News

भित्रिन थाले भेडाच्याङ्ग्रा

September 19, 2017

सन्तोष गौतम, कारोबार आर्थिक दैनिक, ०३ असोज २०७४ 

म्याग्दीः दसैं, तिहार, छठलगायत चाडपर्वका लागि मुस्ताङ्गी भेडाच्याङग्रा बजारमा भित्रिन थालेका छन् । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर भेडाच्याङ्ग्रा निकासी हुन थालेका हुन् । म्याग्दी, कास्की, बाग्लुङ, पर्वत, चितवन, काठमाडौंलगायत सहरी क्षेत्रमा भेडाच्याङ्ग्रा पुग्न थालेको हो ।

जोमसोमबाट हिँडाएर म्याग्दीको बेनीसम्म ल्याइएका भेडाच्याङ्ग्रा बेनीदेखि ट्रकमा राखेर बजारमा पु¥याउने गरिएको छ । भेडाच्याङग्रा खरिदका लागि विभिन्न ठाउँका ब्यापारी जोमसोम पुगेका छन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका कृषक भेडाच्याङ्गा बिक्रीका लागि जोमसोम आएका छन् । दसै तिहारको समयमा मासुका लागि भेडाच्याङ्ग्राको माग हुने गर्छ । बजारमा भेडाच्याङ्ग्रा आउन थालेपछि चाडपर्वको रौनक बढेको छ । 

हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादीलो मानिने भएकाले दसैं तिहारका बेला यसको खपत र बिक्री बढ्ने गरेको छ । मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर बेनी आइपुगेका काठमाडौंका सुरज क्षेत्रीले जोमसोममा एउटा भेडा (च्यालु)लाई १९ हजार र च्याङ्ग्रालाई २५ देखि ३२ हजार रुपैयाँसम्ममा खरिद बिक्री भइरहेको बताए । 

गत वर्ष एउटा भेडालाई १७ हजार र च्याङग्रालाई २२ देखि ३० हजारमा बिक्री भएको थियो । यस वर्ष मुस्ताङबाट करिब २० हजार भेडाच्याङ्गा निकासी हुने अनुमान गरिएको जिल्ला पशु सेवा कार्यालयका योजना अधिकृत आइतबहादुर थकालीले बताए । “यसपालि तिब्बतबाट भेडाच्याङग्रा आयात भएका छैनन्,” थकालीले भने, “सबै मुस्ताङका कृषकले पालेका भेडाच्याङ्ग्रा बजारमा पठाइँदै छ ।” 

भेडाच्याङ्गा खरिद गर्न खाद्य संस्थानको टोली जोमसोम पुगी सकेको छ । पशु सेवा कार्यालयका अनुसार गत वर्ष मुस्ताङबाट २७ करोड रुपैयाँबराबरका १३ हजार भेडा र ८ हजार च्याङ्ग्रा निकासी भएको थियो ।

स्रोत: 

https://www.karobardaily.com/news/82420