News

पूर्वमा सहरीकरण तीव्र

January 19, 2018

अखण्ड भण्डारी, माधव घिमिरे, लीलाबल्लभ घिमिरे, कान्तिपुर राष्ट्रिय दैनिक, ०५ माघ २०७४

पूर्व–पश्चिम राजमार्ग बन्नुअघि इटहरीको अस्तित्व सामान्य बस्तीका रूपमा थियो । राणाकालमा सतन चौधरीले गैसार भन्ने ठाउँमा जंगल फाँडी यहाँ बसोबास सुरु गरे । अहिलेको इटहरी चोकभन्दा एक किलोमिटर दक्षिणमा रहेको गैसारबाट उत्तरमा ढेडु टोलसम्म फैलिएको बस्तीले आधुनिक रूप धारण गर्न राजमार्ग नै बन्नुपर्‍यो ।

त्यसअघि पूर्वबाट राजधानी जान विकट पहाडी बाटाहरूको प्रयोग हुन्थ्यो । महिनौं हिँडेर राजधानी पुग्नुपथ्र्यो । गाडी चढ्नुपरे भारतको बाटो हुँदै रक्सौलसम्म पुगिन्थ्यो र वीरगन्ज नाकाबाट राजधानी जानुपथ्र्यो । रााजमार्ग निर्माणसँगै यो सवारी चालकहरू बस्ने ‘जक्सन’ बन्यो । बिस्तारै आवागमनको केन्द्र पनि । त्यसपछि यसले रूपै फेर्‍यो । जोगबनीदेखि पहाड उक्लिने बाटाले यहीँनेर पूर्व–पश्चिम राजमार्गलाई छेड्यो । अनि, इटहरी पूर्वकै व्यस्त सहर बन्यो । गाउँबाट उठेर २०५३ मा नगरपालिका घोषित इटहरी २०७१ मंसिरमा उपमहानगरपालिका बन्यो । सुखद संयोग प्रदेश १ का दुई उपमहानगरपालिका सुनसरीमै ‘जुम्ल्याहा’ रूपमा छन्– इटहरी र धरान । यी दुवैले यो प्रदेशको वैभवलाई प्रतिनिधित्व गर्छन् । बितेको दशकमा इटहरी मात्र होइन, यसको पश्चिमको पकली, उत्तरको हाँसपोसा र दक्षिणको खनारसमेत सहरीकरणमा समेटिएका छन् । र, इटहरी–धरानको खाली–सीमा मेटिँदै गएको छ ।

 

उदाहरण इटहरीको भए पनि मुहार यो सिंगो पूर्वी नेपालको हो । केही वर्षयता यहाँ सहरीकरणको गति तीव्र छ । विक्रम संवत् १९७० सम्म दमक दलदल क्षेत्र थियो । झापाको पुरानो बजार गौरीगन्ज र मोरङको मधुमल्ला आउजाउ गर्दा त्यही दलदल बाटो हिंड्नुपथ्र्यो । त्यही भएर आदिवासी धिमाल समुदायले यसलाई ‘दालदालीको दामा’ भन्ने गर्थे । त्यही शब्द अपभ्रंश हुँदै दमक नामकरण हुन पुगेको दमक नगरपालिकाका पूर्वउपप्रमुख मोहन धिमालले बताए ।

 

त्यसपछि बिस्तारै नजिकैको रतुवा बगरमा बुधबार बजार लाग्न सुरु भएको थियो । अनि, बजारीकरणतर्फ लाग्यो । २०३९ मा नगरपालिका बनेको दमक तीव्र विकाससाथ अघि बढिरहेको छ । दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति, क्लिन इन्डस्ट्रियल पार्क, भ्यु टावर निर्माण गर्ने ठूला योजना प्रस्ताव गरिएका छन् । निर्माणाधीन अन्य योजनामा फाल्गुनन्द सभागृह, नमुना बजार, फोहोरमैला प्रशोधन केन्द्र, चक्रपथलगायत छन् । सरकारले विराटनगरलाई प्रदेश १ को राजधानी घोषणा गरेको छ । यसको विकासको गति र फैलावट पनि गतिशील छ । २२ किलोमिटर पूर्वमा रहेको रंगेलीबाट विक्रम संवत् १९७१ मा मोरङको सदरमुकाम यहाँ सारिएको हो । २००८ मा नगरपालिका घोषित विराटनगर ११ वर्षअघि उपमहानगरपालिका बन्यो । यही वर्ष महानगरपालिका बनिसकेको छ ।

 

भवन तथा सहरी विकास डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनियर श्यामकिशोर सिंहका अनु्सार सार्क क्षेत्रमै सहरीकरणको गति नेपालको बढी छ ।

‘नेपालभित्र पनि सातवटा प्रदेशमध्ये १ नम्बरमा तीव्र गतिमा सहरीकरण भइरहेको छ,’ उनले भने, ‘यसको कारण हो बसाइँसराइ । पूर्वाधार र सुविधा भएका क्षेत्रमा बसाइँ सर्ने क्रम बढेको छ । यसले सहरीकरणमा दबाब पुगेको छ । आर्थिक गतिविधि सहरमै बढी छ । सुविधा बढी भएकाले सहरले गाउँका मान्छेलाई तानिरहेको छ, गाउँले सहरतिर ठेलिरहेको छ ।’

 

नगरमा गुरुयोजना बनाएर बस्ती विकास, बाटो सञ्जाल, विद्यालय, डम्पिङ साइटजस्ता कुरामा ध्यान दिनु जरुरी रहेको उनले औंल्याए । ‘धेरै गाउँ हुँदा पहिला सानो जनसंख्या थियो, सानै शक्ति थियो । अब एकीकृत हुँदा ठूलो जनसंख्या भएको छ र यसले ठूलै शक्ति निर्माण गरेको छ । यसलाई विकासमा लगाउनुपर्छ,’ उनले थपे । सिंहका अनुसार राजमार्ग आसपास क्षेत्रमा बढी सहरीकरण भइरहेको छ । यसले गर्दा आर्थिक गतिविधि पनि वृद्धि भइरहेको छ ।

 

त्यति मात्र होइन, विराटनगर देशकै ठूलो महानगरको अवस्थिति बोकेको सहर हो । पूर्वतिर रंगेली, उत्तरतिर धरानसम्म गाभेर यसलाई ‘बृहत्तर विराटनगर महानगर’ बनाउन सकिने योजनाविदहरू बताउँछन् । बीचतिर इटहरी, इनरुवालगायत सहर यसमा जोडिनेछन् । डिभिजनल इन्जिनियर श्यामकिशोर सिंहले पनि सहरी विकासलाई उच्चस्तरमा लैजान यो अवधारणा उचित हुने बताए ।

 

योजना आयोगमा सहरी विकाससम्बन्धी जिम्मेवारी बहन गर्ने सदस्य डा. सुनीलबाबु श्रेष्ठ भन्छन्, ‘सिंगै देशमा सहरीकरणको गतितीव्र छ, त्यसभन्दा तीव्र १ नम्बर प्रदेशमा छ ।’

राज्यको पुन:संरचनाका क्रममा स्थानीय तह शक्तिशाली भएका छन् । साबिक गाविस/नगरपालिका गाभेर ठूला आकारका गाउँपालिका/नगरपालिका बनाइएका छन् । तिनलाई अधिकारसम्पन्न बनाइएका छन् । स्रोतको उत्पादनदेखि परिचालनसम्मका स्वायत्तता दिइएका छन् । यसले पनि सहरीकरणमा बल पुग्ने विज्ञहरूको अपेक्षा छ । सरकारले सहरीकरणका लागि केही नयाँ योजनासमेत अघि सारेको छ । त्यसमध्ये एउटा हो ‘एक सहर एक पहिचान ।’ श्रेष्ठका अनुसार यसका लागि १ नम्बर प्रदेशका विभिन्न सहरले ‘पहिचान’ का प्रस्तावहरू हालिरहेका छन् । ‘धनकुटाले खाद्यहरियाली नगरका रूपमा पहिचान चाहेको छ,’ उनले भने, ‘यो यस्तो योजना हो, जसमा कृषिमा आत्मनिर्भरतासहित हरियालीलाई प्राथमिकता दिइन्छ । जस्तो– घरमा फलफूलको बगैंचा लगाउने । यसले हरियालीसँगै आम्दानी पनि हुन्छ ।’ दमक, इलामलगायत सहरले पनि ‘पहिचान’ का परियोजना बनाइरहेको उनले जानकारी गराए ।त्यस्तै, सरकारको अर्को योजना हो– ‘स्मार्ट भिलेज ।’ त्यसका लागि पनि ठाउँ छनोट भइरहेको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष ३ वटा खाद्यहरियाली सहर र ७५ वटा ‘स्मार्ट भिलेज’ बनाउने तयारी छ ।

 

नेपालमा यति धेरै नगर घोषणा गरिएका छन् कि हामी नगरवासीका रूपमा दक्षिण एसियामा एक नम्बरमा छौं । देशभर नगरवासी ५८.४ प्रतिशत पुगेका छन् । तर, कतिपय नगरपालिकामा पूर्वाधार कमजोर छन् । ‘तिनलाई विकासपथमा तीव्र गतिमा अघि लैजानु जरुरी छ, चुनौती पनि उत्तिकै छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि योजना आयोगले एकीकृत सहरी विकास योजना ल्याउन हरेक स्थानीय तहलाई भनेको छ ।

 

त्यसपछि सडक, ढल, बिजुली, टेलिफोनजस्ता काम एकीकृत ढंगले हुनेछन् । एउटा विकास गर्दा अर्को अवरुद्ध हुने वा भत्किने क्रम सकिनेछ ।’ प्रदेश १ मा एउटा महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका छन् ।

 

पहाड पनि लम्किँदै

तराईका मात्र होइन, प्रदेश १ का पहाडी सहर पनि तीव्र गतिमा अघि बढिरहेका छन् । इलाम २०१५ मै नगरपालिका बने पनि पूर्वाधार र विकासमा पछाडि थियो । कृषि र पर्यटनका बलमा यसले विकासको अग्रता समाएको छ । यहाँ विमानस्थल, जैविक विविधतायुक्त पर्यटकीय स्थल, सभागृह निर्माण तीव्रतर गतिमा भइरहेको छ ।

विकासको गति समाएको अर्को सहर हो– धनकुटा । राणाशासनकालमा धनकुटा बडाहाकिम कार्यालय थियो । यसैले तराईका केही भाग र इलामसम्मको प्रशासन हेथ्र्यो । विसं १९४२ पछि धनकुटा पूर्वका ३ अड्डाका अपिल सुन्ने केन्द्र बन्यो । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम अर्थात् १६ जिल्लाको प्रशासनिक केन्द्र बन्यो । २०४६ को परिवर्तनपछि विकास क्षेत्रको अवधारणालाई कम महत्त्व दिएका कारण प्रशासनिक रूपमा यसको प्रभाव घट्न थाल्यो ।

नेपालको एकीकरण भएबाटै धनकुटा बनेर यहाँबाट प्रशासनिक, सामरिक र न्यायिक काम सुरु भएको इतिहासकार डा. गोपालबहादुर भट्टराईले जानकारी दिए । त्यहाँबाट यहाँ आइपुग्दा पछिल्लो छोटो समयमा यसले भौतिक विकासमा राम्रै फडको मारेको छ ।

 

चुनौती उत्तिकै

तीव्र सहरीकरणसँगै केही चुनौती पनि छन् । कतिपय सहर नयाँ निर्माण भएका छन् भने कतिपय पुरानै विस्तार भएका हुन् । नयाँमा भन्दा पुरानामा पूर्वाधार निर्माणमा कठिनाइ बढी छ । योजनाबद्ध विकास नहुनु, व्यापारिक र आवासको परिकल्पना नगरिनु, सडक, खानेपानी, सरसफाइलगायतको प्रबन्ध नगरिनु, सानै सहर बन्नासाथ प्रदूषण र ट्राफिक जामको समस्यामा फस्नु साझा विशेषता देखिएका छन् । ‘यस्ता चुनौती चिर्ने गरी योजनाबद्ध र एकीकृत विकासमा जाने हो भने सहरीकरण छिट्टै सम्भव छ,’ प्रदेश १ को उदारहण दिँदै योजना आयोगका सदस्य श्रेष्ठले भने, ‘समृद्धि पनि त्यसमै छ । खोज्न अन्यत्र जानै पर्दैन ।’

(सम्बन्धित जिल्लाका कान्तिपुर संवाददाताको सहयोगमा)

प्रदेश १ मा चम्किइरहेका केही सहर

  • मोरङ– विराटनगर, रंगेली, उर्लाबारी, बेलबारी, विराटचोक, सलकपुर, लेटाङ, कटहरी, डायनियाँ, नयाँ बजार, कर्सिया, मिक्लाजुङ, पथरी, शनिश्चरे, झोराहाट
  • सुनसरी– धरान, इटहरी, झुम्का, तरहरा, इनरुवा, चतरा, भरौल, दुहबी
  • झापा– दमक, बिर्तामोड, काँकडभिट्टा, भद्रपुर, सुरुङ्गा, धुलाबारी, झिलझिले, गौरादह, गौरीगन्ज, चन्द्रगढी, चारआली, बुधबारे, शनिश्चरे
  • धनकुटा– धनकुटा बजार, हिले, जितपुर, पाख्रिबास, लेगुवा, जोरपाटी, सिँधुवा, तित्रे, भेडेटार, डाँडाबजार, राजारानी, मौनाबुधुक, शुक्रबारे
  • तेह्रथुम– वसन्तपुर, म्याङलुङ, जिरीखिम्ती, मोराहाङ, पोक्लाबाङ, संक्रान्ती, चुहानडाँडा, लसुने, शुक्रबारे
  • संखुवासभा– खाँदबारी, चैनपुर, तुम्लिङटार, मुढेशनिश्चरे, किमाथांका, हटियागोला, बाना बजार, बाह्रबिसे, ताम्कु
  • ताप्लेजुङ– फुङलिङ, दोभान, खाम्दिङ्गे, सिवा
  • पाँचथर– फिदिम, यासोक, रवि, दुरदिम्बा, जोरपोखरी, थर्पु, पञ्चमी, अमरपुर, भालुचोक, काबेली, च्याङ्थापु, फलैंचा, ओयाम, मावा, आङना, चिसापानी, राँके, पौवाभन्ज्याङ, नवमीडाँडा
  • इलाम– सदरमुकाम इलाम बजार, फिक्कल, मंगलबारे, देउराली, शुक्रबारे, माङसेबुङ, पशुपतिनगर, सप्तमी, कुटिडाँडा, जौबारी, आइतबारे
  • उदयपुर– गाईघाट, बेलटार, कटारी, रामपुर, मुर्कुची
  • ओखलढुंगा– रुम्जाटार, मानेभन्ज्याङ, रामपुर, खानीभन्ज्याङ, खिदी फलाँटे, घोराखोसी, ओखलढुंगा
  • भोजपुर– भोजपुर, दिङला, घोडेटार, तिवारीभन्ज्याङ, प्याउली, बालङखा, टक्सार
  • खोटाङ– दिक्तेल, खोटाङ बजार, ऐंसेलुखर्क, फाक्सिला, बुइपा, मानेभन्ज्याङ, चिसापानी, सिमपानी
  • सोलुखुम्बु– नाम्चे, सल्लेरी, लुक्ला, नेचा, पत्ताले

स्रोत: https://www.kantipurdaily.com/news/2018/01/19/20180119064326.html