News

आन्तरिक यात्रु २८ प्रतिशतले बढे

March 31, 2017

Kantipur, 30th  March 2017, Kathmandu

अघिल्लो वर्षको दाँजोमा सन् २०१६ मा आन्तरिक उडानमा यात्रु संख्या २८ प्रतिशतले बढेको छ । सन् २०१५ को दाँजोमा आन्तरिक रुटमा ३ लाख ९३ हजार ५ सय ४८ यात्रु बढेका हुन् । यो संख्या १७ लाख ५७ हजार ५ सय ९६ पुगेको छ । सन् ०१५ मा आन्तरिक उडानमा वायुसेवाहरूले १३ लाख ६४ हजार ४८ यात्रु बोकेका थिए । २०१६ मा आन्तरिक उडानमा नौवटा फिक्स विङ (एयरलाइन्स) तथा ७ वटा हेलिकप्टर कम्पनी थिए । 

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलले उपलब्ध गराएको तथ्यांकअनुसार २०१६ मा सबैभन्दा धेरै यात्रु उडाउनेमा बुद्ध, यती र सौर्य एयरलाइन्स छन् । त्यस वर्ष बुद्धले १० लाख ११ हजार ४ सय ७१, यतीले ४ लाख ८ हजार ६ सय ९३ र सौर्यले ९० हजार २ सय ५ यात्रु उडाएका थिए । सरकार स्वामित्वको नेपाल वायुसेवा यात्रु उडानका आधारमा पाँचौं स्थानमा रहेको छ । यसले त्यस वर्ष ४८ हजार १ सय २० यात्रु मात्रै उडाएको थियो । निगमभन्दा अघि चौथो स्थानमा रहेको सिम्रिक एयरलाइन्सले ४८ हजार ८ सय ८७ यात्रु उडाएको थियो ।

 Source: http://kantipur.ekantipur.com/news/2017-03-30/20170330091225.html