News

कृषिमा प्रयोग गर्ने जमिन बढ्याे

January 19, 2018

अन्नपुर्ण पोस्ट, ०५ माघ २०७४

कृषि क्षेत्रका लागि प्रयोग गरिने जमिन पछिल्लो समय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले यसै साता सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनमा कृषिले ढाकेको क्षेत्रफल विस्तार भएको उल्लेख छ। प्रतिवेदनअनुसार अघिल्ला दुई वर्षको तुलनामा गत आर्थिक वर्ष कृषिमा प्रयोग गरिएको जमिन २.३ प्रतिशतले वृद्धि भएको छ। कृषिमा प्रयोग गरिएको क्षेत्र अघिल्लो वर्षको तुलनामा गत वर्ष ८९ हजार चार सय ९० हेक्टर बढी विस्तार भएको छ।

आव २०७३/७४ मा देशभर गरी ४० लाख १६ हजार पाँच सय ६ हेक्टरमा खेती लगाइएको थियो। प्रतिवेदनअनुसार आव २०७१/७२ मा आव २०७२/७३ को तुलनामा १.१ प्रतिशतले कृषिले ढाकेको क्षेत्रफलमा कमी आएको थियो। आव २०७१/७२ मा ३९ लाख २७ हजार १६ हेक्टरमा खेती गरिएकामा आव २०७२/७३ मा यो क्षेत्रफल विस्तार भई २९ हजार ७० हजार एक सय ४४ हेक्टर पुगेको थियो।

गत आव मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, कोदोसहित आलु, दलहन, तेलहन, आँप, केरा, स्याउ, मसला र कफीखेती गरिएको क्षेत्रफल विस्तार हुँदा कृषिले ढाकेको समग्र क्षेत्रफल वृद्धि भएको हो। गत आव फापर, उखु, भटमास, तरकारी तथा बागवानी र सुन्तलाको क्षेत्रफल घटेको छ। यस अवधिमा सबैभन्दा बढी केरा, स्याउ, आँपको, कफी, मसला, धान, आलु र उखुखेतीको क्षेत्रफल विस्तार भएको छ। कृषि विज्ञले प्रतिकूल मौसम र बन्द हडताल कम हुँदा कृषिको क्षेत्रफल विस्तारमा सहयोग पुगेको विश्लेषण गरेका छन्।

खाद्यान्न र तरकारी

कृषिको क्षेत्रफल विस्तारसँगै खाद्यान्न र अन्य बाली उत्पादन पनि बढेको छ। अघिल्लो आवको तुलनामा १०.८ प्रतिशतले उत्पादनमा वृद्धि भएर गत आवमा एक करोड ५७ लाख ४९ हजार सात सय ६८ टन खाद्यान्न र अन्य बालीको उत्पादन भएको थियो। केही बालीतर्फ क्षेत्रफल वृद्धिसँगै उत्पादनसमेत वृद्धि भएको थियो भने केही बालीतर्फ क्षेत्रफल घट्दा पनि उत्पादन बढेको थियो।

अघिल्ला वर्षको तुलनामा गत आव क्षेत्रफल घटेका फापर, उखु, भटमास, तरकारी, सुन्तलाबालीतर्फ भने उत्पादन बढेको प्रतिवेदनमा छ। यस्तै क्षेत्रफल वृद्धि भएको कोदोतर्फ उत्पादन वृद्धि भएको छ। धानखेतीको क्षेत्रफल विस्तार भई १४ लाख ६९ हजार ६ सय २४ हेक्टरबाट १५ लाख २९ हजार दुई सय ७५ हेक्टर पुगेको छ। यस्तै गहुँतर्फ अघिल्लो वर्षको तुलनामा गत वर्ष २.३ प्रतिशतले क्षेत्रफल विस्तार भएर ६ लाख ५७ हजार नौ सय पाँच हेक्टरबाट ६ लाख ७२ हजार आठ सय ४३ हेक्टर पुगेको छ। मकैतर्फ भने क्षेत्रफल थोरै वृद्धि भएको छ।

आलुतर्फ अघिल्लो वर्षको तुलनामा ३.३ प्रतिशतले क्षेत्रफल विस्तार भएको छ। हाल आलुखेतीको क्षेत्रफल एक लाख ७१ हजार १४ हेक्टरमा पुगेको छ। अघिल्लो वर्षको तुलनामा गत वर्षमा तेलहन र दलहनतर्फ सामान्य रूपमा क्षेत्रफलसँगै उत्पादन पनि वृद्धि भएको छ।

फलफूल र मसला

राष्ट्र बैंकका अनुसार समग्र फलफूल तथा मसलाबालीतर्फ ४.१ प्रतिशतले क्षेत्रफल विस्तार भएको छ। हाल दुई लाख एक हजार २६ हेक्टरबाट दुई लाख नौ हजार दुई सय १८ हेक्टरमा फलफूल र मसलाको खेती गरिन्छ। समग्रमा उत्पादन पनि ५.५ प्रतिशतले वृद्धि भएको छ। १४ लाख दुई हजार दुई सय ५५ टनबाट १४ लाख ७९ हजार आठ सय ६५ टन उत्पादन भएको छ। क्षेत्रफल विस्तार भएका आँप, केरा, मसला र कफीको उत्पादन वृद्धि भएको छ भने क्षेत्रफल विस्तार भएर पनि स्याउको उत्पादन घटेको छ। यस्तै क्षेत्रफल कम भएको सुन्तला र अन्य जातका फलफूलको उत्पादन भने गत वर्ष राम्रो भएको छ।

पशुपन्छी र माछा ०००पछिल्लो समय दूध, मासु, अण्डा र माछाको उत्पादन पनि बढेको छ। तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत आवमा ३.२ प्रतिशतले वृद्धि भएर २३ लाख ७५ हजार आठ सय ९० लिटरबाट २४ लाख ५१ ह्जार चार सय ५५ लिटर दूध उत्पादन भएको छ। यस्तै भैसी, राँगा, खसीबोका, भेडा, सुंगुर, बंगुर, कुखुरा, हाँसको मासुतर्फ पनि वृद्धि भएको छ।

अण्डातर्फ ३.१ प्रतिशतले वृद्धि भएको छ। अघिल्ला वर्ष नौ लाख ६९ हजार सात सय ३७ गोटा अण्डा उत्पादन हुँदै आएकामा त्यसमा वृद्धि भई नौ लाख ९९ हजार चार सय ७४ गोटा पुगेको छ। माछातर्फ ९.८ प्रतिशतले वृद्धि भएर ४६ हजार ६ सय २७ टनबाट ५१ हजार एक सय ९५ टन उत्पादन भएको छ।

स्रोत: http://annapurnapost.com/news-details/88651