News

प्याजको मूल्य बढेपछि सरकारद्वारा अनुगमन

December 01, 2017

लक्ष्मी सापकोटा, कारोबार आर्थिक दैनिक, १५ मंसिर २०७४

तरकारीको मूल्य क्रमिक रूपमा ओरालो लाग्न थाले पनि बजारमा प्याजको मूल्य भने एक्कासी बढेको छ । स्थानीय बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ३५ रुपैयाँसम्म पुगेको छ । व्यवसायीले भारतबाटै भाउ बढेर आएकाले महँगो भएको दावी गरिरहे पनि मूल्यवृद्धि अस्वभाविक भएको भन्दै सरकारले बिहीबार बजार अनुगमन गरेको छ । 
भारतले निर्यातमा कडाइ गरपछि प्याजको मूल्य बढेर आएकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाइ छ । एक साताअघि प्रतिकेजी ८० रुपैयाँ रहेको प्याजको खुद्रा मूल्य अहिले बढेर १ सय ३५ रुपैयाँ पुगेको छ । मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले पसलपिच्छे फरकफरक मूल्य लिइ उपभोक्ता ठगिरहेको अधिकारकर्मीहरू बताउँछन् । भारतमा प्याजको उत्पादन कम भएकाले मूल्य बढ्न गएको व्यापारीको भनाइ छ । कालीमाटीका प्याज विक्रेता भरत उप्रेतीले भारतमा प्याजको उत्पादन कम भइ मूल्य बढेर आएकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको बताए । “पुरानो उत्पादन बिक्री भइसकेपछि नयाँ उत्पादन बजारमा आउँदा महँगो भएको छ,” उनले भने, “ भारतमै प्याजको उत्पादन कम भएपछि बजारमा महँगो पर्न गएको हो ।” कालीमाटी बजारमा बुधबार प्रतिकेजी प्याजको होलसेल मूल्य नै १ सय ५ रुपैयाँ पुगेको छ । भारतमै प्रतिकेजी प्याजको मूल्य भारु ५५ रहेको उनले जानकारी दिए । 
कालीमाटी बजारमा दैनिक १० गाडी प्याज भित्रने गरेकोमा केही दिनयता एक गाडीमात्र आएको व्यवसायी बताउँछन् । प्याजको मूल्य बढेकाले बजारमा यसको खपत घटेको छ । भारतबाट ९८ प्रतिशत आयात हुने भए पनि स्थानीय स्तरमा प्याजको उत्पादन नहुँदा भारतसँग परनिर्भरता छ ।
कालीमाटी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले भारतबाटै प्याजको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताए । भारतले अन्य देशमा प्याज निर्यात गर्नका लागि शुल्क लगाएकाले त्यसको असर नेपालमा पर्न गएको उनको भनाइ छ । एक सातादेखि बजारमा पर्याप्तमात्रामा प्याज भित्रन सकेको छैन । भारत सरकारले अन्य मुलुकमा प्याज निर्यात गर्नका लागि प्रतिटन ८ सय ५० डलर शुल्क लगाएकाले पनि महँगिएको व्यवसायीको भनाइ छ । उपभोक्ताले थेग्न नसक्ने गरी प्याजको मूल्य बढेपछि उपभोक्तालाई प्रत्यक्ष मार परेको छ । लामो समयदेखि तरकारीको मूल्य बढेर मारमा परेका उपभोक्तालाई तरकारीको मूल्यमा सामान्य कमी आउनासाथ पुनः प्याजको मूल्य अस्वभाविक रूपमा बढेको छ । 
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा ९४ करोड ४६ लाख ६ हजार रुपैयाँ बराबरको प्याज आयात भएको छ । जसमा ९२ करोड ९५ लाख ५६ हजार रुपैयाँको भारत र १ करोड ९१ लाख ४ हजार रुपैयाँको चीनबाट प्याज आयात भएको छ । स्थानीयस्तरमा प्याजको उत्पादन नहुँदा यसका लागि बर्षेनि अर्ब रुपैयाँ बाहिरिने गरेको छ । मुलुक कृषिप्रधान देश भएपनि अधिकांश कृषिजन्य उत्पादन भारतबाटै आयात हुने गर्छ ।

स्रोत: https://www.karobardaily.com/news/economy/618