News

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु

August 03, 2017

लालप्रसाद शर्मा, कान्तिपुर दैनिक, १९ श्रावण २०७४ 

शिलान्यासको साढे १६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको छ। 

राष्ट्रिय गौरवको यो विमानस्थलको निर्माण कार्य चिनियाँ निर्माण कम्पनी सीएएमसीले थालेको हो। पर्यटनमन्त्री जितेन्द्रनारायण देवले बुधबार रिवन काटेर निर्माण कार्यलाई औपचारिक सुरुवात गरे। चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल बन्दै छ। पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको थियो। 

दुई देशबीच सबै कानुनी प्रक्रिया टुंगिएर निर्माण प्रक्रियामा गएको र अबको एक वर्ष डिजाइनिङ चरण रहनेछ। १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ। विमानस्थल निर्माण आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर प्रदीप अधिकारीका अनुसार गत ३१ मेमा ऋण प्रभावकारी (लोन इफेक्टिभ) भएपछि ४२ दिनभित्र निर्माण सुरु गर्नुपर्ने कार्यादेशअनुसार निर्माण कम्पनीले काम थालेको हो। ‘निर्माण चरणमा आउनुअघिका सबै प्रक्रिया पूरा भएकाले असार २७ बाट काम गर्न पत्राचार गरेअनुसार काम थालिएको हो,’ उनले भने, ‘चार वर्षमा यो सकिन्छ।’

आयोजनास्थलमा सीएएमसीईले कार्यालय, निवास, खानेपानीलगायतका पूर्वाधारका काम सुरु गरेको छ। यसका लागि नेपाली र चिनियाँ दक्ष र अदक्ष १ सय १० कामदार खटिएका छन्। कम्पनीका प्रोजेक्ट म्यानेजर जेरी याङले सबै पक्षको सहयोगबाट समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए। ‘सम्झौताअनुसार समयभित्रै विमानस्थल निर्माण पूरा हुन्छ,’ उनले भने, ‘अहिले वर्षायाम भएकाले पहिला आफूहरू बस्ने शिविर बनाउने र हिउँद लाग्नसाथ हेबी इक्विपमेन्टमार्फत काम थाल्नेछौं। धावनमार्ग पनि सम्याउन सुरु गर्नेछौं।’ उनले नागरिक उड्डयन प्राधिकरण र आफूहबीच कुनै समस्या नरहेको भन्दै स्थानीय तथा सरोकारवाला सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताए। मन्त्री देवले विमानस्थल देशको समृद्धि र विकासमा कोसेढुंगा सावित हुने बताए। ‘लामो र कठिन यात्रापछि आज विमानस्थल निर्माणको काम सुरु भएको छ,’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको प्रगति निकै कम भएको अवस्थामा पोखराले उदाहरण बनेर देखाउन सक्नुपर्छ।’ सरकारी तवरबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। कानुनमन्त्री यज्ञबहादुर थापाले स्थानीयस्तरबाट सक्दो सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए। 

विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक सांसद तथा विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्माण चरणअघिका सबै काम तथा प्रक्रिया सकिएकाले समयमै विमानस्थल बन्ने विश्वास व्यक्त गरे। ‘स्थानीयको सहयोग, पूर्वतयारीलगायत कुनै पनि समस्या नभएको र समयमै नसके निर्माण कम्पनीले पेनाल्टी तिर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण समयमै निर्माण हुनेमा ढुक्क छु,’ उनले भने, ‘कुनै समस्या देखिए तुरुन्त समाधानको पहल गरिनेछ।’

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋण हो। ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गानाइजेसनको मापदण्डअनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो। यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन्। विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ। राष्ट्रिय/अन्तर्राष्ट्रिय टर्मिनल भवन, ४ वटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायतका पूर्वाधार पनि बन्नेछन्। सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त छ। 

विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो। त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो। जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत स्थानीयस्तरमा सबै समस्या समाधान भइसकेका छन्। जम्मा १३ रोपनी जग्गाको मात्र मुआब्जा वितरण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। विमानस्थल वरिपरि चक्रपथ निर्माणका लागि थप ५० रोपनी जग्गा अधिग्रहण गर्न आवश्यक रहेको र भदौ १५ भित्र त्यसको टुंगो लाग्ने अधिकारीले बताए। 

आयोजनाको वातावरण प्रभाव मूल्यांकन, माटोको अनुसन्धान तथा अन्य विषयमा आवश्यक जानकारी लिइसकेको छ। साथै अघिल्लो असारमा निर्माणको पूर्वतयारीका लागि सीएएमसीको प्राविधिक टोली यहाँ आएर विभिन्न अध्ययन गरेको थियो। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले पोखरेलीको प्रतीक्षाको अवधि सकिएको भन्दै पोखरामा कुनै समस्या नदेखिएकाले समयमै आयोजना सकिने बताए। उनले विमानस्थल बनेपछि अहिले सञ्चालनमा रहेको विमानस्थल के गर्ने भन्नेतर्फ आजैबाट सोच्न पोखरेलीसमक्ष अनुरोध गरे। साथै पोखराको ल्यान्डफिल्ड साइट, प्याराग्लाइडिङलगायत पर्यटकीय गतिविधि पनि ठप्प हुनेतर्फ सोचेर काम गर्नुपर्नेमा उनले जोड दिए। ‘ऋण र ब्याज यही विमानस्थलबाट तिर्नुपर्छ,’ उनले भने। 

विमानस्थलको ०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए। साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, तत्कालीन उपप्रधानमन्त्रीद्वय कमल थापा, विजयकुमार गच्छदार, पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र कांग्रेस महामन्त्री शशांक कोइरालाले निर्माणस्थलमा एक/एकवटा इँटा राखेका थिए। 

सरकारले ०३२ मा जग्गा अधिग्रहण गरे पनि सरकारसँग बजेट अभाव, दातृ निकाय फेला नपरेको र पछि नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनोटको निर्णयमा ढिलाइले विमानस्थल निर्माण अलपत्र थियो। पछिल्लो समय पोखरेलीको निरन्तर दबाब, सरकारको तदारुकता, राजीतिक दलको एकता र चीनको सहयोगले काम गरेको छ। 

०२६ मा जापानको इकावा नामक संस्थाले विस्तृत अध्ययन गरेर पोखरामा विमानस्थलको ठाउँ छनोट भएको थियो। ०२९ मा प्यासिफिक एसोसिएसन अफ ट्राभल्स एजेन्सी (पाटा) ले पनि विमानस्थल बनाउन भनेको थियो। यो थाहा पाएका तत्कालीन गण्डकीका अञ्चलाधीश शंकरराज पाठकको पहलमा जग्गा खोजेर अधिग्रहणको काम सुरु भएको थियो। पोखरा नगर पञ्चायतका तत्कालीन उपप्रधानपञ्च लक्ष्मण कार्की जग्गा उपलब्ध गराउने पहिलो दाता थिए। त्यसपछि ०३२ चैत २ मा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। लक्ष्मणको मात्रै ७० रोपनी जग्गा अधिग्रहणमा परेको थियो। 
०४१ मा एसआर श्रेष्ठ एन्ड कम्पनीले विमानस्थल बनाउन प्राविधिक दृष्टिले उपयुक्त रहेको निष्कर्ष निकालेको थियो। ०४६ मा जाइकाले पनि यसको अध्ययन गरेको थियो। लामो समयको अन्योललाई तोडदै सरकारले ०६० फागुन ११ मा ‘बुट’ प्रक्रियाबाट विमानस्थल निमार्णका लागि प्रस्ताव आहवान गर्दा दुई कोरियन कम्पनीले इच्छा देखाएकामा सरकारले वास्ता गरेन। सरकारले ०६५ मा नीति तथा कार्यक्रममार्फत विमानस्थलको नीतिगत निर्णय गरेको थियो। विमानस्थल निर्माणमा ढिलाइ हुँदै गएपछि सबै दल, नागरिक समाज, व्यवसायी संगठित भएर आन्दोलनसमेत गरेका थए। 

हवाईमार्गको अनुमति लिन माग
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै हवाई मार्ग (रुट) अनुमति प्रक्रिया लिन पनि पोखरेलीले सरकारसँग माग गरेका छन्। बुधबार बिहान भएको विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठकका सहभागीले विमानस्थल बन्नु मात्र ठूलो नभएको भन्दै निर्माण सकिनसाथ अन्तर्राष्ट्रिय सहरमा उडानका लागि आवश्यक हवाई मार्गको अनुमतिका लागि आजैदेखि पहल गर्नुपर्ने बताएका हुन्। ‘हवाईमार्ग कायम गर्न आजैदेखि तयारी गर्नुपर्छ। नभए विमानस्थल बन्नु र नबन्नुमा कुनै फरक हुँदैन,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भने।

अन्तर्राष्ट्रिय हवाई नीतिअनुसार भारतलगायत देशसँग हवाईमार्गको अनुमति लिन उनले सुझाए। साथै देशभित्रका अन्य विमानस्थलसँग पनि पोखराको कनेक्टिभिटी अपरिहार्य भएकाले त्यसतर्फ सोच्न आग्रह गरे। 

पर्यटनमन्त्री देव तथा प्राधिकरण महानिर्देशक गौतमले विमानस्थल निर्माण हुने बेलासम्म हवाईमार्गलगायत समस्या समाधान हुने बताए। 

सडकको स्तरोन्नति पनि आवश्यक
त्यस्तै विमानस्थल निर्माणपछि पोखरा अन्तर्राष्ट्रिय सहर हुने भएकाले सोहीअनुसार भौतिक पूर्वाधारको पनि विकास र स्तरोन्नति आवश्यक रहेको बैठकका सहभागीले बताए। विशेषगरी पोखरालाई जोड्ने तीनवटा राजमार्गहरू (पृथ्वी, सिद्धार्थ र पोखरा–बागलुङको स्तरोन्नति र सहरी सडक पनि चाक्लो बनाउनुपर्नेमा उनीहरूको जोड थियो। कोत्रेदेखि जिरो किमिसम्म ६ लेनको सडक बनाउनुपर्ने पनि उनीहरूले बताए। ‘सडकको स्तरोन्नति र विकास नभएसम्म विमानस्थल बनेर मात्र केही हुँदैन,’ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले भने, ‘पाल्पा, मुग्लिङ र बाग्लुङ, म्याग्दीबाट सहजै पोखरा आउने सडक बनाउनुपर्छ।’ 

पोखरा ४ नम्बर प्रदेशको राजधानी पनि भएको र कम पूर्वाधार भएको प्रदेश पनि भएकाले अब अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, आधुनिक बसपार्क, चक्रपथ निर्माणसँगै प्राकृतिक सम्पदाको संरक्षण र सहरको सुन्दरतामा पनि ध्यान दिनुपर्ने स्थानीयले बताएका छन्। उनीहरूले भौतिक पूर्वाधारसँगै व्यवस्थित बसोबासका लागि गुरुयोजना बनाएर अघि बढ्न पनि सुझाए। 

हालको सडक अवस्थाले सवारी आगमनलाई थेग्न नसक्ने भएकाले सडक चक्लाउने र अन्य बनाउनुपर्नेमा पोखरेलीको जोड छ। यही सडकले जहाजमा चढ्न समयमै जान नपाइने र झरेपछि पनि गन्तव्यमा सजिलै जान नसकिने अवस्था रहेको मुल्मीले बताए। ‘सिद्धार्थ, बाग्लुङ राजमार्गलाई बाइपास गरी सहरभित्र पस्नै नपर्ने बनाउनुपर्छ। व्यवस्थित सहर र सुन्दरतामा पनि आजैबाट काम थाल्नुपर्छ,’ उनले भने, ‘काम गर्ने निकाय गठन गरी जिम्मेवारी दिएर काम अगाडि बढाउनुपर्छ।’
विमानस्थल बनेपछि पोखराको विभिन्न देशसँग सीधा सम्पर्क हुनाले विशिष्ट व्यक्तिहरू आउँछन्। कोही छोटो समयमा आएर धेरै मनोरञ्जन गर्छन। छुट्टी मनाउन होस् वा विभिन्न व्यापारिक, सरकारी सभा सम्मेलन पनि यहाँ हुन्छन्। ‘यहाँ आएका पाहुनालाई लामो समयसम्म राख्ने उपाय सोच्नुपर्छ,’ राष्ट्रिय पर्यटन परिषदका सदस्य वासु त्रिपाठी भन्छन्, ‘वातावरण संरक्षणसहित प्राकृतिक सम्पदाको जगेर्नामा ध्यान दिनुपर्छ।’ 


स्रोत: http://kantipur.ekantipur.com/news/2017-08-03/20170803082618.html