प्रकाश धौलाकोटी, नयाँ पत्रिका, फागुन १०, २०७४
छथर गाउँपालिकाले वडा नम्बर ६ स्थित च्याङ्लुङ गुफामा वर्षौंदेखि निस्किरहेको प्राकृतिक ग्यासका विषयमा अनुसन्धान थाल्ने भएको छ । यस गुफामा वर्षौंदेखि निरन्तर एक प्रकारको अनौठो ग्यास निस्किरहेको छ ।
गुफाको सिरानमा रहेको ढुंगाको ठूलो कापबाट तातो ग्यास निरन्तर निस्किरहेको छ । उक्त ग्यासबारे अनुसन्धान गर्न गाउँपालिकासँग स्थानीयवासीले अनुरोध गरेका थिए ।
गाउँपालिकाले च्याङलुङ गुफामा निस्किएको ग्यासको पहिचान, अनुसन्धान तथा पर्यटन प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको छ ।
फराकिलो क्षेत्रफलमा फैलिएको ग्यास निस्किरहेको गुफा क्षेत्रको अध्ययन तथा अनुसन्धान गरी पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले विज्ञहरू ल्याएर काम गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।
‘कस्तो प्रकारको ग्यास हो, अध्ययन गरेर पत्ता लगाउने काममा गाउँपालिकाको ध्यान केन्द्रित भएको छ,’ अध्यक्ष लिम्बूले भने ।
स्थानीय युवाहरूले समेत सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने भन्दै गुफाको सरसफाइ र संरक्षणमा जुटेका छन् । ढुंगैढुंगाको चाङबाट बनेको गुफाका विभिन्न स्थानमा निरन्तर रूपमा तातो ग्यास निस्किरहेको च्याङलुङ गुफा संरक्षण समितिका अध्यक्ष महेन्द्र मादेनले बताए ।
गुफा रहेको ठूलो क्षेत्रफलको तीन स्थानका ढुंगाको कापबाट तातो ग्यास निस्किरहेको छ । लुतो, घाउ–खटिरालगायत छालाका बिरामी यो ग्यासले सेकताप गर्दा निको हुने भन्दै गुफामा आउने गरेका छन् ।
ग्यास निस्किरहेको ठाउँलाई वरिपरिबाट घेराबारा गरेर संरक्षण गर्ने तयारी थालिएको गुफा संरक्षण समिति सदस्य श्यामबहादुर लिम्बूले बताए ।
कुन र कस्तो प्रकारको ग्यास हो भनेर आफूहरूले छुट्याउन नसकेको उनले बताए । ग्यास निस्किएको वरिपरि पसिना आएर रूखका पातपतिंगर र माटोसमेत भिजेको प्रस्ट देखिन्छ ।
पर्यटकीय महत्वको क्षेत्र
तेह्रथुमको सुदाप– ९ देखि सुदाप– ३, डाँडेगाँडासम्म ५ किलोमिटरमा फैलिएको ‘च्याङलुङ’ नामको ऐतिहासिक गुफा धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र हो । प्रशस्तै पर्यटकीय सम्भावना भए पनि अहिलेसम्म प्रचार–प्रचारको अभावमा यो गुफा ओझेलमा परेको छ ।
पछिल्लो समय त्यसतर्फ राज्यले बेवास्ता गरेको भन्दै स्थानीयले संरक्षण र पर्यटन विकासतर्फ ध्यान दिन माग गरेका छन् । गुफाको संरक्षण र संवद्र्धनका लागि आफूहरू जुटेर लागिरहेको र राज्यले पनि यसतर्फ ध्यान दिनु जरुरी रहेको स्थानीय महेन्द्र मादेनले बताए ।
पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने भन्दै स्थानीयले त्यसको नक्सांकन र सीमांकन गरी अध्ययन–अवलोकन गरेर विकास गराउन माग गरेका छन् ।
ढुंगैढुंगाको चाङ अर्थात् लिम्बू भाषामा ‘चाङलुङ’ भनेर चिनिने यो गुफाको नाम अपभ्रंश भई ‘च्याङलुङ’ रहन गएको स्थानीय कमानसिंह आंखेवाले जानकारी दिए । डाँडेगौँडाको ओडारको मुखलाई कुकुर छिर्ने गौँडा पनि भन्ने गरिएको छ ।
किंवदन्तीअनुसार यो गुफाबाट परापूर्वकालमा एकजना बिज्वानी र कुकुरसँगै छिर्दा बिज्वानी बीचैमा हराए पनि कुकुर भने सुदापकै डाँडेगौँडा भन्ने स्थानबाट निस्किएकाले सो क्षेत्रलाई कुकुर छिर्ने भन्ने गरिएको हो । सदरमुकामदेखि करिब चार घनटा पैदल दूरीमा यो गुफा रहेको छ ।
स्रोत: www.enayapatrika.com/2018/02/22/26273/