News

बहुक्षेत्रीय पोषणको १ करोड सभा गोष्ठीमा

May 25, 2017

Karobar Daily, Harish Chandra, 25th May 2017, Dadheldhura

डडेल्धुरामा सञ्चालित बहुक्षेत्रीय पोषणका लागि आएको करिब १ करोड रुपैयाँ गोष्ठीमै सक्ने खेल भइरहेको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत जिल्ला समन्वय समिति डडेल्धुरा, जिल्ला शिक्षा कार्यालय, जिल्ला पशु सेवा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला विकास कार्यालयद्वारा सञ्चालन भइरहेको बहुक्षेत्रीय पोषण कार्यक्रममा १ करोड १ लाख २० हजार रुपैंयाँ गोष्ठी र तालिम सम्पन्न गर्ने गरी रकम विनियोजन गरेको पाइएको छ । 

एक वर्षको अवधिमा पोषणसम्बन्धी जनचेतना जगाउनु पर्ने भए पनि सम्बन्धित कार्यालयले पाँच महिनाकै अवधिमा लाखौं रकम सभा र गोष्ठीमा सम्पन्न गरेका छन् ।

आव २०७३/०७४ का लागि १ करोड रकम विनियोजन भएको भए पनि चैत महिनादेखि मात्रै सम्बन्धित कार्यालयहरूले गोष्ठी र तालिम गर्न सुरु गरेका छन् । पोषण कार्यक्रम लागू भइरहेका साविकका नगरपालिका र गाविस कार्यालयका केही स्थानमा जिल्ला विकास समितिका केही कर्मचारी लगेर पोषण कार्यक्रमका लागि दातृ निकाय यूएनएफपीएले दिएको १ करोड रकम सक्ने योजना बनाएको पाइएको छ ।

जिल्ला शिक्षा कार्यालय डडेल्धुराले पाँच दिनसम्म सञ्चालन भएको तालिममै जिल्लास्थित एक होटेलमा ६ लाख ८ हजार रुपैंयाँ सकेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक नरेन्द्र खातीले बताए । अधिकांश कार्यक्रम सकेको र अब थोरै कार्यक्रममात्रै बाँकी रहेको समेत उनले बताए । कार्यक्रम सञ्चालन हुने गाउँपालिकामा गोष्ठी तथा तालिम भइरहेको समेत खातीले बताए ।

पोषणका बारेमा स्रोत केन्द्रअन्तर्गतका प्रअको बैठकमा छलफल गर्ने, हाजिरी जवाफ प्रतियोगिता भइरहेको विद्यालय निरीक्षक खातीले बताए । जिल्ला शिक्षा कार्यालय डडेल्धुराले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत १७ लाख रुपैंया बराबरको तालिम सम्पन्न गर्ने जनाएको छ ।

यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराले १७ लाख, जिल्ला समन्वय समिति १५ लाख, जिल्ला पशुसेवा कार्यालय १७ लाख, जिल्ला कृषि विकास कार्यालय १७ लाख, महिला बालबालिका कार्यालयले १७ लाख गरी १ करोड रकम बराबरको तालिम सञ्चालन गरिरहेका छन् ।

यसैगरी जिल्ला पशु सेवा कार्यालयले १७ लाख बराबरको तालिम, कुखुरा वितरण गरिरहेको जनाएको छ भने जिल्ला कृषि विकास कार्यालयले भने तालिम र बिउ वितरण गरिरहेको छ ।

दातृ निकायले जिल्ला समन्वय समितिको खातामा रकम पठाउने र जिल्ला समन्वय समितिले प्रत्येक कार्यालयलाई किस्ताबन्दीका रूपमा रकम विनियोजन गर्ने गरेको बहुक्षेत्रीय पोषण कार्यक्रम डडेल्धुराका जिल्ला संयोजक धर्मराज उप्रेतीले बताए । आर्थिक वर्ष २०७३/०७४ मा विनियोजित रकम सम्पन्न गर्नुपर्ने भए पनि अंग्रेजी वर्षका कारण रकम ढिलो गरी आएकाले पाँच महिनाको अवधिमा १ करोड रकम सक्नुपर्ने समेत संयोजक उप्रेतीले बताए ।

 जिल्लामा बहुक्षेत्रीय पोषणसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका बारेमा स्थानीय बासीन्दालाई कुनै जानकारी नै हुने गरेको छैन । जिल्लास्थित केही सरकारी कार्यालयका कार्यालय प्रमुख गाउँमा जाने र भाषण गर्नु बाहेक अन्य कुनै काम नभएको समेत स्थानीय बासिन्दाले बताएका छन् । बहुक्षेत्रीय पोषण कार्यक्रम नाम दिइए पनि नामअनुसारको काम नभई करोडौं रकम पचाउने  कार्य भइरहेको पाइएको छ ।
 

Source: http://www.karobardaily.com/news/78900