News

कार चढ्ने, कर नतिर्ने ?

July 01, 2018

मनोरन्जन शर्मा, कारोबार दैनिक, १७ असार २०७५

सवारीसाधन सञ्चालन गरेबापत यातायात कार्यालयमामात्र नभइ नगरपालिकामा पनि कर तिर्नुपर्ने कानुनी प्रावधान छ । नगर क्षेत्रभित्र बसोवास गरी सवारीसाधन खरिद गरेपछि नगरवासीहरूले नगरपालिका कार्यालयले तोकेबमोजिम वार्षिक कर तिनुपर्ने व्यवस्था छ । तर, अधिकांश सवारीधनीले त्यस्तो कर नबुझाउने गरेको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ लेखा अधिकृत गणेश क्षेत्री बताउँछन् । 


 

नगरपालिकाले नगरक्षेत्रमा बसोवासर गरी सवारी चलाउने सवारीधनीहरूबाट न्युनतम दरमा कर संकलन गर्ने लक्ष्य प्रत्येक वर्ष निर्धारण गरे पनि ९५ प्रतिशतले कर नतिर्ने गरेको क्षेत्रीले जानकारी दिए । सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६का लागि नगरभित्र बसोवास गर्ने सवारी साधन मालिकका लागी तिर्नुपर्ने करको दर निर्धारण गरेको छ । साबिक बमोजिम नै करको दर रहे पनि नगरपालिकाले यो शीर्षकमा कडाइ गर्ने नीति लिएको छ । कार्यालयका अनुसार ठूला बस ट्रकको वार्षिक कर ३ हजार रुपैयाँ, मिनी बस ट्रकको वार्षिक १ हजार, जीपकार, भ्यानको वार्षिक ३ सय, मोटरसाइकल तथा स्कुटरको वार्षिक १ सय रुपैयाँ निर्धारण छ ।

“नगरपालिकाभित्र बसोवास गर्ने र सवारीसाधन खरीद गरेका सबैले अनिवार्य रूपमा यातायात कर बुझाउनु पर्ने कानुनी व्यवस्था छ,” लेखाअधिकृत क्षेत्रीले भने ।
 

नगरपालिकाले निर्धारण गरेको करको दरअनुसार पनि करोड रुपैयाँभन्दा बढी पर्ने कार चढनेहरूले वार्षिक रूपमा जम्मा ३ सय रुपैयाँ कर नगरपालिकालाई बुझाउनु पर्नेमा त्यति पनि नबुझाउने गरेको धनाढ्य तथा करोडपतिहरू नगरभित्र धेरै रहेका छन् । नगरपालिका कार्यालयले यातायात कार्यालयसँग समन्वय गरी कर संकलन गर्ने योजना पहिलानै ल्याएको भए पनि त्यो योजना अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् । जसकारणले गर्दा नगरपालिकाको वार्षिक लाखौं रुपैयाँ राजस्व गुमिरहेको छ । यस वर्ष भने वडा कार्यालयमार्फत त्यस्ता कर संकलन गर्ने योजना कार्यालयको रहेको छ भने कर राजस्वको बिषयमा कडाइ गर्ने नीति लिएको छ । 

सरकारी कार्यालयका सवारीसाधनले पनि तिर्दैनन्
नगरपालिकालाई तिर्नुपर्ने सवारी साधनकर निकै न्यून भए पनि सरकारी कार्यालयहरूले समेत नतिर्ने गरेको पाईएको छ । रूपन्देही सदरमुकाम भैरहवामा धेरै सरकारी निकाय रहेका छन् । सरकारी  कार्यालयमा मोटरसाइकल, जीप, कार, भ्यानलगायतका सवारी साधन छन् । ति साधनहरूको नगरपालिकामा बुझाउनुपर्ने कर नतिरी चलाइएको र केहीले भने तिर्ने गरेको कार्यालयले जनाएको छ ।

स्रोत: https://karobardaily.com/news/economy/7261