News

भूकम्पले विस्थापित २४ घरपरिवारलाई लालपूर्जा वितरण

March 07, 2018

सानुबाबु तिमल्सिना, नयाँ पत्रिका, फागुन २३, २०७४ 

उत्तरी धादिङको खनियाबास, रुविभ्याली गाउँपालिकाका विस्थापित भूकम्पपीडित २४ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०७२ बैशाख १२ को विनाशकारी भूकम्पको कारण आफ्नो थातथलो छाडेर विस्थापित भएका परिवारलाई जग्गा र लालपूर्जा वितरण गरिएको हो ।

नेपाल सरकारले जोखिम बस्ती र भूकम्प प्रभावित, जसको घर बनाउने सुरक्षित जग्गा नभएकालाई जग्गा किन्न बढीमा २ लाख रकम दिने निर्णय गरेको थियो । नेपाल सरकारले पहिलो चरणमा जग्गा किन्न दिइने २ लाख रकम पाउने सूचीमा २ सय जनाको नाम सार्वजनिक गरेको थियो । हालसम्म २ सय जना प्रभावित मध्ये २४ जना प्रभावितहरुले आवश्यक प्रक्रिया तथा मापदण्ड पुरा गरेपछि जग्गा किन्न २÷२ लाख रुपैँया रकम पाएका हुन् । भूकम्पले घर मात्र होइन घर बनाउने जग्गा समेत चिराचिरा भएर बस्नै नहुने अवस्थामा पुगेपछि उनीहरु विस्थापित भएका थिए ।

सरकारले उपलब्ध गराएको जग्गा किन्नको लागि २ लाख रुपैँया दिएपछि खनियाबास गाउँपालिका ४ की विस्थापित कामिस्या तामाङ खुसी भएकी छन् । भूकम्पपछि टहरामा बस्दै आइरहेकी कामिस्याको परिवार अब भने घर बनाएर बस्ने योजनामा छ । जग्गा पाएपछि सुरक्षित ठाउँमा घर बनाएर बस्छौँ ।’ कामिस्याले भनिन् । उनले ४ आना जग्गा पाएकी छन् । सरकारले आवास निर्माणका लागि अनुदान दिएको रकमले घर बनाउने कामिस्याको बताईन् ।

धादिङ जिल्लाको उत्तरी भेगको अति विकटमा पर्ने साविकका पाँच गाविस तिप्लिङ, सेर्तुङ, लापा, झार्लाङ, रि गाउँका ४७ बस्तीलाई तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न तत्कालिन सभासद्हरुको टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो । साविकका पाँच गाविसका विस्थापितलाई भूकम्पपछि बर्खायाममा पहिरोको जोखिम भएकाले तत्काल नै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको थियो । तिप्लिङ, शेर्तुङ, लापा, सेमजोङ लगायतका साविकका गाविसहरु करिव १० गाउँहरु भौगर्विक सर्वेक्षण भएको छ । तर केन्द्रिय प्राधिकरणबाट सो अध्ययनको नतिजा भने प्रकाशन हुन बाँकी रहेको छ । क्रमैसँग पीडितलाई घर बनाउन जग्गा र लालपूर्जा वितरण गरिने राष्ट्रिय पुननिर्माण प्राधिकरण धादिङका प्रमुख रविचन्द्र पञ्जियारले बताए ।

प्रभावितले जग्गा किन्न पाइने बढीमा २ लाख रकम पाउन श्रीमान् श्रीमतीको नाममा संयुक्त लालपुर्जा लिनुपर्ने हुन्छ । संयुक्त लालपुर्जा र लिखतको आधारमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले जग्गा विक्रि गर्ने धनीलाई बैङ्क खातामा चेक मार्फत रकम जम्मा गर्ने गरेको पञ्जियारले बताए । प्रभावितहरुको साविकको भन्दा अन्य ठाउँमा बस्न योग्य जग्गा जमिन नभएको वडा कार्यालय र गाउँपालिकाले प्रमाणित गरेपछि मात्र २ लाख रकम पाउन योग्य ठहरिएका हुन् ।

भूकम्प र पहिराका कारण उत्तरी धादिङका धेरैवटा बस्तिका वासिन्दा विस्थापित भएका थिए । उनीहरु धादिङबेसी आसपास शिविर खडा गरेर बसेका थिए । केहीले सदरमुकाममा नै डेरा लिएर बसेका छन् भने केही शिविरमा नै छन् । अब भने गाउँमै फर्किएर बस्ने विस्थापित भूकम्प पीडितको भनाई छ ।

स्रोत: www.enayapatrika.com/2018/03/07/29773/