक्सिङ (डोरी तान्न) गएकाहरू जान नसकेको उनले बताए। हिम पहिरोका कारण १ हजार मिटर ओछ्याएको डोरी पुरिएको छ भने ४ वटा भर्‍याङ पनि छोपिएका छन्। १–२ दिन पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गर्दै अवस्थीले त्यहाँको हावाको वेग ३५ किलोमिटर प्रतिघन्टा भएकाले मौसम बिग्रिएको बताए। मंगलबार भारी हिउँ परेको पनि उनले जानकारी दिए।

sharethis sharing button

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More