चालु वर्षलाई एक अर्ब ४७ करोड बजेट

August 01, 2019

ध्रुव दङ्गाल, नागरिक, साउन १६, २०७६ 

सिन्धुपाल्चोक - भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितको निजी आवास, सम्पदा पुनर्निर्माण र जग्गा (घडेरी) व्यवस्थापनमा चालु आर्थिक वर्षका लागि एक अर्ब ४७ करोड रुपैयाँ छुट्याइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)मार्फत खर्च हुने गरी बजेटसहितको कार्यक्रम पठाएको हो।

जिमालीले जिल्लामा पीडितलाई निजी आवास अनुदान वितरण, गुम्बा (सम्पदा) पुनर्निर्माण र घडेरी व्यवस्थापन गर्ने कार्यको नेतृत्व गर्दै आएको छ। ‘चालु वर्षका लागि यो नै अन्तिम बजेट होइन,’ आयोजना व्यवस्थापक लक्ष्मणकुमार सेठले नागरिकसँग भने, ‘बजेट खर्च गरिसकेपछि आवश्यकताअनुसार थप निकासा आइरहन्छ।’ उनका अनुसार चालु वर्षलाई छुट्याइएको बजेटमध्ये वैदेशिक सहायताबाट ८८ करोड ५५ लाख रुपैयाँ छ। त्यस्तै नेपाल सरकारको स्रोतबाट ५८ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ। वैदेशिक सहायतातर्फ विभिन्न दातृ मुलुक तथा निकायबाट ५१ करोड ५५ लाख र भारतको एक्जिम बैंकबाट ३७ करोड रुपैयाँ ऋण सहयोग जुटाइएको छ।

विनियोजित बजेटको सबैभन्दा बढी हिस्सा निजी आवास अनुदानमा खर्च हुने आयोजना व्यवस्थापक सेठले बताए। यसका लागि मात्र एक अर्व रुपैयाँभन्दा बढी बजेट छुट्याइएको छ। भूकम्पपछिको चार वर्षमा अहिलेसम्म जिल्लामा ८२ प्रतिशत अर्थात ७१ हजार घरको पुनर्निर्माण सकिएको जिमालीको तथ्यांक छ। जिमालीका अनुसार थप १६ हजार घरको पुनर्निर्माण जारी छ। पुनर्निर्माण भइरहेकामध्ये ११ हजार घर निर्माण अन्तिम चरणमा पुगेका छन्।

पछिल्लो समय लाभग्राही सूचीमा पर्न १८ हजारले गुनासो भरेका छन्। गुनासोकर्ताका क्षतिग्रस्त संरचना पुनः सर्भे र छुट सर्भे सम्पन्न भए पनि लाभग्राहीको अन्तिम सूची भने आइसकेको छैन। प्राधिकरणले अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन दिएको समय गुजार्ने दुई हजार ६ सय कटौतीमा परेपछि हाल जिल्लामा लाभग्राहीको संख्या साढे ८५ हजारमा झरेको छ। गुनासो सम्बोधनबाट लाभग्राही थपिने व्यवस्थापक सेठ बताउँछन्।

पुनर्निर्माणको दोस्रो प्राथमिकतामा परेको गुम्बा (सम्पदा) पुनर्निर्माणमा ४२ करोड ५३ लाख रुपैयाँ बजेट प्राधिकरणले विनियोजन गरेको छ। यो बजेट एक सय ९० गुम्बा पुनर्निर्माण तथा मर्मतसम्भारका लागि छुट्याइएको जिमालीले जनाएको छ। गुम्बा पुनर्निर्माण तथा मर्मतमा न्यूनतम तीन लाखदेखि अधिकतम एक करोड नौ लाख रुपैयाँसम्म विनियोजन गरिएको छ। भूकम्पको चार वर्षपछि क्ष्ाितग्रस्त गुम्बा पुनर्निर्माण गर्न लागिएको हो।

भूकम्पपीडितका लागि घडेरी व्यवस्थापन अन्तर्गत मुअब्जाका लागि १८ लाख रुपैयाँ छुट्याइएको छ। घर बनाउन घँडेरी नहुने पीडितका लागि जग्गा खरिद गर्न थप रकम निकासा हुन सक्ने सेठ बताउँछन्। सामुदायिक विद्यालय भवनको पुनर्निर्माण भने छुट्टै संरचना आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत हुँदै आएको छ। हालसम्म ६२ प्रतिशत शैक्षिक संस्थाको पुनर्निर्माण सकिएको एकाइ (शिक्षा) का इन्जिनियर शेरबहादुर पुजाराले जानकारी दिए।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/84826/

Newsletter

Submit your details below to receive Newsletters

Newsletter