News

दूधाैलीकाे माटोमा अम्लीयपन बढ्यो

March 11, 2019

अनिल भण्डारी, नागरिक, फाल्गुन २६, २०७५ 

सिन्धुली - प्रदेश ३ स्थित सिन्धुलीको दूधौली नगरपालिकामा सरकारले सुरु गर्न लागेको व्यावसायिक चक्लाबन्दी खेती गर्ने भनिएको जग्गाको माटोमा अम्लीयपन भएको पाइएको छ। किसानले रासायनिक मलको अत्याधिक प्रयोग गरेको उक्त खेतबारीको माटो परीक्षण गर्दा माटोमा अम्लीयपनको मात्र बढी देखिएको हो।

खेतीयोग्य जग्गामा किसानले गोबर मलको प्रयोग गर्नुको साटो रासायनिक मल बढी प्रयोग गर्दै आएका कारण माटोमा ह्रास आई अम्लीयपन बढ्न गएको हो। प्रदेश ३ कै नमूना चक्लाबन्दी खेती गर्ने योजना बनाएको दूधौली नगरपालिकाको वडा नं. ९ र १० अन्तर्गत पर्ने कृषियोग्य जमिनमा कृषि बालीलाई हानी पु¥याउने पदार्थको मात्रा बढ्दै गएपछि यस भेगका कृषक चिन्तित हुन थालेका छन्। नेपाल सरकारको आधुनिक कृषि परियोजना अन्तर्गतको कृषि चक्लाबन्दी योजनाका लागि दूधौलीको वडा नं २, ९ र १० का किसानको खेत छनौट भएको थियो। सो क्षेत्रका किसानको झन्डै डेढ सय बिघा क्षेत्रफलको पारम्भिक माटो परीक्षण गर्दा अम्लीयपन भेटिएको हो।

तीन वडाको खेतीयोग्य भनिएको भिन्नभिन्न  स्थानका कृषकबाट माटो संकलन गरिएको थियो। संकलित कृषकको खेतमा अत्याधिक मात्रामा (८५ प्रतिशत) पोटास र फस्फोरस कमि भएको क्षेत्रीय माटो परीक्षण प्रयोगशाला हेटौंडाको रिर्पोर्टले देखाएको हो। किसानले गोबर मलको प्रयोग गर्न छाडेपछि माटो दुषित हुँदै गएको रिपोर्टले देखाएको छ। क्षेत्रीय माटो परीक्षण प्रयोगशाला हेटौंडाका माटोविज्ञ गणेश शाहका अनुसार प्रारम्भिक परीक्षणमा माटोमा अम्लीयपन भेटिएको हो। ‘किसानले रासायनिक मलको प्रयोग अत्याधिक गरेका कारण माटोमा ह्रास आएको देखियो,’ उनले नागरिकसँग भने, ‘माटोमा अम्लीयपनको मात्रा धेरै छ, यसले उत्पादनमा समेत असर गर्छ।’  

प्रयोगशालाको रिपोर्टका अनुसार बोटबिरुवालाई अत्यावश्यक पर्ने र खेतबारी चाहिने  प्रांगारिक मलको कमी भएको देखाएको छ। यसरी खेतीयोग्य जमिनमा अम्लीय पदार्थको मात्रा बढ्दै जाँदा खेतीयोग्य जमिन काम नलाग्ने मरुभूमिमा परिणत हुन सक्ने कृषि प्राविधिकसमेत रहेका शाहले जनाए। कृषकहरुले गोबर मलको प्रयोग गर्नुपर्नेमा रासायनिक मलको प्रयोग अत्याधिक मात्रामा  प्रयोग गरी बाली लगाएका कारण माटोमा यस्तो अवस्था आएको उनको बुझाइ छ। ‘फरक फरक बालीअनुसार बिरुवालाई आवश्यक पदार्थ प्राप्त हुने हुँदा चक्रीय बाली प्रणाली अति आवश्यक देखिन्छ,’ उनले भने, ‘गोबर मलको प्रयोग बढाउनु आवश्यक छ।’ युवा विदेशिने र खेतबारीमा काम गर्ने तथा पशुपालनमा लाग्ने किसानको अभाव हुँदा किसानले प्रांगारिक मल प्रयोग गर्न छाडेका छन्। माटोविज्ञ शाहका अनुसार अम्लीयपन बढ्नुको मुख्य कारण रासायनिक मलको बढ्दो प्रयोग र कृषकको अल्छिपना रहेको देखिन्छ। ‘गाईवस्तु पाल्ने र खेतीपातीमा गोबरको मल हाल्ने चलन हराइसक्यो,’ शाहले भने, ‘बालि गतिलो भएन भन्दै बजारबाट माटो परीक्षण नै नगरी रासायनिक मल खरिद गरी प्रयोग गर्दा माटो बिग्रिएको हो।’

अम्लीयपन बढेको स्थानमा कृषि चुनको प्रयोग गर्नुपर्ने विज्ञहरुको सुझाव छ। कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालका अनुसार कृषक आत्तिनुपर्ने गरी अम्लीयपन नबढेको र बेलैमा सुधार गर्न सकिने बताउँछन्। ‘माटोमा कृषि चुन अभाव भयो भने अम्लीयपन बढ्छ,’ उनले भने, ‘गोबर मलको प्रयोग र कृषि ज्ञान केन्द्र वा कृषिसँग सम्बन्धित कार्यालयको सिफारिसका आधारमा कृषि चुनको प्रयोग गर्न सकिन्छ।’ खेतबारीमा अत्याधिक प्रयोग गरिने युरिया मलका कारण यस्तो अम्लीयपन बढ्दै गएको हो।  

विज्ञका अनुसार जमिनमा अम्लीयपनको मात्रा ५.५ देखि ६.५ पिएच हुँदासम्म किसानले धानखेती गर्न सक्छन् भने ४.५ देखि ५.६ सम्म हुँदा चियाखेती गर्न सकिन्छ। तर ५.६ देखि तल झरेपछि क्रमशः उत्पादन घट्दै जाने र माटो सुधार्नु पर्ने उनीहरुको भनाइ छ। दूधौली नगरपालिकाका विभिन्न वडामा गरिएको उक्त प्रारम्भिक माटो परीक्षणमा मात्रै न्यूनतम पाँच केजी प्रतिकट्ठादेखि ८० केजी प्रति कट्ठासम्म कृषि चुनको प्रयोग गर्नुपर्ने प्रतिवेदनले देखाएको छ।

सोर्त: https://nagariknews.nagariknetwork.com/news/71020/