News

अन्नपूर्ण क्षेत्रको आम्दानी २३ करोड

July 31, 2017

कृष्णमणि बराल, अन्नपुर्ण पोष्ट, १६ श्रावण २०७४ 

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा पर्यटक शुल्कबापतको आम्दानी बढेको छ । अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको संख्या बढेसँगै आम्दानी पनि बढेको हो । आव २०७३/०७४ मा पदयात्रा गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत २३ करोड १५ लाख नौ हजार आम्दानी भएको छ जुन अहिलेसम्मकै धेरै हो ।

सो अवधिमा एक लाख ३८ हजार आठ सय १५ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा गरेका थिए । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।आव २०७२/०७३ मा प्रवेश शुल्कबापत १४ करोड ४२ लाख ६ हजार ६ सय रुपैयाँ आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लालप्रसाद गुरुङले बताए । सो वर्ष ८१ हजार ८ सय ७८ जना पर्यटकले पदयात्राको अनुमति लिएको आयोजना प्रमुख गुरुङले जानकारी दिए ।

भूकम्पको प्रभावले आव ०७१/०७२ माभन्दा आव २०७२/०७३ मा कम पर्यटक पदयात्राका लागि आएका थिए । आव २०७१/०७२ मा एक लाख १४ हजार चार सय १८ पर्यटकले एक्याप क्षेत्रको भ्रमण गरेका थिए । सो अवधिमा पर्यटक प्रवेश शुल्कबापत २० करोड ६९ लाख ६४ हजार ६ सय आम्दानी भएको थियो ।

२०७०/०७१ मा एक लाख २४ हजार नौ सय ९८ पर्यटकले एक्याप क्षेत्रको पदयात्रा गरेका थिए । त्यस अवधिमा २१ करोड ९२ लाख ८० हजार प्रवेश शुल्कबापत आम्दानी भएको थियो । आव २०६९/०७० मा १९ करोड ९३ लाख ४२ हजार ६ सय रुपैयाँ प्रवेश शुल्कबापत आम्दानी भएको थियो । सो अवधिमा एक लाख १३ हजार दुई सय १३ जना पर्यटकले पदयात्रा गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति तीन सय लिँदै आएको छ भने अन्य देशका पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पदायात्रा मार्ग हुँदै सडक निर्माण भएसँगै पर्यटकको आगमन बढे पनि पर्यटकले गर्ने खर्च भने निकै घटेको छ । सडक निर्माणसँगै २१ दिनको अन्नपूर्ण चक्रिय पदयात्रा बेसीसहर, ताल, चामे, मनाङ, थोरङला पास हँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम, मार्फा, तातोपानी, घोरेपानी हुँदै पोखरासम्मको पदयात्रा घटेर ५/६ दिनमा झरेपछि पर्यटकले पदयात्रामा गर्ने खर्च पनि घटेको हो । पदयात्रा अवधि छोटिएसँगै यस क्षेत्रका स्थानीयको पर्यटन व्यवासायबाट हुने आम्दानी पनि घटेको छ ।

अन्नपूर्ण फेरो २१ दिनको पदायात्रा गर्दा त्यतिबेला एक जना पर्यटकले कम्तीमा ५० देखि ६० हजार रुपैयाँसम्म खर्च गर्थे । पदयात्रा क्षेत्रमा सडक विस्तारसँगै अन्नपूर्ण फेरोको पदयात्र अवधि घटेर ५ देखि ६ दिनमा पूरा गर्न सकिने भएसँगै प्रतिपर्यटक १८ देखि २० हजारसम्म खर्च हुने गरेको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष दीपक अधिकारीले बताए । अन्नपूर्ण क्षेत्रको उत्तरी बेल्टको पदयात्रा क्षेत्र लगभग सकिएको उनले सुनाए ।

मनाङको तिलिचोतालसम्म पनि पदयात्रा निर्माणका लागि जोमसोमको ठिमी र मनाङको खाङ्सारभन्दा माथिसम्म सडक निर्माण गरिएकाले विश्वकै उच्च स्थानमा रहेको तिलिचोतालसम्मको पदायात्रा छोटिँदै गएको छ । विश्वकै उत्कृष्ट दशमा पर्ने अन्नपूर्ण पदयात्राको उत्तरी बेल्ट सडक सञ्जालले लगभग सकिएको अधिकारीले बताए । अव बाँकी रहेको अन्नपूर्ण आधार शिविर, पुनहिल, घोरेपानी क्षेत्र पनि सडक विस्तारसँगै घट्दै गएको छ । पदयात्रा क्षेत्र भएर सडक निर्माण गरिए पनि त्यसको बिकल्पमा नयाँ पदायात्रा मार्ग निर्माण नगरिँदा समस्या आएको अधिकारीले सुनाए ।

स्थानीय र राजनीतिक पार्टीको दबाबमा सडक लैजान नहुने क्षेत्रमा पनि सडक निर्माण गरिँदा विश्व प्रसिद्ध अन्नपूर्ण पदयात्रा क्षेत्र छोटिँदै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लालप्रसाद गुरुङले बताए । राजनीतिक पार्टीको दबाबमा मुस्ताङको मुक्तिनाथभन्दा माथि थोरङ फेदितर्फ र तिलिचोताल जाने सडकसमेत विस्तार गर्ने योजना अघि बढेको उनले सुनाए । एक्यापले कम्तीमा बस्ती नभएका क्षेत्रमा सडक नलैजान अनुरोध गरेर रोक्ने प्रयास गरिरहेको आयोजनाका प्रमुख गुरुङले जानकारी दिए ।

अन्नपूर्ण पदयात्रा क्षेत्रमा सडक विस्तारले पर्यटकको बसाइ घटेको मुस्ताङ मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए । पहिले लामो पदयात्रा गरेर थाकेका पर्यटक केही दिन मुक्तिनाथमा बसेर जाने गर्थे । सडक विस्तारसँगै पर्यटकको बसाइ घटेको उनले सुनाए । मानव बस्ती नभएको ठाउँमा समेत सडक विस्तार गर्दा यो समस्या आएको हो । स्थानीयले मुक्तिनाथभन्दा माथि थोरङ फेदितर्फ बाटो नलैजान अनुरोध गर्दा पनि त्यसतर्फ बाटो लगिएको उनले बताए ।

पर्यटक पोखरामा आउनुको मुख्य उद्देश्य अन्नपूर्ण क्षेत्रको पदयात्रा हो । यही पदयात्रा क्षेत्रका कारण पोखराको पर्यटन उद्योगले फड्को मार्दै गएको व्यवसायी बताउँछन् । २००७ साल जेठ २१ गते फ्रान्सका नागरिक मौरिस हर्जाेगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेपछि अन्नपूर्ण पदयात्रा मार्गले विश्वमै ख्याति कमाएको पर्यटनविद् झलक थापाले सुनाए ।

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको सुरु पनि अन्नपूर्ण प्रथमबाटै भएकाले पोखरा विश्व पर्यटनमाझ परिचित भएको थियो । वैकल्पिक पदयात्रा मार्ग तयार नगरी पछिल्लो समय अन्नपूर्ण पदयात्रा मार्गमै डोजर चलाएर सडक विस्तार भएपछि पदयात्रा धुवाँ र धुलोमय हुँदै गएको छ । यही कारण पछिल्लो समय पर्यटकले अन्नपूर्ण पदयात्रा छाडेर मनास्लु, लाङटाङ रोज्न थालेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष अधिकारीले बताए ।

स्रोत: http://annapurnapost.com/news/76413