News

अक्षरांकन पद्धतिले गुणस्तर खस्कियो

June 24, 2018

वसन्त खड्का, नागरिक दैनिक, १० असार २०७५

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। गत चैतमा सञ्चालित एसइई परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ प्रकाशित गरेको हो। नतिजाअनुसार जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या १४ हजार दुई सय ३४ जना छ। ३.२५ देखि ३.६० जिपिए (ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४६ हजार एक सय ३० र जिपिए २.८५ देखि ३.२० (बी प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ छ। यस्तै ७० हजार पाँच सय १२ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बी ग्रेड) ल्याएका छन्। जिपिए २.०५ देखि २.४० (सी प्लस ग्रेड) ल्याउने विद्यार्थी ६१ हजार आठ सय ७० र जिपिए १.६५ देखि २.०० (सी ग्रेड) ल्याउने विद्यार्थी एक लाख एक हजार ४३ छन्। जिपिए १.२५ देखि १.६० (डी प्लस ग्रेड) ल्याउनेको संख्या ३५ हजार पाँच सय ८४ र जिपिए ०.८५ देखि १.२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८८ छ। एक्जाम्टेडतर्फ भने एकजना विद्यार्थीले पनि जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउन सकेका छैनन्।

यस वर्षको एसइईमा नियमिततर्फ चार लाख ५१ हजार पाँच सय ३२ जना परीक्षार्थी सहभागी थिए। तीमध्ये दुई लाख २३ हजार ६ सय एक छात्र र दुई लाख २७ हजार ९ सय ३१ छात्रा रहेको पनिकाले जनाएको छ । परीक्षामा एक्जाम्टेडतर्फ २५ हजार एक सय ३८ जना सहभागी थिए।

गत वर्षको एसइई परीक्षामा चार लाख ४५ हजार पाँच सय ६४ जना विद्यार्थी सहभागी थिए। तीमध्ये १२ हजार दुई सय ८४ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए। गत वर्षभन्दा परीक्षामा सहभागी विद्यार्थीको संख्या धेरै भएकाले ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको संख्या केही बढी छ। तर समग्रमा विद्यार्थीले प्राप्त गरेको ग्रेड खस्किएको छ। गत वर्ष जिपिए ०.८५ देखि १.२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ११ हजार दुई सय ८५ थियो। तर यस वर्ष ५८ हजार ६ सय ८८ विद्यार्थीको डी ग्रेड आएको छ। यसले ग्रेडिङ प्रणालीमा प्रवेश गरेपछि कमजोर विद्यार्थीको अवस्था झनै खस्किएको देखिएको छ।

शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ असार १५ गते प्रमाणीकरण भएपछि विगत लामो समयदेखि कक्षा १० को परीक्षाका रुपमा हुँदै आएको स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परिवर्तन भएको हो। साथै नतिजा पनि ग्रेड सिस्टम (अक्षरांकन पद्धति) मा प्रकाशित गर्न थालिएको हो। ग्रेडिङ प्रणालीमा कुनै विद्यार्थीलाई अनुत्तीर्ण मानिँदैन। विगतमा कम विद्यार्थी पास भएको भन्दै सरोकारवाला निकायको आलोचना हुने गथ्र्यो। पछिल्ला दुई वर्षमा भने यो आलोचनाबाट सरोकारवाला निकायले छुटकारा पाएका छन्। तर शिक्षाको स्तर भने कमजोर हुँदै गएको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन्। ‘अब न विद्यार्थीले मेहनत गर्नुपर्ने भयो न शिक्षकलाई नै विद्यार्थी पास भएनन् भन्ने चिन्ता हुने भो। जाँच दिँदादिँदै पास हुने प्रणालीमा गुणस्तर खोजेर कसरी हुन्छ ?’ कोइरालाले भने।

डा. कोइराला एसइई शिक्षकको रहर र तागत दुवै नभएकाले यो प्रणालीअन्तर्गत शिक्षा गुणस्तरीय हुन नसक्ने दाबी गर्छन्। ‘साँच्चिकै गुणस्तरीय शिक्षा कायम गर्ने हो भने ग्रेडिङ प्रणालीमा विद्यार्थीको नियमित मूल्यांकन हुनुपर्छ। उनीहरूलाई फाराम भर्न लगाएर पढाइको स्तर नियमित जाँच गर्नुपर्छ। तर कहाँ छ त्यस्तो अभ्यास?’ कोइरालाले भने।

ग्रेडिङ सिस्टमले विद्यार्थीलाई पनि समस्यामा पारेको उनी बताउँछन्। ‘बाहिर सबै विद्यार्थी पास भनिएको छ, तर ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले के पढ्ने भन्ने अन्योल छ।’ उनले भने, ‘विद्यार्थी पास पनि भएको छ तर आफूले पढ्न चाहेको विषय पढ्न पाउँदैन, यसले विद्यार्थीलाई अघि बढ्न रोकेको छ।’

शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल पनि ग्रेडिङ प्रणालीबाट शिक्षाको गुणस्तर वृद्धि भएको भन्न हतार हुने बताउँछन्। ‘यो प्रणालीबाट उल्लेख्य सुधार भएको भनिहाल्ने अवस्था छैन। यसबाट उल्लेख्य सुधार भएको छैन,’ उनले भने। ग्रेडिङ प्रणालीले व्यवस्थापकीय पक्षचाहिँ सुधार भएको उनी बताउँछन्।

‘अहिलेको प्रणालीले विद्यालयस्तरीय शिक्षालाई कक्षा १२ मा पु-याएको र शिक्षा क्षेत्रमा रहेका दुई वटा ऐनको सट्टामा एउटा मात्र ऐन बनेको छ। यो प्रणाली कति प्रभावकारी छ भन्न गाह्रो छ,’ लम्सालले भने। सहसचिव लम्साल भने ग्रेड प्रणालीले विभिन्न विकल्प दिएको दाबी गर्छन्। ‘हिजो विकल्प बन्द थियो, तर आज ग्रेडअनुसारको अघि बढ्न विकल्प छ,’ उनले भने।

ग्रेडिङ प्रणाली लागू भएपछि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष कक्षा ३, ५ र ८ कक्षाको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। उक्त परीक्षणले शैक्षिक उपलब्धि घटेको देखाएको छ । ग्रेडिङ प्रणालीअनुसार फेल भइँदैन भनेपछि विद्यार्थीले मेहनत गर्न छोडेको शिक्षाविद्हरू बताउँछन्। ‘पहिले–पहिले एसएलसीलाई लक्षित गरेर विद्यार्थीले तल्लो कक्षादेखि नै मेहनत गर्थे। शिक्षक र अभिभावकले पनि त्यही किसिमको शैक्षिक वातावरण सिर्जना गर्थे। अहिले एसएलसीको हाउगुजी हट्यो। शिक्षक र अभिभावकलाई अल्छी बनायो। यसबाट शिक्षाको गुणस्तर खस्किन थालेको छ,’ शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने।

स्रोत: http://nagariknews.nagariknetwork.com/news/50315/