Karobar Daily, 12th May 2017, Kathmandu
इन्डियन आयल कर्पारेसन (आइओसी)ले नेपालमा तीन महिनालाई पुग्ने खाना पकाउने एलपी ग्यास भन्डारणस्थल निर्माण गरिदिने भएको छ । नेपाल भम्रणमा आएको आइओसी प्रतिनिधि मण्डलले ग्यास भन्डारणस्थल निर्माण गरिदिने सहमति गरेको हो ।
नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलले निगमसँगको सहकार्यमा पेट्रोल पम्पसँगै ९० दिनलाई पुग्ने ग्यास भन्डारणस्थल निर्माण गर्न आइओसीले सहमति जनाएको जानकारी दिए । ग्यास भण्डारणस्थल निर्माण गर्ने ठाउँ र लागतबारे निगमले मोडालिटी तयार पार्ने उनले बताए ।
आइओसीको बजार विभागका प्रबन्धक एसएस बोसको नेतृत्वमा आएको टोलीले ग्यास प्लान्ट र पम्पको स्थलगत अनुगमन गरेको थियो । निगमसँग ७२ हजार किलोलिटर पेट्रोलियम पदार्थको भन्डारणस्थल भए पनि ग्यासको छैन । निगमसँग भन्डारण क्षमता नहुँदा आपूर्तिमा समस्या हुनासाथ बजारमा ग्यासको अभाव हुने गरेको छ ।
नेपालका निजी व्यवसायीसँग ग्यास बुलेटमा ६ हजार टन भन्डारण गर्ने क्षमता छ । जुनसुकै बेला पनि बजारमा आपूर्ति व्यवस्था सहज पार्न निगमले भन्डारणस्थल निर्माण गर्न लागेको हो ।
निगमले धादिङमा १५ हजार टन क्षमताको भन्डारण स्थल निर्माण गर्ने तयारी गरिहेको छ । निगमका अनुसार नेपालमा मासिक २५ देखि ३० हजार टन ग्यासको खपत हुने गरेको छ ।
यसैबीच आइओसीले मुलुकका विभिन्न स्थानमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरिदिने सहमति जनाएको छ । निगमको बढी सेयर हिस्सा रहने गरी आइओसीले आधुनिक पम्प सञ्चालन गर्ने सहमति गरेको हो ।
आयल निगमको पेट्रोल पम्प सञ्चालनसम्बन्धी बिक्रेता विनियमावलीमा विदेशी लगानीमा पम्प सञ्चालन गर्ने विषयमा केही उल्लेख नभए पनि पम्प स्थापना गर्न आइओसी तयार भएको छ ।
नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलले निगमसँगको सहकार्यमा पेट्रोल पम्पसँगै ९० दिनलाई पुग्ने ग्यास भन्डारणस्थल निर्माण गर्न आइओसीले सहमति जनाएको जानकारी दिए । ग्यास भण्डारणस्थल निर्माण गर्ने ठाउँ र लागतबारे निगमले मोडालिटी तयार पार्ने उनले बताए ।
अहिले मुलुकभर करिब २ हजार १ सय पेट्रोल पम्प सञ्चालनमा छन् । इन्धन आयातमा एकाधिकार जमाएको आइओसीले नेपालमा पेट्रोल पम्म स्थापना गर्दा आन्तरिक हस्तक्षेप हुने भन्दै व्यवसायीले भने विरोध गरेका छन् ।
निगमले देशभित्रकै निजी व्यवसायीको लगानीमा आधुनिक पम्प खोल्ने प्रक्रिया अघि बढाइरहेका बेला आइओसीको लगानीमा अलग्गै पम्प सञ्चालन गर्न लागिएको भन्दै पेट्रोलियम व्यवसायीले विरोध जनाएका हुन् ।
डेढ महिनाअघि भएको इन्धन सम्झौता नवीकरण गरेकै बेला नेपालमा आधुनिक पम्प खोल्न निगम र आइओसीले लगानी गर्ने सहमति भएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । पेट्रोल पम्प खोल्न आइओसीले सैद्धान्तिक सहमति जनाए पनि कति लगानी गर्ने र कुन ठाउँमा पम्प स्थापना गर्ने बारेमा भने अझै टुंगो लागेको छैन ।