भैरहवा सेजमा ११ उद्योगद्वारा सञ्चालन आवेदन

February 09, 2018

सरस्वती ढकाल-मनोरञ्जन शर्मा, कारोबार दैनिक, शुक्रवार, माघ २६, २०७४

काठमाडौं-भैरहवा-भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएका कम्पनीहरूमध्ये निर्धारित समयभित्र झन्डै आधामात्र सम्पर्कमा आएका छन् । उद्योग स्थापनाका लागि प्रारम्भिक सम्झौता गरेका १९ मध्ये ११ उद्योगले मात्र सम्झौताका लागि आवेदन दिएको विशेष आर्थिक क्षेत्र विकास समितिले जानकारी दिएको छ । अन्य उद्योगका लागि पुनः १५ दिनको समय दिएर सम्झौतामा आउन सूचित गरिने जनाइएको छ ।


समितिका अनुसार उद्योग सञ्चालनका लागि निर्धारण गरिएको पहिलो चरणको समयावधि बुधबार सएिको छ । सेजमा अन्य भौतिक पूर्वाधार निर्माण भए पनि लामो समयदेखि विद्युत्को सुनिश्चितता हुन नसक्दा उद्योगहरू अलमलमा छन् । प्राधिकरणले विद्युत् दिने ग्यारेन्टी गरेपछि भने सेज समितिले सूचना जारी गर्दै सञ्चालन सम्झौता गर्न उद्योगीहरूलाई आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक चण्डिका भट्टले शुक्रबार पुनः सूचना जारी गरी १५ दिनको समयअवधि थप्न लागिएको जानकारी दिए । “थपिएको समयभित्र सबै उद्योगले दर्ता नगरे नयाँ उद्योगका लागि पुनः प्रस्ताव आह्वान गरिनेछ भने पुरानो सम्झौता खारेज हुनेछ,” भट्टले भने । 
सेजभित्र सवै उद्योग सञ्चालनमा आउँदा ५ अर्ब रूपैयाँ लगानी हुने र २ हजारले प्रत्यक्ष रोजगारी पाउने उनले बताएका छन् । सम्झौता भएको सात दिनपछि सञ्चालन अनुमति सेज व्यवस्थापन दिने भन्दै त्यसपछि उद्योग सञ्चालनमा जाने उनले बताएका छन् । सम्झौता भएपछि सेजमा सञ्चालन हुने उद्योगले प्रतिबर्गफिट २० रूपैयाँका दरले भाडा तिर्नुपर्छ । बढ्दो व्यापारघाटालाई सेज ऐनले केही हदसम्म भए पनि सहयोग पुयाउने अपेक्षा गरिएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकामा ५२ विघा क्षेत्रफलमा रहेको सेजमा १४ सयदेखि ३७ सय बर्गमिटरसम्मका ६९ ओटा प्लट छन् । त्यसमध्ये उद्योग सञ्चालन र उद्योग स्थापनाका लागि ‘एमओयू’ गरेका १९ ओटा उद्योगले ५९ ओटा प्लटको माग गरेकोमा ११ वटा उद्योग मात्रै आवेदन दिएमा उनीहरूको ३० वटा प्लट अर्थात ७० हजार बर्गमिटर क्षेत्रफल प्रयोग हुनेछ । 
समितिका प्रवक्ता सुन्दर थापाले केही नयाँ उद्योगले चासो देखाएको जानकारी दिएका छन् । पहिले समझदारी भएका उद्योगहरू पनि थप गरेको समयभित्र सञ्चालन आवदेन दिन आउनसक्ने भन्दै नआएको अवस्थामा नयाँ प्रक्रिया सुरु हुने उनले बताए । समझदारी भएर पनि सञ्चालन सम्झौतामा नआएका बाँकी ८ वटा उद्योगहरूले ३० देखी ३५ वटा प्लट लिएका छन् । अहिले पञ्चकन्या लगायतका उद्योगले धेरै प्लट मागेकोले सेजमा उद्योगीहरूको आर्कषण भएको प्रवक्ता थापा बताउँछन । उनले सेजभित्र खाद्यउद्योग, कृषिजन्य, हर्बल प्रोडक्ट, छालाको वस्तु, तयारी पोसाक, हस्तकला, धातु तथा प्लास्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने बताए । ती उद्योगले ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने प्रावधान छ ।
हाल उद्योग सञ्चालनको अनुमतिका लागि निवेदन नबुझाउने कम्पनीमा जगदम्बा, गोल्छा, अरुणखोला वहुउद्देश्यीय सहकारी, चेतनशील मल्टिपर्पाेजलगायत रहेका छन् । 
सेजमा उद्योग स्थापनाका लाण्गि अनुमति माग गरेका सिद्धार्थ गु्रपका निर्देशक राजेशकुमार अग्रवालले आफूहरू निकै उत्साहित रहेको भन्दै छिटोभन्दा छिटो सेजभित्र आवश्यकताअनुसारको विद्युत् उपलब्ध गराउन आग्रह गरे । उद्योगीहरूको करोडौं लगानी हुने र देशकै पाइलट प्रोजेक्टका रूपमा भैरहवा सेज रहेकाले जसरी भए पनि यसलाई सफल बनाउनुपर्ने अग्रवालको भनाइ छ । प्राधिकरण भैरहवाका प्रमुख मुनिन्द्र ठाकुरले सेजभित्र सवस्टेसन छिटै नै बन्ने जानकारी दिए । तत्काल दुई मेगावाट र चैतभित्र १० मेगावाट विद्युत् सेजमा दिन सकिने ठाकुरले बताए ।

सञ्चालन सम्झौताका लागि आवेदन दिएका उद्योग 
–सुगम नानो हर्बल 
–आईडीएस इलेक्ट्रिकल 
–इन्टरटेक प्रालि
–मिनरल वाटर इन्डष्ट्रिज
–किरण सुज 
–एक्सिलेट गार्मेन्ट 
–ट्रान्स हिमालयन बेभरेज
–गार्मेन्ट प्रोसेसिङ इन्डष्ट्रिज
–सिद्धार्थ पेट प्लाष्ट (क्लोजरएण्ड क्लोजर)
–सिद्धार्थ प्लाष्ट (पीभीसी म्याट)
–एक्सन पोलिमोर 
स्रोत–विशेष आर्थिक क्षेत्र विकास समिति

 

स्रोत: karobardaily.com/news/corporate/2250

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More