सुर्यप्रसाद पाण्डे, अन्नपुर्ण पोस्ट, २९ भाद्र २०७४
काठमाडौं : सहर तथा ग्रामीण भेगमा खुलेका मन्टेश्वरी (पूर्वप्राथमिक विद्यालय) सञ्चालकले विद्यालय रहेको स्थानबाट अधिकतम ३० मिनेटसम्मको पैदल दूरीभन्दा टाढाबाट विद्यार्थी ओसारपसार गर्न नपाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको पूर्वप्राथमिक विद्यालय सञ्चालनसम्बन्धी निर्देशिकामा यस्तो व्यवस्था गरिएको छ । पूर्व प्राथमिक विद्यालयमा पढाइ सुरु भएको वर्षौंपछि पहिलो पटक मन्त्रालयले निर्देशिकाको खाका तयार गरेर सरोकारवालासँग छलफल गरिरहेको छ ।
निर्देशिकाको खाका बनाएर संघीयले शिक्षा मन्त्रालयम राय सुझावका लागि पठाएको छ । मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले भने, ‘यो सुधार्नुपर्ने विषय हो । ढिलै भए पनि नियमन हुन लागेको छ । यसमा शिक्षा मन्त्रालय सँगसँगै जान्छ ।' यसअघि वडा कार्यालयबाट स्वीकृति लिएर मन्टेश्वरी सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था रहे पनि यस्ता विद्यालयको भौतिक संरचना, त्यहाँ पढाउने शिक्षकका तालिम तथा वरपरका वातावरणलगायत विषयमा प्रभावकारी अनुगमन हुन सकेको थिएन । नीतिगत रूपमै प्रभावकारी व्यवस्था हुन नसक्दा गल्ली-गल्लीमा मन्टेश्वरी स्थापना गरिएको र बालबालिकाको स्वास्थ्य तथा सुरक्षामा सरकारले चासो दिन नसकेको गुनासा आउने गरेको थियो ।
तीस मिनेटभन्दा टाढाको दूरीबाट विद्यार्थी ल्याउन नपाइने
प्रतिबालबालिका दुई वर्गकिलोमिटर बराबराको कोठा हुनुपर्ने
भवनको जमिनमा दुई तिहाइ भाग खुला हुनुपर्ने प्राचार्य कम्तीमा कक्षा १२ उत्तीर्ण हुनुपर्ने
अनुगमन तथा मूल्यांकन समिति हुनुपर्ने ।
निर्देशिकामा मन्टेश्वरीम प्रति बालबालिका दुई वर्गकिलोमिटर क्षेत्रफल बराबरको कोठा हुनुपर्ने, आठ फिट उचाइ भएको कोठा र मन्टेश्वरी सञ्चालन भएको घर चारैतिर खुला तथा अन्य घरसँग नजोडिएको हुनुपर्ने, तीन वर्षमुनिका बालबालिकाका लागि भुइँ तला, चार÷पाँच वर्षमुनिका बालबालिकालाई पहिलो तला तथा ६ र सात वर्षका बालबालिकालाई दोस्रो तलासम्मको हुनुपर्ने उल्लेख छ ।
भवनले ओगटेको जमिनको दुई तिहाइ जमिनको भाग खुला हुनुपर्ने, विद्यालयमा काम गर्ने जनशक्तिमा प्राचार्य कम्तीमा कक्षा १२ उत्तीर्ण गरी १६ दिन तालिम गरेको हुनुपर्ने, अन्य शिक्षक एसईई उत्तीर्ण गरी पाँच दिनको तालिम लिएको हुनुपर्नेछ । सहजकर्ता कम्तीमा १० कक्षा उत्तीर्ण गरी पाँच दिन तालिम गरेको हुनुपर्ने र यस्ता जनशक्तिलाई नियुक्तिपत्र र न्यूनतम तलब-सुविधा दिनुपर्ने निर्देशिकामा छ ।
मन्टेश्वरीमा एक÷एकजना शिक्षक र सहजकर्ताले तीन वर्षमुनिका बालबालिकाका लागि ६, तीनदेखि चार वर्षसम्मका बालबालिकाका १२ जना, चारदेखि पाँच वर्ष उमेर समूहका बालबालिका १५ जना र पाँचदेखि सात वर्ष उमेर समूहका छन् भने २५ जना बालबालिकाको मात्र हेरचाह गर्नुपर्नेछ । अबदेखि मन्टेश्वरी सञ्चालन गर्नुभन्दा चार महिनाअघि नै स्थानीय निकायमा निवेदन दिनुपर्ने र अनुमतिपछि मात्र सञ्चालन गर्नुपर्ने निर्देशिकाले समेटेको छ ।
हाल मुलुकभर प्रारम्भिक बाल विकास केन्द्रको नाममा ३५ हजार संस्था सञ्चालनमा छन् । प्रवक्ता लम्सालले भने, ‘अहिलेसम्म अनुमति र दर्ताको सामान्य व्यवस्था मात्र थियो । अब धेरै अधिकार स्थानीय निकायमा समेत गएको हुनाले निर्देशिकाबमोजिम नियमन हुन्छ । यहाँ उल्लेख गरिएको व्यवस्था कार्यान्वयनमा आउँछ ।'
स्रोत: