News

खतरा सूचीबाट जोगिए विश्व सम्पदा

August 02, 2017

दमोदार न्यौपाने, कान्तिपुर दैनिक, १८ श्रावण २०७४

‘सम्पदा पुनर्निर्माण हुँदै छ। स्थानीय निकायमा जनप्रतिनिधि आए अब राजनीतिक स्थिरता हुन्छ। पुनर्निर्माण सजिलो काम हैन, हतारमा निर्माण गर्‍यो भने सम्पदा मासिन्छ।’ यही तर्कले यो पटक पनि उपत्यकाको सम्पदा युनेस्कोको खतराको सूचीमा पर्नबाट जोगिएको छ।

दुई महिनाअघि आएको ‘रियाक्टिभ मनिटरिङ’ टोलीले यहाँका सम्पदाको अध्ययन गरेपछि खतराको सूचीमा राख्न सुझाव दिएको थियो। टोलीले यस्तो सुझाव दिए पनि युनेस्कोको ४१ औं अधिवेशनले खतराको सूचीमा नराख्ने निर्णय गरेको छ। खतराको सूचीमा तत्काल नपरे पनि पुनर्निर्माण सन्तोषजनक नभएको र पुरातात्त्विक मापदण्ड मिचेर पुनर्निर्माण गरिए सम्पदा सूचीबाट सदाका लागि हट्ने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन्। 

पोल्यान्डको क्राको सहरमा जुलाई २ देखि ११ सम्म भएको महाधिवेशनमा पुनर्निर्माणको काम सन्तोषजनक नभएकाले यसलाई खतराको सूचीमा राख्नुपर्ने प्रतिवेदनको पक्षमा फिलिपिन्स र लेबनानले समर्थन गरेको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। दाहालका अनुसार बहुसंख्यक देशले भने नेपालले गरेको कामको मूल्यांकन गरी मौका दिनुपर्ने धारणा राखेका थिए। ‘हामीले गरेका कामका बारेमा जानकारी दियौं। स्थानीय निकाय बनेकाले राजनीतिक स्थायित्व हुन्छ। अब सम्पदा पुनर्निर्माण तीव्र गतिमा हुन्छ भन्यौं,’ दाहाल भन्छन्, ‘सम्पदा पुनर्निर्माण सजिलो काम होइन। हतारमा निर्माण गर्‍यो भने सम्पदा नासिने खतरा हुन्छ भन्यौं।’ नेपाललाई चिली, क्युवालगायत अफ्रिकी देशले पनि सहयोग गरेको दाहालले जानकारी दिए।

महाधिवेशनमा विश्वका १ सय ९२ देश सहभागी थिए। युनेस्कोमा १ सय ९५ सदस्य राष्ट्र छन्। तीमध्ये २१ देश समितिमा छन्। समितिमा नरहेका देश अवलोकनकर्ताका रूपमा सहभागी हुन्छन्। नेपाल पनि अवलोकनकर्ताका रूपमा सहभागी भएका थिए। नेपालबाट पुरातत्त्व विभागका भेषनारायण दाहाल, संस्कृति सचिव शंकर अधिकारी र पुनर्निर्माण प्राधिकरणका सचिव सर्वजित महतो, फ्रान्सका लागि नेपाली राजदूत अम्बिका लुइँटेल सहभागी थिए। 

भुइँचालो गएयता युनेस्कोको टोलीले खतराको सूचीमा राख्न सिफारिस गरेको यो तेस्रोपल्ट हो। यसअघि २०१५ र २०१६ मा पनि खतराको सूचीमा राख्नुपर्ने प्रतिवेदन दिइएको थियो। ‘हामीले तीनपल्टसम्म खतराको सूचीमा राख्नबाट जोगायौं,’ दाहाल भन्छन्, ‘अब साँच्चिकै काम गर्नुपर्छ। पुनर्निर्माणमा ढिलाइ गर्नु हुँदैन। खतराको सूचीमा राख्ने प्रतिवेदनले हामीलाई झकझकाएको छ।’ भुइँचालोले ७ सय ५३ सम्पदामा क्षति पुर्‍याएको छ। त्यसमध्ये गत वर्ष ४९ र यो वर्ष ५७ गरी १ सय ६ वटा सम्पदा पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुमति दिएको छ। यसका लागि १ अबर ८६ करोड रुपैयाँ खर्च गर्ने अनुमति दिएको दाहालले जानकारी दिए। आउँदो वर्षसम्म ३ सय ६२ वटा सम्पदा पुनर्निर्माण गरिसक्ने दाहालले जानकारी दिए। विभागका अनुसार २५ जिल्लाका सम्पदामा क्षति पुगेको छ। त्यसमध्ये उपत्यकामा मात्रै ४ सय ६० सम्पदामा क्षति पुगेका छन्। काठमाडौंका २ सय ५०, ललितपुरमा १ सय ३०, र भक्तपुरमा ८० सम्पदा क्षतिग्रस्त छन्। यीमध्ये ५७ सम्पदा पुनर्निर्माण भइसकेको दाहालले जानकारी दिए। 

युनेस्कोको टोलीले दुई किसिमले प्रतिवेदन दिएको छ। एउटा बाहिरी स्वरूपमा (मूर्त) भएको क्षति र अर्काे सम्पदाभित्र रहेको सांस्कृतिक मूल्य मान्यताका आधारमा भएका क्षति। पुनर्निर्माण गर्दा बाहिरी स्वरूप मात्रै जस्ताको त्यस्तै भएर हुँदैन। अहिले पुनर्निर्माण बाहिरी स्वरूप जस्ताको तस्तै देखिने तर भित्री मूल्यचाहिँ मास्ने गरी पुनर्निर्माण भएकाले सम्पदा नासिने खतरा भएको पुरातत्त्व विज्ञले चेतावनी दिएका छन्। ‘बाहिरी स्वरूप जस्ताको तस्तै देखिए पनि भित्री मूल्य मास्दिने खतरा भएको युनेस्कोले औंल्याएको छ,’ पुरातत्त्व विज्ञ प्रा.डा. सुदर्शनराज तिवारी भन्छन्, ‘थमौती दियो, कागजमा दियो भन्दैमा खुसी हुने अवस्था छैन।’ आउँदो फेब्रुअरीसम्म देखिने गरी सम्पदा पुनर्निर्माण भइसक्नुपर्नेछ। यही अवस्था रहेमा फेबु्रअरीमा आउने युनेस्कोको टोलीले खतराको सूचीमा राख्न सिफारिस गर्नेछ। ‘सम्पदा पुनर्निर्माण भवनको मात्रै निर्माण होइन,’ तिवारी भन्छन्, ‘यसका मूल्य मान्यतालाई मान्न सक्यो भने मात्रै खास पुनर्निर्माण हुन्छ।’

बनेका सम्पदा पनि सम्पदाको मूल्य मान्यता मिचिएको तिवारी बताउँछन्। ‘वास्तुकलाको सिद्धान्तअनुसार चुइँचुइँ गर्ने तर भुइँचालो आउँदा नढल्ने, ढले पनि मान्छे भागिसक्दा ढल्ने गरी चुकुलले जोडेर बनेका छन् हाम्रा सम्पदा,’ तिवारी भन्छन्, ‘हाम्रो यो वास्तुकलाविपरीत फलामको किला ठोकेर पुनर्निर्माण गरिएका छन्। रातो मत्स्येन्द्रनाथ ड्यामेज म्याटरिएल राखेर बनाइएका छन्। यो विश्व सम्पदामा छैन। त्यही भएर जे गरे पनि हुन्छ भन्ने मान्यताले बनाइयो। बनाइसकेपछि भित्रको छोपियो, बाहिर राम्रो देखाइदिए भइगयो भनेर बनाइएको छ।’

अन्य सम्पदा पनि यही मान्यताले बनाइयो भने खतराको सूचीमा मात्रै नभई विश्व सम्पदा सूचीबाट हट्ने खतरा रहेको तिवारी चेतावनी दिन्छन्। ‘सम्पदा निर्माण गर्दा जान्ने ठेकेदार प्रयोग गरिरहेका छैनौं,’ तिवारी भन्छन्, ‘सम्पदाका ज्वाइन्ट मासेर पुनर्निर्माण गरिरहेका छौं। बलियो बनाउने नाममा काठको चुकुलको ठाउँमा स्टिल जोडिराखेका छौं। भएका फाउन्डेसन मासिरहेका छौं। यसैगरी निर्माण गर्‍यौं भने युनेस्कोले लिस्टबाटै हटाइदिन सक्छ।’

पहिला पनि आगलागी भएकै हो। बाढीपहिरो आएकै हो। भुइँचालोले भत्काएकै हो, तिवारी भन्छन्, ‘तर फेरि बनाउँदा बाउबाजेले जसरी बनाएका थिए, त्यसैगरी बनाइदिए। ४ औं शताब्दीमा बनेको चाँगुनारायण सातौं शताब्दीमा अंशुवर्माले पुनर्निर्माण गरे। पुनर्निर्माण गर्दा सकेसम्म पुरानो होस्, यसको लाइफ बढोस्। पूजा गर्न पाऊन् भन्ने मान्यताले पुनर्निर्माण गरेका थिए। पुर्खाले यस्तै मान्यता राखेर पुनर्निर्माण गर्दै आएकाले अहिले हामीले चाँगु ४ औं शताब्दीको भन्न पाएका छौं।’ विश्व सम्पदा सूचीमा सूचीकृतमध्ये बौद्धनाथको मात्रै पुनर्निर्माण सकिएको छ। विभागका अनुसार वसन्तपुर क्षेत्रमा १२ वटा सम्पदा क्षतिग्रस्त छन्। त्यसमध्ये एउटाको निर्माण सम्पन्न भएको छ। ७ वटाको निर्माण भइरहेको छ। 

पाटन दरबार क्षेत्रमा २७ वटा सम्पदा क्षतिग्रस्त भएका छन्। त्यसमध्ये ३ वटाको पुनर्निर्माण सकिएको छ। ५ वटाको निर्माण सुरु भएको छ। निर्माण सुरु भएको सम्पदाको आउँदो असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ। ९ सम्पदा २०७५ असोजसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ। बाँकी १० वटा सम्पदा प्राथमिकताका आधारमा २०७७ सम्म निर्माण सम्पन्न गर्ने योजना पुरातत्त्वको छ। भक्तपुर दरबार क्षेत्रमा १९ वटा सम्पदा क्षतिग्रस्त छन्। तीमध्ये ३ वटाको निर्माण सम्पन्न भएको विभागले जानकारी दिएको छ। १२ वटाको निर्माण सुरु भएको छ। निर्माण सुरु भएका सम्पदा २०७४ असारसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको विभागले जनाएको छ। 

स्रोत:  http://kantipur.ekantipur.com/news/2017-08-02/20170802072008.html