News

भक्तपुरबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

May 13, 2019

ईश्वोरकाजी खाइजू, अन्नपूर्ण पोष्ट, बैशाख ३०, २०७६ 

भक्तपुर : आन्तरिक राजस्व कार्यालय भक्तपुरले लक्ष्यभन्दा सात प्रतिशत बढी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा कार्यालयले लक्ष्यभन्दा सात प्रतिशत बढी राजस्व संकलन गरेको हो।

कार्यालयले चालु आर्थिक वर्षको फागुनसम्ममा दुई अर्ब १२ करोड ५१ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ तर लक्ष्य भने एक अर्ब ९७ करोड ७१ लाख ५३ हजार थियो।

फागुनसम्ममा ९८ करोड ८४ लाख ७७ हजार आयकर, तीन करोड ६१ लाख २१ हजार बहालकर, १४ करोड ११ लाख ११ हजार ब्याजकर र ६३ करोड, ७९ लाख ४० हजार रुपैयाँ मूल्यअभिवृद्धि कर (भ्याट) संकलन गरेको छ।

त्यस्तै ३० करोड ८२ लाख १५ हजार रुपैयाँ अन्तःशुल्क, ८० लाख १४ हजार स्वास्थ्यकर र ५२ लाख ९१ हजार रुपैयाँ शिक्षाकर संकलन भएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख कर अधिकृत सूर्यप्रसाद पोखरेलले अन्तःशुल्क भने लक्ष्यभन्दा ११२ प्रतिशत संकलन भएको जानकारी दिए। उनका अनुसार अन्तःशुल्कबाट १४ करोड ५३ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो तर ३० करोड ८२ लाख १५ हजार रुपैयाँ संकलन भएको उनको भनाइ थियो। यो लक्ष्यको २१२ प्रतिशत हो।

त्यस्तै भ्याट लक्ष्यभन्दा २३ प्रतिशत बढी संकलन भएको उनले बताए। ५१ करोड ८२ लाख ६६ हजार रुपैयाँ भ्याट संकलन गर्ने लक्ष्य थियो तर ६३ करोड ७९ लाख ४० हजार रुपैयाँ संकलन भएको उनले जानकारी दिए।

आयकर भने लक्ष्यभन्दा करिब ६ प्रतिशत कम संकलन भएको कार्यालयको तथ्यांकले देखाउँछ। दोस्रो चौमासिकसम्म एक अर्ब १७ करोड ८० लाख ७५ हजार आयकर संकलन गर्ने कार्यालयको लक्ष्य थियो तर यो घटेर ९८ करोड ८४ लाख ७७ हजार रुपैयाँमात्रै संकलन भएको छ।

कार्यालयका प्रमुख पोखरेलले लक्ष्य निर्धारणपछि कार्यालयअन्तर्गतका चार जिल्ला छुट्टिएर गएकाले आयकर संकलन कम भएको स्पष्टीकरण दिए।
कार्यालयबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई अलग्याइएको हुन्। 

भक्तपुरस्थित उक्त कार्यालयले गतवर्षसम्म काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको आन्तरिक राजस्वसमेत संकलन गर्दै आएको थियो।

‘भक्तपुरसहित पाँच जिल्लाको आन्तरिक राजस्व संकलन गर्न कार्यालयका ५० हजार बढी करदाता थिए’, कार्यालय प्रमुख पोखरेलले भने, ‘अहिले यो घटेर २० हजारमा कटौती भएको छ। करदाता घटेसँगै राजस्व संकलन पनि घटेको हो।’

तैपनि बाँकी चार महिनामा कार्यालयले आफ्नो लक्ष्य भेट्ने उनले बताए।

 स्रोत: http://annapurnapost.com/news/127189