News

प्राधिकरणले धरहरा पुनर्निर्माणलाई अघि बढाउने

March 16, 2018

कान्तिपुर, चैत्र २, २०७४
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणलाई अघि बढाउन सरोकारवालासँग छलफल सुरु गरेको छ । २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणलाई अघि बढाउनेबारे सरोकारवाला निकायसँग छलफल गरेको प्राधिकरणले जनाएको छ । यसअघि धरहरा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको नेपाल टेलिकमले त्यसबाट हात झिकेपछि प्राधिकरणले आफैँ पहल सुरु गरेको हो ।  

प्राधिकरणले प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र पुरातत्व विभागका पदाधिकारीसहित विज्ञ समुहसँग छलफल गरी परामर्ष लिएको जनाएको छ । छलफलमा धरहरा पुननिर्माण पूर्वका सबै प्राविधिक तयारी पुरा गरी जतिसक्दो छिटो पुनर्निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । त्यससम्बन्धी ड्रइङ डिजाईनसहितका प्राविधिक पक्षका विषयमा छलफल चलिरहेको र यसको टुंगो लागेपछि धरहरा पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताउनुभयो । 

स्रोत: http://radiokantipur.ekantipur.com/news/2018-03-16/20180316084827.html