News

अदुवा उत्पादन घट्यो

January 31, 2018

अन्नपुर्ण पोस्ट, १७ माघ २०७४

तेह्रथुममा यस वर्ष अदुवा उत्पादन घटेको छ। छिप्पिने बेलामा गानो कुहिँने, पात बेरिने, गबारोलगायत रोगका संक्रमणले अदुवा उत्पादन घटेको हो। म्याङलुङ नगरपालिकाको पिप्लेका अदुवा किसान माधव गुरागाईंले गत साल महँगो मूल्य तिरेर पाँच रोपनी बारीमा लगाएको अदुवा छिप्पिने बेलामा रोगले सखाप पारेको जानकारी दिए।

अदुवाका बिरुवा हलक्क बढेर ठूलो भएपछि साँवा बीउ उठाउन र अचारको रूपमा प्रयोग गर्न साउन भदौमा पहिलेको माउ बीउ झिक्ने गरिन्छ। कतिपय किसानले माउ बीउ त्यहीँ समयमा राम्रो भाउमा बिक्रीसमेत गर्छन्। बोट परिपक्व नभई माउ निकाल्दा रोग देखा परेको हुनसक्छ। महँगो मूल्यमा बीउ खरिद गरी राम्रो फलाउने आसमा बारीमा लगाएको अदुवा लगभग खन्ने समय हुन लाग्दा रोगलागेपछि किसान मर्कामा परेको किसान गुरागाईंको गुनासो छ।

बजारमा भाउ कम भएका बेला उत्पादन घटेपछि किसान झन् मारमा परेका छन्। अदुवा खन्ने बेलामा विभिन्न रोगले बगान सखाप भएर मारमा पर्ने गुरागाईंजस्ता किसान जिल्लामा धेरै छन्। म्याङलुङ नगरपालिकाका सबै वडामा अधिकांश किसानले अदुवाखेती लगाएका छन्। म्याङलुङ, जिरीखिम्ती, पिप्ले, आम्बुङ, साब्ला, तम्फुलगायत साबिकका गाविसमा व्यावसायिक अदुवाखेती गरिन्छ। गत साल अदुवा बिक्रीबाट १३ रोपनीसम्म जग्गा जोडेका म्याङलुङ ५ का रुद्र खड्का पछिल्लो समय अदुवामा रोग लाग्ने र बजार मूल्यमा एकरुपता नभएका कारण चिन्तित छन्।

छिप्पिने बेलामा गानो कुहिँने, पात बेरिने, गबारोलगायत रोगका संक्रमणले अदुवा उत्पादन घटेको हो।

छथर क्षेत्रमा पनि अधिकांश किसानले लगाएको अदुवामा रोगको संक्रमणका कारण उत्पादन घटेको छ। अन्यबालीभन्दा अदुवामा दोब्बर तेब्बर फाइदा हुने भन्दै यस खेतीमा हौसिएका कारण किसान समस्यामा परेका छन्। छथर गाउँपालिका हमरजुङकी किसान विष्णुमाया लिम्बूले भनिन्, ‘नरोपौं अन्य आम्दानी छैन रोपौं रोगले बगान सखाप बनाइदियो।’

छथर पञ्चकन्याकी किसान यशोदा दाहालले अदुवाले नाफाभन्दा बढी घाटा हुन थालेको गुनासो गरिन्। मुख्य नगदेबालीका रूपमा जिल्लाका ६ वटै स्थानीय तहमा अदुवाखेती हुन्छ। अदुवामा सुरुमा गानो कुहिँने र पछि पहेँलिएर बोट सुक्ने समस्या देखिएको छ। गबारो लाग्ने तथा पात बेरिने समस्या पनि देखिएको छ।

अदुवाको बगान र भाउ दुवै राम्रो भएका बेला अदुवा किन्न व्यापारी बगान पुग्ने गरे पनि अहिले उनीहरू आउन छाडेको मेन्छयायेम गाउँपालिका श्रीजुङकी किसान दीपा लिम्बूले बताइन्। उनले भनिन्, ‘अहिले गाउँमा व्यापारी आउन छाडेका छन्।’ म्याङलुङ जिरिखिम्तीका किसान जितबहादुर राईले अब वैकल्पिक बाली लगाउने योजना बनाएको सुनाए। उनका अनुसार मलखाद मिलाएर एक क्विन्टल अदुवा रोप्दा आठ क्विन्टलसम्म उत्पादन हुने गरेको थियो। तर, अहिले उत्पादन घटेको छ।

केही वर्षअघि प्रतिकिलो एक सय २० रुपैयाँसम्म मूल्य पुगेपछि व्यावसायिक अदुवा लगाउने किसान बढेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ। तर, एक्कासि अदुवामा रोग बढेपछि किसान निराश छन्। बेमौसममा माउ बीउ निकाल्नु र गोडमेल गर्दा गानोमा चोट पुग्नाले संक्रमण बढेको हुनसक्ने जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका कृषि प्राविधिक हरिगोपाल आचार्यले बताए। प्राविधिक आचार्यका अनुसार ड्याङमा पानी जम्दा र पानी परेका बेला बगानमा छिर्दा पनि गानो कुहिने तथा बोट पहेंलिने समस्या हुने गर्छ। ‘रोप्नु अगाडि नै माटो परीक्षण गरेर मात्र अदुवा रोप्नुपर्ने हुन्छ’, आचार्यले भने। जिल्लामा नसे र बोसे दुई प्रजातिका अदुवाखेती हुने गरेको छ। आर्थिक वर्ष ७२÷७३ मा कुल दुई सय ६० हेक्टर क्षेत्रफलमा तीन हजार नौ सय ५३ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि कार्यालयले जनाएको छ।

स्रोत: http://annapurnapost.com/news-details/89691