हिमाल लम्साल, नागरिक दैनिक, ४ भदौ २०७५
काठमाडौं - ० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए। मोदी आउनुअघि वैशाख २५ गते चाबहिलचोकदेखि ह्यात होटलसम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो । ह्यात होटल गेटबाट टुसालतिरको भने सडक यथावत् छोडियो। मोदी ह्यात होटलमा बस्ने भएपछि उक्त सडकको धुलो छोप्ने काम गरिएको थियो।
० तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदा पनि उपत्यकाका सडक रातारात चिल्ला बनाइएका थिए। ट्यांकरको पानी खन्याएर सडक सफा गरिएको थियो।
० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०७१ साउन १८ गते नेपालको राजकीय भ्रमणमा आउँदा काठमाडौं उपत्यका सिँगारेर दुलहीजस्तै बनाइएको थियो। त्यसको तीन महिनापछि काठमाडौंमा सार्क शिखर सम्मेलन भयो। सम्मेलनमा सहभागी हुन सार्क सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आएका थिए। उक्त अवधिमा पनि काठमाडौं उपत्यकाका सडकमा अर्बौं रुपैयाँ खर्च गरियो।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलन आयोजनास्थल सोल्टी होटलसम्मको सडक मर्मत गर्ने कार्य भइरहेको छ। दुईचार दिनयता त्रिभुवन विमानस्थल, तीनकुने, बानेश्वर–माइतीघरलगायतका स्थानमा पानी दर्किरहे पनि कालोपत्रे गर्ने कार्य रोकिएको छैन। सडकका खाल्डाखुल्डी पुर्ने तथा रेलिङ र पर्खालमा रङ लगाउने काम तीव्र गतिमा भइरहेको छ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ। सम्मेलनमा सहभागी हुन भारत, भुटान, श्रीलंका, बंगलादेश, थाइल्यान्ड र म्यानमारका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आउँदैछन् । त्यसैले सरकार राजधानीका सडक चिल्लो पार्न व्यस्त छ।
‘विदेशी सरकारप्रमुख वा राष्ट्रप्रमुख आउँदा मात्रै सडकलगायतका संरचना सफा र चिटिक्क पार्ने प्रवृत्ति देखिएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले भने, ‘अरू बेला वास्तै नगर्ने तर विदेशी पाहुना आउँदा रातारात काम गर्ने सरकारी प्रवृत्तिले जनतामा चरम आक्रोश बढेको छ।’
काठमाडौंमा विदेशी अतिविशिष्ट पाहुना आउँदा होस् या अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदा सडक तथा चोक रातारात सफा गरेर चिटिक्क बनाइन्छ। सडक वरपरको वातावरणसमेत आकर्षक र हराभरा बनाइन्छ। यसरी चिटिक्क बनाइएका संरचना भने विदेशी पाहुना फर्किएसँगै पुरानै अवस्थामा पुग्छन्। कालोपत्रे गरिएको सडक खाल्डाखुल्टी र धुलोमा परिणत हुन्छ।
आसन्न बिमस्टेक सम्मेलनको पूर्वसन्ध्यामा चिटिक्क पारिएको काठमाडौंका सडक पनि सम्मेलन समापनसँगै बिग्रने निश्चित छ। उपत्यकाका सडकका खाल्डाखुल्डी बर्खे झरीको प्रवाह नगरी मर्मतसम्भार भइरहेका छन् । त्यसैले यी सडक धेरै दिन टिक्न सक्दैनन्।
वर्षाैंदेखि चाबहिल–जोरपाटी–साँखु सडक र कंलकी–नागढुंगा सडक जीर्ण छन्। ‘चाबहिल जोरपाटीको अस्तव्यस्त सडक सरकारले वर्षाैंसम्म देखेको नदेख्यै ग-यो,’ बौद्धका पासाङ शेर्पाले भने, ‘विदेशी पाहुना आउन लागेपछि त रातारात मर्मत गर्न सकिने रैछ नि’, नेपाली नेतालाई जनता त भोट खसाल्न मात्रै चाहिने रैछ अरू बेला त वास्तै छैन।’
कोटेश्वरका रमेश योञ्जन विदेशी पाहुना आउँदा रातारात सडक कालोपत्रे गर्न सक्ने सरकार अरू बेला भने निदाएर बस्ने गरेको बताउँछन्। ‘विदेशी पाहुना आउँदा रातारात काम गर्नेले अरू बेला किन गर्दैन,’ उनले भने, ‘के काठमाडौं सरसफाइ हुन पनि विदेशी पहुना नै कुर्नुपर्ने अवस्थामा पुगेका हौं त हामी?’ यस्तै हो भने बाह्रैमास विदेशी पहुना बोलाएर काठमाडौंको सडक व्यवस्थित गराउन सरकार अघि बढ्नुप-यो।’
योञ्जनको बुझाइमा सरकारले स्वदेशी जनताले जति दुःख पाए पनि वास्तै नगर्ने प्रवृत्तिका कारण समस्या आएको हो। त्यसैले जनता सडकमा ओर्लेर विरोध गर्नुपर्ने बेला भइसकेको ठम्याइ उनको छ।
काठमाडौं क्षेत्र नं ४ का सांसद गगन थापाले गत साउन २८ गते संसद् बैठकमा बिमस्टेक सम्मेलनमा आउने विदेशी पाहुनालाई छुट्टाछुटै होटलमा राख्न सरकारसँग माग गरेका थिए। ‘बिमस्टेक सम्मेलनमा आउने विदेशी पहुनालाई फरकफरक होटलमा राख्दा काठमाडौंका खाल्डाखुल्डी पुरिनेछन्। त्यसैले एउटै होटलमा नराख्न सरकारसँग अनुरोध गर्छु,’ उनले भनेका थिए, ‘पाहुनाले सडकमा भएको खाल्डो, हिलो देखे भने इज्जत जाने मान्यतालाई आत्मसात् गर्दै हाम्रो सरकारले रातारात खाल्डो पुर्नेछ र बेथिती हटाउनेछ भन्नेमा म पूर्णत विश्वस्त छु।’
पूर्वसचिव सिटौलाका अनुसार सरकारले दीर्घकालीन योजना नबनाईकन सडक मर्मतसम्भार गर्दा समस्या देखिएको हो। ‘छोटोे अवधिमा काम गर्दा नेपालमा लामो हात गर्ने प्रवृत्ति देखिन्छ । यस्ता काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ठाडो निर्णयका आधारमा हुने भएकाले अनियमितता हुने धेरै सम्भावना हुन्छ,’ उनले भने। उनले भनेजस्तै विदेशी पाहुनालाई काठमाडौं सुन्दर देखाउने बहानामा कसरी करोडौं रुपैयाँ स्वाहा पारिन्छ भन्ने ज्वलन्त उदाहरण हो १८ औं सार्क सम्मेलनमा भएको खर्च। सार्क सम्मेलनमा विभिन्न निकायले करोडौं रुपैयाँ बढाएर अर्थसँग रकम भुक्तानी मागेका थिए। अर्थले खर्चको औचित्य पुष्टि गर्न भनेपछि सबै निकायले धमाधम आफैंले दाबी गरेको रकम घटाएका थिए।
सार्क सम्मेलन सकिएपछि स्थानीय विकास मन्त्रालयले सुरुमा ८ करोड ९ लाख ५६ हजार रुपैयाँ खर्च दाबी गरेको थियो। अर्थले ‘औचित्य पुष्टि नभएको’ भन्दै रकम भुक्तानी गर्न अस्वीकार गरेपछि स्थानीय विकासले आफ्नो खर्च दाबीमा २ करोड ४९ लाख ५६ हजार रुपैयाँ कम गरी ५ करोड ६० लाख रुपैयाँ मागेको थियो। काठमाडौं महानगरपालिकाले पनि सार्क सम्मेलनका बेला तीनकुनेमा बगैंचा निर्माण र रानीपोखरीमा पानीको फोहोरा निर्माण गर्दा सुरुमा ६ करोड खर्च देखाएको थियो। अर्थले औचित्य पुष्टि गर्न भनेपछि खर्चदाबी घटाएर ३ करोड ८० लाखमा झारेको थियो। तीनकुनेमा बगैंचा निर्माण गर्न नसकेपछि महानगरपालिकाले अन्तिम समयमा टिनको जस्ताले बारेको थियो। पहिले जस्ताले बार्दा नै १ करोड खर्च भएको विवरण पठाइएकोमा पछि १४ लाख ९० हजार रुपैयाँ मात्र मागेको थियो । रानीपोखरीमा पानीको फोहोरा निर्माणमा पहिले पाँच करोड खर्च देखाइएको थियो, पछि तीन करोड ६६ लाख दाबी गरिएको थियो। सार्कको बेला महानगरपालिकाले झन्डा राख्ने पोल निर्माण गर्न एक करोड र सडक सफा गर्ने गाडीमा ८६ लाख रुपैयाँ खर्च पेस गरेको थियो। सार्क शिखर सम्मेलमा आएका राष्ट्र तथा सरकार प्रमुखलाई रिट्रिटका लागि हेलिकप्टरमा धुलिखेल लगिएको थियो। धुलिखेल नगरपालिकाले दुई हेलिप्याड बनाउन सुरुमा २४ लाख खर्च लागेको भन्दै भुक्तानी मागेको थियो। पछि उक्त खर्च १४ लाखमा झरेको थियो।
‘हतारमा गरिने काम कहिल्यै टिकाउ हुँदैन, क्षणिकमात्रै हुन्छ। त्यसैले अनियमितता हुने उच्च जोखिम देखिन्छ,’ सिटौलाले भने।
सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ भने विदेशी आउँदा मात्रै नभई अघिपछि पनि सडक तथा अन्य संरचना मर्मतसम्भार हुँदै आएको दाबी गर्छन्। उनले भने, ‘तपाईंले विदेशी पाहुना आउँदा मात्रै सडक मर्मच भएको भन्नुहुन्छ। तर, हामी वार्षिक बजेट छुट्ट्याएर सडक मर्मतसम्भार गरिरहेका छौं।’ श्रेष्ठका अनुसार सडक विभागले वर्षको दुईपटक सडक मर्मतसम्भार गर्दै आइरहेको छ। बिमस्टेक सम्मेलनका कारण गत वर्षभन्दा चाँडो सडक मर्मतसम्भार गर्नुपरेको उनले बताए। ‘भदौ र फागुनमा नियमित रूपमा सडकका खाल्डाखुल्डी टाल्ने गर्छाैं। तर, अहिले बिमस्टेकका कारणले केही छिटो भएको हो,’ श्रेष्ठले भने।
मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटा भने विदेशी राष्ट्रप्रमुख र सरकारप्रमुख आउने भएकाले सडक तथा चोक सरसफाइ गरिएको दाबी गर्छन्। उनले भने, ‘विदेशी राष्ट्रप्रमुखको भ्रमण हुँदा सफा, सुग्घर बनाउनु सबैको दायित्व हो। तर, विदेशी आउँदा मात्रै सडक मर्मतसम्भार गरेका छैनौं । अरू बेला पनि नियमित ढंगले काम गरिरहेका छौं।’
बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौं महानगरपालिकाले सहरका सडक तथा चोक सरसफाइ कार्य तीव्र पारिरहेको छ। महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की विदेशी पाहुना आउँदा सफाइ मजदुरलाई दोब्बर समय काममा खटाउने गरिएको बताउँछन्। ‘विदेशी पाहुना आउँदा रसफाइ मजदुरलाई दोब्बर समय खटाएर काममा लगाउँछौं,’ उनले भने, ‘अरूबेला सधैं दोब्बर खर्च गर्न महानगरसँग बजेट छैन । त्यसैले विदेशी पहुना आउँदा जस्तो सफा र चिटिक्क अरू बेला नदेखिएको हो।’
पूर्वसचिव सिटौला भने विदेशी पाहुना आउँदा मात्रै नभई सडक मर्मतसम्भारको क्यालेन्डर बनाएर कार्यान्वयन गर्नुपर्ने बताउँछन्। ‘नियमित ढंगले मर्मतसम्भार गरेमा विदेशी पाहुना आउँदा गर्नै पर्दैनथ्यो,’ उनले भने।
अर्जुन ओली
बाँके (फत्तेपुर) - सरकारी प्राथमिकतामा रहेको हुलाकी सडक जीर्ण बनेको छ। निर्माण कार्य पूरा नहुँदै बर्खाको पानीले ठाउँठाउँमा सडक बिगार्दा आवतजावतमा समस्या भएको हो। सडक बिग्रिंदा राप्तीपारिका बासिन्दाले अनेक कठिनाइ बेहार्नुपरेको छ । ‘बर्खायाम सुरु भएपछि सडक बिग्रिन थालेको हो,’ स्थानीय झुपलाल विष्टले भने, ‘सडक बिग्रिंदा हिँड्डुल गर्न धेरै समस्या भइरहेको छ।’ बर्खाको पानीले बिगारेको जीर्ण सडकमा ओभरलोड माल बोकेका टिपर र ट्याक्टर गुड्दा झन् जीर्ण बनेको छ।
अर्का स्थानीय रामप्रसाद थारूले निर्माण कार्य पूरा नहुँदै हुलाकी सडक बिग्रिंदै गएको बताए । ‘वर्षायाम लाग्नेबित्तिकै सडक सधैं बिग्रिन्छ, यसपटक पनि सडक नराम्ररी भत्केको छ। ठूलो पानी पर्नासाथ गाडी चल्न सक्दैनन्’, उनले भने, ‘कोही बिरामी भए भने एम्बुलेन्स आउन सक्दैन।’ निर्माणाधीन सडकको काम लामो समयदेखि लम्बिँदा वर्षायाममा राप्तीपारिका बासिन्दाले सधैं सास्ती खेप्नुपरेको रामप्रसादले दुःखेसो पोखे।
भारतीय ठेकेदारले बीचमै काम छाडेर भागेपछि नेपाल सरकारले दोस्रो चरणमा बाँकेको कुल ४४ किलोमिटर हुलाकी सडक आफैं निर्माण गरिरहेको छ। कुल ६६ करोड ५० रुपैयाँ लागतमा पप्पु लुम्बिनी जेभीले ठेक्का सम्झौता गरेपछि ०७३ चैतदेखि काम सुरु भएको थियो। सम्झौताअनुसार ठेकेदारले ३० महिनाभित्र सडक हस्तान्तरण गर्नुपर्नेछ। पप्पुको सम्झौतामा ठेकेदार गणपति गु्रप अफ कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ।
नेपालगन्जको पुष्पलाल चोकदेखि राप्तीपारि फत्तेपुरको साबिक वडा नम्बर ७ नन्कौपुरसम्मको पहिलो खण्ड र नन्कौपुरदेखि कटकुइयासम्मको दोस्रो खण्डमा हुलाकी सडकको काम चलिरहेको छ। तर, अहिलेसम्म निर्माणकार्य अधुरै हुँदा आवतजावतमा सास्ती भएको जनप्रतिनिधि बताउँछन्। राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले हुलाकी सडकको काम पूरा नहुँदा बर्खायाममा धेरै सास्ती खेप्नुपरेको बताए।
गणपति गु्रप अफ कन्स्ट्रक्सनका प्रबन्धनिर्देशक तुलसीराम भण्डारीले वर्षाले गर्दा कतिपय ठाउँमा बाटो बिग्रिएको बताए। ‘वर्षायाम भएकाले बाटो भत्किनु सामान्य हो,’ उनले भने, ‘तैपनि हामीले प्रयास गरिरहेका छौं।’ सम्झौताअनुसार सम्पन्न गर्ने गरी काम भइरहेको भण्डारीले बताए। २०७६ भदौमा हुलाकी सडक सरकारलाई हस्तान्तरण गर्ने उनको भनाइ छ। वर्षायामको समय भएकाले अचेल राप्तीवारि काम गरिरहेको भण्डारीले जनाए। सडक निर्माण स्थलमा पर्ने सडकका पुराना संरचना भत्काउन, मुआब्जा वितरण गर्न तथा विद्युत् पोल, घरधनीका संरचना, हाइटेन्सन लाइन र रूखका जरा हटाउन बाँकी छ। ठेकेदार र आयोजना कार्यालयको ढिलासुस्तीका कारण सडकका संरचनाहरू हटाउने काम रोकिएको स्थानीय बताउँछन्।
हुलाकी सडक कार्यालय नेपालगन्जका अनुसार ठेकेदारले अचेल राप्तीवारि क्षेत्रमा ग्राभेल बिछ्याउने काम गरिरहेको छ। हुलाकी सडक कार्यालय नेपालगन्जका कृष्णनाथ ओझा ठेकेदारको काम हेर्दा तोकिएको समयभित्र सम्पन्न नहुने बताउँछन्। ‘ठेकेदारले अहिलेसम्म ३० देखि ४० प्रतिशत मात्रै काम गरेको छ,’ उनले भने, ‘आगामी असार मसान्तभित्रमा काम सम्पन्न हुन गाह्रो छ, ५–६ महिनाजति लम्बिन्छ होला।’ ठेकेदारले गनराउने कामको गुणस्तरमा विशेष ध्यान दिइएको प्रमुख ओझाले बताए । राप्तीपारिको दोस्रो खण्डमा बढी काम भएको उनको भनाइ छ।