News

तिलिचो सडक र घरपझोङ रिङरोडको ३ करोड ७८ लाख फ्रिज

July 06, 2020

सुन्दरकुमार थकाली, अन्नपूर्ण पोष्ट, असार २२, २०७७ 

जोमसोम : विश्वकै अग्लो उचाइमा अवस्थित तिलिचो ताल जोड्ने बेसक्याम्प सडक र घरपझोङ गाउँपालिका रिङरोड सडकको चालु वर्ष विनियोजित ३ करोड ७८ लाख बजेट फ्रिज भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड-१९)ले निम्त्याएको बन्दाबन्दी तथा उक्त सडकको वातावरणीय प्रभाव मूल्याङकन ( ईआईए ) तथा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन (आई ईई ) नहुँदा बजेट फ्रिज हुन पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख ओमराज ढुङ्गानाले बताए ।

गण्डकी प्रदेशको बहुवर्षीय गौरवको आयोजनाअन्तर्गत घरपझोङ -५ ठिनी ,नमखुलेक हुँदै तिलिचो बेसक्याम्प जोड्ने सडकको ६५ लाख र जोमसोम,ठिनी,ढुम्बाताल,मार्फा ,छैरो र चिमाङ लगायतका गाउँ जोड्ने रिङरोडको ३ करोड १४ लाख बजेट फ्रिज भएको कार्यालय प्रमुख ढुङ्गानाले जानकारी दिए ।

चालु आर्थिक वर्ष ०७६/०७७ का लागि बिनियोजित तिलिचो बेस क्याम्प सडकको पुरै ६५ लाख बजेट फ्रिज भएको हो भने  घरपझोङ रिङरोडको बिनियोजित ५ करोड बजेटमध्ये ३ करोड १४ लाख फ्रिज भएको हो । रिङरोडको चालु वर्ष १ करोड ८६ लाखको मात्र काम भएको कार्यालय प्रमुख ढुङ्गानाले बताए । 

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) जोमसोमको संरक्षित क्षेत्रमा पर्ने दुबै सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन (आईईई )र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) मापदण्ड पुरा नभएकाले पनि सडक निर्माणमा समस्या देखिएको हो ।

 पूर्वाधार विकास कार्यालय म्याग्दीले दुबै सडकको नेपाल सरकार वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागमा ईआईए मापदण्ड पूरा गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । कार्यालयले आईईई र ईआईए सडक बिस्तारको कामलाई संगै अघि बढाउने जनाएको थियो ।यस्तै , सरकारले कोभिड-१९ को सक्रमणकालिन अवस्थामा पनि पूर्वाधार विकासको कामलाई अघि बढाउने जनाएको र स्थानीय प्रशासनले पनि कोभिड-१९ रोकथामका लागि विभिन्न शर्त पालना गरी विकासको काम गर्न निर्माण व्यवसायीलाई आह्वान गरेको थियो । 

तर ,स्थानीय प्रशासन ,पालिका ,वडा र निर्माण व्यवसायीबीच विकासको काम अघि बढाउन छलफल भएपनि बन्दीबन्दीको अवस्थामा स्थानीयबासीले विकासको काम अघि बढाउन नदिने जनाएपछि सडक बिस्तारको काम रोकिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । कार्यालय प्रमुख ढुङ्गानाले गण्डकी प्रदेशको संसदबाट वातावरण संम्वन्धि विधेयक पारित भएकाले ईआईएकै कारण सडकको काम अघि बढाउन समस्या नपर्ने र प्रदेशबाटै ईआईए स्वीकृत गर्ने स्पष्ट पारे । उनले कोरोना कहर साम्य भएपछि दुबै सडक बिस्तारको कामलाई प्राथमिकता दिईने उल्लेख गरे ।

विश्वकै अग्लो उचाईको तिलिचो सडक विस्तारमा विवाद उत्पन्न भएको थियो । मनाङको ङिस्याङ गाउपालिकाले मुस्ताङतर्फको संरक्षित क्षेत्रमा अन्धाधुन्द  सडक विस्तार गरेको र त्यसले वातावरणलाई दुरगामी प्रभाव पार्नसक्ने भन्दै सडक बिस्तारको काम रोक्न एक्याप जोमसोममा उजुरी दर्ता गराएको थियो । मनाङले उक्त स्थानमा सडक बाटो नभई पदमार्गकै रुपमा रहनुपर्ने अडान लिएको छ । 

यसअघि साविक जिल्ला विकास कार्यालयले उक्त बाटो खन्न पहल गरेको थियो । त्यससमय  ठिनी देखि माथि करिव २ किमी सडक बिस्तार भएको थियो । मुस्ताङको ठिनी हुँदै तिलिचो बेश क्याम्प जोड्ने सडक तिलिचो पदमार्ग सडक हो । घरपझोङ रिङरोड सडक राउण्ड अन्नपूर्ण चर्किय पदमार्गअन्र्तगत पर्ने एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहाले जानकारी दिए ।

घरपझोङ रिङरोडका लागि २१ करोड ४३ लाख १३ हजार लागत अनुमान गरिएको छ । थाक ५ गाउ जोड्ने उक्त रिङरोड सडकको काम बन्दना भगवती ,जलजला जेभीले जिम्मा लिएको थियो । रिङरोडको जोमसोम देखि ढुम्बाताल सडकको स्तरोन्नति ,सडक चौडा तथा ढुम्बासम्म ५ किमी कालापत्रे गर्ने योजना छ । आर्थिक वर्ष ०७८ साल असार मशान्तसम्म सम्पन्न गर्ने लक्ष भएपनि रिङरोडको २० प्रतिशत सम्पन्न भएको छ ।

स्रोत: http://annapurnapost.com/news/160576