आईसीटी विकासमा नेपाल सार्क राष्ट्रको पाँचौं स्थानमा

December 03, 2017

अन्नपुर्ण पोस्ट, १७ मंसिर २०७४

काठमाडौं : इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सार्वजनिक गरेको तथ्यांकअनुसार सार्क राष्ट्रमध्ये नेपाल इन्फरमेसन कम्युनिकेसन टेक्नोलोजी(आईसीटी) विकासमा बीचमा देखिएको छ । आईटीयूले पछिल्लो पटक सन् २०१७ जुनमा सार्वजनिक गरेको ‘मेजरिङ दी इन्फरमेसन सोसाईटी रिपोर्ट’ का अनुसार नेपाल सार्क राष्ट्रमध्ये पाँचौं स्थानमा छ ।

आईटीयूले ‘आईसीटी रेडिनेस (पूर्वाधार, पहुँच), आईसीटी युज (आईसीटीको प्रयोग) र आईसीटी क्यापाविलिटी (आईसीटी प्रयोग गर्न सक्ने क्षमता) लाई आधार मानेर अध्यनन गरी तयार पारेको रिपोर्टका आधारमा नेपाल सार्क राष्ट्रमा पाँचौं स्थानमा परेको हो । सार्क राष्ट्रमध्ये सूचना, सञ्चार र प्रविधिका क्षेत्रमा सबैभन्दा विकास भएको देशमा माल्दिभ्स रहेको छ । माल्दिभ्स ५.२५ अंकका साथ सार्कमा पहिलो स्थानमा छ । त्यस्तै दोस्रो नम्बरमा ३.९१ अंकका साथ श्रीलंका र तेस्रो नम्बरमा ३.६९ अंकका साथ भुटान छ । चौंथो र पाँचौं नम्बरमा क्रमशः ३.०३ अंकका साथ भारत र २.८८ अंकका साथ नेपाल रहेको रिपोर्टले देखाएको छ । रिपोर्टका अनुसार सार्क राष्ट्रमा नेपालभन्दा पछाडि बंगलादेश २.५३ अंक, पाकिस्तान २.४२ अंक र अफगानिस्तान १.९५ अंकका साथ क्रमिक रूपले रहेका छन् ।

आईटीयूले सार्वजनिक गरेको उक्त रिपोर्टका आधारमा आइसल्यान्ड आईसीटीको क्षेत्रमा सबैभन्दा बढी विकसित मुलुकको रूपमा छ । आईटीसी विकास सूचकांकको रोलक्रममा आइसल्यान्ड ८.९८ अंकका साथ पहिलो स्थानमा छ भने कोरिया ८.८५ अंकका साथ दोस्रो नम्बरमा छ । सन् २०१७ डिसेम्बरमा सार्वजनिक भएको तथ्यांकमा दोस्रो नम्बरमा रहेको आइसल्यान्डले कोरियालाई उछिन्दै यो पटक पहिलो बनेको हो । एक सय ७६ देश संलग्न रहेको उक्त रिपोर्टमा तेस्रो नम्बरमा स्विट्जरल्यान्ड ८.७४ र डेनमार्क ८.७१ अंकका साथ चौथो स्थानमा छ ।

त्यसै पाँचौ स्थानमा भने ८.६५ अंकका साथ युके छ । यस रोलक्रममा नेपाल एक सय ४०औं स्थानमा रहेको छ । सार्क राष्ट्रमध्ये माल्दिभ्स ८५औं स्थानमा, श्रीलंका एक सय १७औं स्थानमा, भुटान एक सय २१औं स्थानमा, भारत एक सय ३४औं स्थानमा छन् । नेपाल भन्दा पछाडि रहेका बंगलादेश, पाकिस्तान र अफगानिस्तान क्रमशः एक सय ४७, एक सय ४८ र एक सय ५९औं स्थामा छन् ।

आईसीटी विकास क्रममा एक सय ७६ देशमध्ये एक सय ४०औं स्थानमा रहनु नेपालका लागि सन्तोषजनक नभएको बताउँछन् नेपाल प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल । उनका अनुसार सार्क देशलाई आधार मान्ने हो भने केही सन्तोष गर्ने ठाउँ छ । ‘सन् २०१० को प्रतिवेदनमा नेपाल आईसीटी सुचकांकमा एक सय ५२ देशमध्ये ८१औं नम्बरमा थियो’, उनले भने, ‘अहिले झरेर एक सय ४०औं स्थानमा पुग्नुले देशको विकास क्रम खस्किँदै गएको देखाउछ ।

यो अवधिमा अन्य देशको विकास तीव्र रूपमा भएकाले पनि नेपालको स्तर घट्दै गएको हो ।’ ‘सञ्चारको क्षेत्रमा हाम्रो पहुँच बर्सेनि बढदै् गएको छ’, उनले थपे, ‘मोबाइल, फिक्स टेलिफोन सेवा, डाटा, इन्टरनेटको पहँच बढी रहेको अवस्थामा पनि देशको स्तर घट्नु भनेको विकास क्रम सुस्त हुनु हो ।’ यो तथ्यांकले सन् २०१० को तुलनामा अहिले नेपालको विकास दरमा कमी भएको देखाउछ।

आईटीयूले सार्वजनिक गरेको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने पनि प्रवक्ता अर्यालले उल्लेख गरेका कुरालाई पनि पुष्टी गर्छ । मोबाइल तथा फिक्स टेलिफोन सेवाको पहुँचका आधारमा हेर्ने हो भने नेपाल तेस्रो स्थानमा छ । सन् २०१६ डिसेम्बरमा सार्वजनकि भएको रिपोर्टका आधारमा नेपालमा मोबाइल सिम प्रयोग कुल जनसंख्याको १२१.२३ प्रतिशत र फिक्स टेलिफोन प्रयोगकर्ता ३.२४ प्रतिशत रहेको थियो । एनटीएले सार्वजनिक गरेको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने अहिले नेपालमा मोबाइल सिम प्रयोग कुल जनसंख्याको १३१.६४ प्रतिशत र फिक्स टेलिफोन प्रयोग ३.२४ प्रतिशत छ ।

उक्त समयमा पहिलो नम्बरमा माल्दिभ्समा मोबाइल सिम प्रयोग २२९.८५ प्रतिशत र फिक्स टेलिफोन प्रयोग ५.९८ प्रतिशत छ । दोस्रो नम्बरमा रहेको श्रीलंकाको मोबाइल सिम प्रयोग १२३ प्रतिशत र फिक्स टेलिफोन १२.३ प्रतिशत छ । यो क्रममा अफगानिस्तानको मोबाइलमा ८९ र फिक्समा ०.४, भारतको मोबाइलमा ८८ र फिक्स १.९, भुटानको मोबाइलमा ८७.५, फिक्समा ३.७३, बंगलादेशको मोबाइलमा ८७ र फिक्समा २०.७ र पाकिस्तानको मोबाइलमा ६९.८ र फिक्समा १.४६ प्रतिशत पुगेको छ ।

अर्यालका अनुसार सार्क राष्ट्रको तुलनामा पछिल्लो समय नेपालको वृद्धिदरमा कमी आएको छ । हेर्दा बढेको देखिए पनि अन्य देशको तुलनामा भने वृद्धिदर कम छ । यो क्षेत्रको विकासका लागि नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषका साथै अन्य स्रोतको परिचालन गरी ग्रामीण क्षेत्रमा समेत टेलिफोन, इन्टरनेका साथ अन्य पूर्वाधारको विकास गर्न जरुरी रहेको उनले बताए ।

स्रोत: http://annapurnapost.com/news-details/85138

Newsletter

Submit your details below to receive Newsletters

Newsletter