News

चालू आवको १० महीना : घट्यो उद्योग दर्ता कुल पूँजी; रू. २ खर्ब ६९ अर्ब

May 23, 2018

सुनिता सिटौला, आर्थिक अभियान, बुधबार, जेष्ठ ९, २०७५

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को १० महीनामा उद्योग दर्ता सङ्ख्या घटेको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालू आवको १० महीनामा गत आवको सोही अवधिको तुलनामा ४२ को सङ्ख्यामा उद्योग दर्ता घटेको हो । उद्योग विभागका प्रवक्ता दुर्गा भुसाल बजारको माग र लगानीकर्ताको उद्देश्यअनुरूप उद्योग खुल्ने हुनाले उद्योग दर्ता सङ्ख्यामा थपघट हुनु स्वाभाविक रहेको बताउँछन् । गत आव २०७३/७४ को १० महीनामा विभिन्न परियोजनामा गरेर ३ सय ९९ उद्योग दर्ता भएका थिए भने चालू आवको सोही अवधिमा ३ सय ५७ ओटा उद्योग दर्ता भएका छन् ।

समग्रमा उद्योग दर्ता सङ्ख्या घटे तापनि ऊर्जामूलक र सूचनाप्रविधिको क्षेत्रमा भने उद्योग दर्ता सङ्ख्या बढ्दो छ । गत आवमा ती उद्योग क्रमशः १६ र ७ ओटा थिए भने चालू आवमा सो सङ्ख्यामा वृद्धि भएर क्रमशः ३२ र १७ पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागार्इं ऊर्जाको माग बढेको र निजीक्षेत्रबाट पनि जलविद्युत्मा लगानी गर्नुपर्छ भन्ने जनचेतनाले गर्दा ऊर्जामूलक उद्योग बढेको बताउँछन् ।

विभागको तथ्याङ्कअनुसार चालू आवमा कृषि तथा वनजन्यमा १५, निर्माणमा ४, उत्पादनमूलक १ सय ४, खनिजमा ३, सेवामूलक ८०, पर्यटन १ सय २ ओटा उद्योग दर्ता भएका छन् । ती उद्योगको कुल पूँजी २ खर्ब ६९ अर्ब ५५ करोड ३२ लाख रहेको छ । यी उद्योग सञ्चालन भएबाट २१ हजार ५ सय २२ जनाले रोजगारी पाउनेछन् ।

स्रोत: http://www.abhiyan.com.np/2018/05/21/205839