News

प्रतिआप्रवासी ४ हजार डलर विप्रेषण

May 14, 2018

आर्थिक अभियान, सोमवार, बैशाख ३१, २०७५

काठमाडौं । सन् २०१७ मा विदेशमा काम गर्ने नेपालीले औसतमा करीब ४ हजार डलर विप्रेषण पठाएको देखिएको छ । गतवर्ष नेपालमा विप्रेषण आप्रवाह करीब दोहोरो अङ्कले बढेको र रोजगारीका लागि विदेश जानेको सङ्ख्या केही घटेकाले प्रतिआप्रवासी विप्रेषण बढेको अनुमान छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको कृषि विकासका लागि अन्तरराष्ट्रिय कोष (आईएफएडी)ले सार्वजनिक गरेको ‘रेमिट्यान्स मार्केट्स एण्ड अपर्चुनिटिज इन एशिया एण्ड द प्यासिफिक’ शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो ।

संस्थाको प्रतिवेदनअनुसार सन् २०१७ मा नेपालले ६ अर्ब ९४ करोड ७० लाख डलर विप्रेषण भित्र्याएको छ । सन् २०१६ को तुलनामा सो रकम ९ दशमलव ८ प्रतिशत बढी हो । सो अवधिमा कुल १७ लाख ३८ हजार ४ सय ४२ नेपाली विभिन्न देशमा कार्यरत रहेको अनुमान छ । त्यस आधारमा गतवर्ष हरेक आप्रवासी नेपालीले औसतमा ३ हजार ९ सय ९६ डलर घरमा पठाएका छन् । नेपालको औसत प्रतिआप्रवासी विप्रेषण समग्र एशिया प्रशान्त क्षेत्रको भन्दा बढी हो । प्रतिवेदनअनुसार समीक्षा अवधिमा एशिया प्रशान्त क्षेत्रमा २ खर्ब ५६ अर्ब डलर विप्रेषण प्रवाह भएको छ । यस क्षेत्रका करीब ८ करोड आप्रवासीले यो रकम पठाएका हुन् । यसको अर्थ प्रत्येक एक आप्रवासीले औसतमा ३ हजार २ सय डलर घर पठाएका छन् । यो विश्वमा आप्रवाह भएको कुल विप्रेषणको ५३ प्रतिशत हो । त्यस्तैगरी, सन् २००८ को तुलनामा भने यो ४ दशमलव ८७ प्रतिशत बढी हो । गतवर्ष प्रवाह भएकोमध्ये २ चौथाइभन्दा बढी रकम भारत र चीनमा भित्रिएको छ । सन् २०१७ मा भारतले ६९ अर्ब डलर विप्रेषण भिœयाएको छ भने चीनले ६४ अर्ब डलर । तेस्रो उच्च विप्रेषण प्राप्तकर्ता फिलिपिन्समा भने ३३ अर्ब डलर विपे्रषण आप्रवाह भएको छ ।

समीक्षा अवधिमा नेपालमा २ सय डलर विप्रेषण प्राप्त गर्न औसतमा ४ डलर ९० सेण्ट खर्च लागेको प्रतिवेदनले देखाएको छ । यो विश्वका अन्य मुलुकमा रकम पठाउँदा लाग्ने लागतको तुलनामा निकै कम हो । समीक्षा अवधिमा विश्वभर २ सय डलरबराबरको विप्रेषण प्राप्त गर्न औसत ७ डलर १ सेण्ट खर्च लागेकोमा एशिया प्रशान्त क्षेत्रमा यो दर ६ डलर ९० सेण्ट थियो । नेपालको यो दर भारत, फिलिपिन्स, श्रीलङ्का, पाकिस्तानको तुलनामा पनि सस्तो हो ।

समीक्षा अवधिमा सबैभन्दा धेरै विप्रेषण भिœयाउने देशको सूचीमा नेपाल २२औं स्थानमा रहेको छ । एशिया प्रशान्त क्षेत्रमा भित्रिएका करीब ७० प्रतिशत विप्रेषण बाहिरबाट आएका छन् । यहाँ आप्रवाह भएका रकममध्ये ३२ प्रतिशत खाडी मुलुक, २६ प्रतिशत उत्तर अमेरिका र १२ प्रतिशत यूरोपबाट आएका हुन् । समीक्षा अवधिमा एशिया प्रशान्त क्षेत्रबाट ७८ अर्ब डलर विप्रेषण प्रवाह भएकोमा ९३ प्रतिशत यही क्षेत्रमा रहेको थियो ।

नेपालमा अधिकांश विप्रेषण खाडी मुलुकबाट आउँछ । खाडी मुलुकमा पनि नेपालका लागि सबैभन्दा ठूला विप्रेषणका स्रोत देश कतार र साउदी अरेबिया हुन् । सन् २०१७ मा कतारबाट १ अर्ब ९० करोड डलर र साउदी अरेबियाबाट १ अर्ब ८० करोड डलर विप्रेषण भित्रिएको छ ।

विप्रेषण आप्रवाह बढ्नुमा नियामक दृष्टिकोणमा आएको सुधारले महत्त्वपूर्ण भूमिका खेलेको छ । मोबाइलबाट विप्रेषण आप्रवाह गर्न नियामकहरूले गरेको प्रयास र मल्टी पर्पोज टर्मिनल (एमटीओ) प्रविधिको प्रयोगले एजेण्ट सबल हुँदा नेपाल मात्रै होइन । एशिया क्षेत्रका बङ्गलादेश, मलेशियालगायत अन्य देशमा समेत विप्रेषण आप्रवाह बढेको प्रतिवेदनमा उल्लेख छ ।

बढ्दो विप्रेषण आप्रवाहले ती देशमा वित्तीय साक्षरता, उद्यमशीलता र वित्तीय समावेशिता बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रतिवेदनले देखाएको छ । यद्यपि, रकम पठाउने र प्राप्त गर्ने देशहरूबीच कानूनी र नियामक ढाँचामा तालमेल नमिल्दा प्रविधिको प्रयोगबाट हुन सक्ने अन्य फाइदा पूर्णरूपमा लिन नसकिएको बताइएको छ । नेपालमा भित्रिएको विप्रेषणको करीब ७० प्रतिशत खाद्यान्न, कपडा, स्वास्थ्य सेवा र शिक्षालगायतका आधारभूत आवश्यकताको पूर्तिमा खर्च हुने गरेको देखिएको छ । बाँकी ३० प्रतिशत रकम भने बचत र पूँजी निर्माण वा आय आयर्जनका क्रियाकलापमा खर्च हुने गरेको बताइएको छ ।

प्रतिवेदनअनुसार सन् २०११ यता एशिया प्रशान्त क्षेत्रको वित्तीय समावेशिता बढेको छ । विप्रेषण पठाउने र प्राप्त गर्ने करीब आधा परिवार औपचारिक वित्तीय प्रणाली बाहिरै छन् । योसँगै विप्रेषणले व्यापार व्यवसायको प्रवर्धन गरेर निजीक्षेत्रको विस्तारमा प्रशस्त योगदान दिएको छ । फलस्वरूप स्थानीय समुदायको आर्थिक परिदृश्य पनि फेरिएको छ । सरकार र निजीक्षेत्रको साझेदारी प्रवद्र्धनका कारण विप्रेषण प्रवाहलाई थप टेवा पुगेको छ ।

स्रोत: http://www.abhiyan.com.np/2018/05/14/203801