News

तीन महिनामै साढे तीन खर्बको व्यापार घाटा

October 26, 2018

कृष्ण रिजाल, नयाँ पत्रिका, कार्तिक ९,२०७५ 

नेपालले दैनिक सरदर साढे ४ अर्बको व्यापार गर्छ, पौने ४ अर्ब घाटा बेहोर्छ

नेपालको वैदेशिक व्यापार घाटा झन्झन् चुलिँदै गएको छ । बढ्दो उपभोग प्रवृत्ति तथा आर्थिक गतिविधिका कारण वस्तु आयात उच्चदरमा बढेपछि व्यापार घाटा अझ चुलिएको हो । नेपालले चालू आर्थिक वर्षको पहिलो तीन महिनामै साढे तीन खर्बको व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागका अनुसार असोज मसान्तसम्ममा नेपालमा कुल ३ खर्ब ७३ अर्ब ५८ करोड मूल्यका वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.५७ प्रतिशतले बढी हो । तर, निर्यात भने १६ प्रतिशतले मात्रै बढेर ३४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यसरी निर्यातको तुलनामा आयात उच्च दरमा बढेपछि नेपालले तीन महिनामा ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँबराबरको व्यापार घाटा बेहोरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.९२ प्रतिशतले बढी हो ।

व्यापार ४१ प्रतिशतले बढ्यो
आर्थिक गतिविधि बढेसँगै नेपालको वैदेशिक व्यापार पनि उच्चदरमा बढेको छ । विभागका अनुसार चालू आवको तीन महिनामा कुल वैदेशिक व्यापार ३ खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४१.५७ प्रतिशतले बढी हो । कुल व्यापारमा आयातको हिस्सा १.४१ प्रतिशतले बढेर ९४ प्रतिशत पुगेको छ । त्यस्तै, कुल व्यापारमा निर्यातको हिस्सा भने १७.९५ प्रतिशतले घटेर ६ प्रतिशतमा झरेको छ ।

अन्न, तरकारी र फलफूललाई ४० अर्ब बाहिरियो
कृषि प्रधान देश नेपालमा अन्न, फलफूल तथा तरकारीको आयात भने उच्चदरमा बढीरहेको छ । समिक्षा अवधिमा नेपालले यस्ता उपभोग्य वस्तुको आयातमा ४० अर्ब रुपैयाँ खर्चिएको छ । तीन महिनामा नेपालले १२ अर्बको अन्न, ६ अर्ब ९१ करोडको तरकारी, २ अर्ब ३१ करोडको चिया तथा कफि, ४ अर्ब ८९ करोडको फलफूल, ७ अर्ब ७७ करोडको तेल र घ्यू, ३ अर्बको गेडागुडि, १ अर्ब ८२ करोडको पिठो तथा मैदा, १ अर्ब १० करोडको चिनी तथा चिनीजन्य वस्तुको आयात भएको छ । त्यस्तै, अर्बौ मूल्य बराबरका कृषिमा आधारित अन्य उपभोग्य औद्योगिक उत्पादन समेत आयात भएको भन्सार विभागको तथ्यांक छ ।

१ सय ९ मुलुकसँग व्यापार घाटा
समीक्षा अवधिमा नेपालले कुल १ सय ३७ वटा मुलुकसँग व्यापार गरेको छ । त्यसमध्ये १ सय ९ वटा मुलुकसँगको व्यापारमा नेपालले नोक्सान बेहोरेको छ । जम्मा २८ वटा मुलुकसँगको व्यापारमा मात्रै नेपालले नाफा आर्जन गरेको भन्सार विभागको तथ्यांक छ । नेपालले भारत, चीन, फ्रान्स, र अमेरिकासँग मात्रै होइन, साइप्रस, ट्युनिसिया, होन्डुरस, कंगो, इक्विडर, भुटानलगायत मुलुकसँग पनि व्यापार घाटा बेहोरेको छ । नेपालले सबैभन्दा बढी भारतसँगको व्यापारमा २ खर्ब २२ अर्बको व्यापार घाटा बेहोरेको छ भने सबैभन्दा कम क्रोएसियासँग १ लाख १ हजार रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

स्रोत: http://www.nayapatrikadaily.com/2018/10/26/107947/