खर्चिला स्वदेशी पाहुना

December 31, 2018

सन्तोष पोखरेल,नागरिक, १६ पुष २०७५ 

पोखरा - लेकसाइडको अतिथि रिसोर्टमा ४९ कोठा छन्। अहिले तीमध्ये झन्डै ६० प्रतिशत आन्तरिक पाहुनाले भरिएका छन्। बाँकीमा विदेशी छन्। रिसोर्टको वर्षभरको अकुपेन्सी अनुपात ४० प्रतिशत आन्तरिक पाहुनाको हुने गरेको छ। अतिथि मात्र नभई गनिएको अर्काे टेम्पल ट्री रिसोर्टमा पनि आन्तरिक पाहुनाको आगमन राम्रो छ। ६८ कोठाको टेम्पल ट्रीका २५ प्रतिशत कोठा आन्तरिक पाहुनाले भरिएका छन्। सांग्रिला रिसोर्टमा पनि आन्तरिक पाहुनाको हिस्सा करिब ३० प्रतिशत छ। ६१ कोठाको सांग्रिलाका बाँकी कोठा विदेशीले भरिएका छन्। 

गिनेचुनेका मात्र नभई मझौला आकारका सबैजसो होटललाई यतिबेला आन्तरिक पाहुनाले साथ दिएका छन्। आन्तरिक पाहुनाकै कारण होटलले राहत महसुस गरेका छन्। अफ सिजनका कारण विदेशी पाहुना आगमन घटेको बेला सबैजसो होटलले आन्तरिक पाहुना पाउँदा त्यसले व्यावसायीलाई खुसी तुल्याएको छ। 

व्यवसायीका अनुसार एक–दुई रात बस्न आउने आन्तरिक पर्यटक भने जति पैसा खर्चन तयार छन्। त्यसले गर्दा पनि विदेशी सरह आन्तरिक पाहुनाले महत्व पाउन थालेका छन्। ‘आन्तरिक पनि विदेशीसरहका पाहुना भएका छन्। भने जति पैसा तिरेर रिसोर्टमा बस्न आएका छन्,’ अतिथिका सञ्चालक भरतराज शर्मा भन्छन्, ‘एक–दुई रातका लागि बस्ने ती आन्तरिक पाहुना खर्च गर्न डराउँदैनन्।’ 

विदेशी पाहुनाको प्राथमिकतामा पर्ने ठूला होटल पनि यतिबेला आन्तरिकले भरिएका छन्। विदेशीका लागि अफ सिजन भएकोले खालि रहेका ठूला होटलका कोठाले आन्तरिक पाहुना पाएका छन्। ‘मझौला आकारका होटलका सधैंभरका पाहुना आन्तरिक हुन्छन्। तर पछिल्लो समय ठूला होटलले पनि आन्तरिक पाहुनाबाट राम्रो कमाइ गरेका छन्,’ अतिथिका शर्माले भने। 

यतिबेला पोखरामा सडक महोत्सव चलिरहेको छ। आन्तरिक तथा बाह्य पर्यटक तान्न भन्दै रेस्ट्रेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गरेको यो महोत्सवले पोखरालाई यो सिजनमा सधैं तताउँछ। अंग्रेजी नयाँ वर्षको स्वागत र पुरानो वर्षको बिदाइ हुँदा आयोजना हुने महोत्सवले ठूलो संख्यामा आन्तरिक पाहुना पोखरा बोलाउने गरेको छ। त्यसैको परिणाम साना–ठूला दुवै होटलमा पाहुना भरिभराउ हुने गर्छन्। ‘अब नेपाली र विदेशी हाम्रा लागि बराबर मूल्यका पाहुना भएका छन्। हामीलाई पाहुना चाहिएको हो, नेपाली हुन् वा विदेशी केही फरक पर्दैन,’ सांग्रिलाका आवासीय म्यानेजर गुप्त गिरीले भने, ‘किनकि यतिबेला नेपाली पाहुना नभए यहाँका होटल भरिँदैनथे। विदेशीको भरमा मात्र शतप्रतिशत अकुपेन्सी कुनै हालतमा हुँदैनथ्यो।’

उनका अनुसार केही अघिसम्म सांग्रिलामा करिब १५ प्रतिशत जति मात्र आन्तरिक पाहुना थिए। महोत्सवले आन्तरिकको त्यो आगमन झन्डै दोब्बर पुर्‍याउँदा यतिबेला रिसोर्टको ३० प्रतिशत अकुपेन्सी आन्तरिक पाहुना रहेको गिरीले बताए। टेम्पल ट्रीका म्यानेजर कृष्ण आचार्य पनि आन्तरिक पाहुनाकै कारण रिसोर्ट पूर्ण रुपमा भरिभराउ भएको बताउँछन्। ६८ कोठाको टेम्पल ट्री तीन दिनदेखि शतप्रतिशत भरिएको छ। करिब २५ प्रतिशत पाहुना आउँदा रिसोर्ट शतप्रतिशत भरिन पुगेको उनले बताए। ‘आन्तरिक पाहुनाले गर्दा हामीलाई पनि राहत मिलेको छ। एक सातासम्म शतप्रतिशत व्यापार गर्न सकेका छौं,’ आचार्यले भने, ‘वर्षभरीमा यो एक साता शतप्रतिशत व्यापार हुन्छ।’

ठूला होटलले पााहुनाका लागि विशेष इभेन्ट पनि राखेका छन्। त्यसले गर्दा पनि ठूला होटलमा बढी पाहुना तानिएका छन्। ‘रमाउन पाउने भएपछि स्वदेशी पाहुना अहिले ठूला आकारका होटलमा पनि पुगेका छन्,’ होटल बाराहीका महाप्रबन्धक राजकुमार केसीले भने, ‘आन्तरिक पाहुना नै सधैंका लागि महत्वपूर्ण भएका छन्। यतिबेला मात्र नभई अरुबेला पनि आन्तरिक पाहुनाले राम्रो ठाउँ लिएको छ।’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार मझौला आकारका सबैजसो होटल आन्तरिक पाहुनाले भरिएका छन्। त्यसमा केही भारतीय पनि रहेको उनले बताए। ‘बोर्डर सिटीका भारतीय पाहुना यतिबेला पोखरा आएका छन्। नेपालीलाई जस्तै बोर्डर सिटीका पाहुनाको लागि पहुँच सहज छ,’ तुलाचनले भने, ‘भारतीय पाहुना आफ्नै सवारीमा पनि आउन सक्ने भएकोले सहज भएको हो।’ 

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराई आन्तरिक पर्यटक पोहोरभन्दा १५ प्रतिशत बढेको बताउँछन्। केही मात्रामा विदेशी पनि बढेका छन्। भारतीयको आगमनले पनि यतिबेला साथ दिएको उनले बताए। ‘नेपालका ठूला सहरबाट आन्तरिक पाहुना थुप्रै आएका छन्। होटल तथा रेस्टुरेन्टको भीडभाड, गाडीको भीडभाड र बाटोमा आउजाउले पनि आन्तरिक पाहुनाको आगमनमा सुधार देखिएको अनुमान गर्न सकिन्छ,’ भट्टराईले भने, ‘यसले व्यावसायीलाई हौसला मिलेको छ।’ भट्टराई पनि अचेलका आन्तरिक पर्यटकलाई गुणस्तरीय पाहुनामा गणना गर्न मिल्ने बताउँछन्। ‘क्वालिटीमा आन्तरिक पाहुनाले कम्प्रमाइज गर्न छाडेका छन्,’ उनले भने, ‘सुविधा पनि पर्याप्त लिन खोज्छन्, पैसा तिर्न पनि डराउँदैनन्।’

सोर्त:https://nagariknews.nagariknetwork.com/news/65584/

Newsletter

Submit your details below to receive Newsletters

Newsletter