News

राजस्व संकलन, लक्ष्यभन्दा २७ अर्ब कम

January 22, 2019

पवन तिमिल्सिना, अन्नपूर्ण पोष्ट, ०८ माघ २०७५ 

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यको ९४ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। जुन लक्ष्यभन्दा २७ अर्ब १२ करोड रुपैयाँ कम हो। सरकारले पहिलो ६ महिनामा चार खर्ब २९ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चार खर्ब दुई अर्ब ४५ करोड रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। चालु आवको पुस मसान्तसम्म राजस्वको लक्ष्य चार खर्ब २९ अर्ब ५८ करोड रुपैयाँ थियो।

पुस महिनामै लक्ष्यअनुरूप राजस्व संकलन नभएको पाइएको छ। पुसमा राजस्व ९५ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ। लक्ष्य एक खर्ब १२ अर्ब ९४ करोड रुपैयाँ थियो। यो महिनामा १७ अर्ब ७२ करोड कम राजस्व संकलन भएको हो।

राजस्व संकलन लक्ष्यअनुसार नदेखाएपछि अर्थ मन्त्रालय विश्लेषणभन्दा तथ्यांक मिलानतर्फ केन्द्रित देखिएको छ। पुसको अन्तिम दिन हिसाब मिलान गर्न बाँकी रहेकाले राजस्वको यकिन प्रतिवेदन तयार नभएको भन्दै महालेखा नियन्त्रकको कार्यालयले अर्थ मन्त्रालयको बचाऊ गरेको छ।

महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले पुसको अन्तिम दिनको राजस्व दाखिलाको विवरण संकलन हुन बाँकी रहेको बताए। उनले भने, ‘अन्तिम दिनसम्म कारोबारको चाप थियो। त्यसैले करिब ३५ सयको हाराहारीमा भौचर अपडेट गर्न पाइएन। मंगलबारसम्म हामी यथार्थ विवरण सार्वजनिक गर्नेछौं।’

महालेखा नियन्त्रकको कार्यालयले अर्धवार्षिक प्रतिवेदन पुस मसान्तमै तयार पारेको थियो। मसान्तपछि राजस्व संकलनको विवरण तयार पार्न पाँच दिनसम्म समयावधि हुन्छ। तर महिना मरेको सात दिन बितीसक्दा पनि विवरण संकलनमै जुटिरहेको सरकारी अधिकारीहरू बताउँछन्।

राजस्वमा वृद्धि

अर्ध वार्षिक राजस्वको लक्ष्य नभेटे पनि गत आवको तुलनामा यो वर्ष राजस्व भने बढेको हो। गत वर्षको पहिलो ६ महिनाको तुलनामा यस अवधिमा राजस्व २६.०८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

गत आवको तुलनामा ८३ अर्ब २५ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा यस अवधिमा तीन खर्ब १९ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष चार अर्ब दुई अर्ब ४५ करोड रुपैयाँ संकलन भएको मन्त्रालयको तथ्यांक छ।

भन्सार महसुल ९८ प्रतिशत 

चालु आवमा भन्सार महसुल लक्ष्यको तुलनामा ९८ प्रतिशत संकलन भएको छ। मन्त्रालयको तथ्यांकअनुसार पुससम्म भन्सार महसुल ७९ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ। भन्सारतर्फ ८१ अर्ब ३८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। भन्सार महसुलअन्तर्गत पैठारी, निकासी, पूर्वाधार कर, भन्सारको अन्य आय र कृषि सुधार शुल्क उठाउने गरिएको छ।

अपेक्षाकृत रूपमा निकासी नबढ्दा भन्सार महसुल कम उठेको तथ्यांकले देखाएको छ। ६ महिनामा निकासीबापतको राजस्व लक्ष्यको १५ प्रतिशत मात्रै छ। पुस महिनामा मात्रै लक्ष्यको ५ प्रतिशत निकासीबापतको राजस्व उठाएको छ। पुससम्म निकासीबाट सरकारले ११ करोड ७१ लाख रुपैयाँ संकलन भएको छ। जबकी लक्ष्य भने ७६ करोड ७० लाख रुपैयाँ राखिएको मन्त्रालयले जानकारी दिएको छ।

 मूल्य अभिवृद्धि करमा कमजोर 

चालु आवको ६ महिनामा मूल्य अभिवृद्धि कर ‐भ्याट) संकलन लक्ष्यको ८९ प्रतिशत मात्रै छ। यो अन्य शीर्षकको तुलनामा भ्याट न्यून पाइएको हो।

यस अवधिमा भ्याट एक खर्ब १७ अर्ब १० करोड रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको तुलनामा १४ अर्ब ३८ करोड रुपैयाँ कम हो। अर्थ मन्त्रालयले भ्याटको लक्ष्य एक खर्ब ३१ अर्ब ४८ करोड रुपैयाँ राखेको थियो। भ्याटअन्तर्गत उत्पादन, बिक्री, सेवा र पैठारीबाट राजस्व संकलन हुने गरेको छ। भ्याट संकलनमा उत्पादन, बिक्री र सेवा क्षेत्रको योगदान कम देखिएको छ। यी क्षेत्रबाट लक्ष्यभन्दा ८६ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। जबकी पैठारीबाट लक्ष्यको ९१ प्रतिशत भ्याट संकलन भएको छ।

अन्तः शूल्कले लक्ष्य नाघ्यो 

यस अवधिमा अन्तः शुल्क लक्ष्यको एक सय एक प्रतिशत उठेको छ। लक्ष्यभन्दा ८० करोड ३१ लाख रुपैयाँ बढी अन्तः शूल्क उठेको मन्त्रालयको तथ्यांक छ।

पुससम्म अन्तः शुल्क ६१ अर्ब ५० करोड रुपैयाँ उठेको छ। जबकी लक्ष्य ६० अर्ब ७० करोड राखिएको थियो।

आयकर ८४ प्रतिशत 

आयकर लक्ष्यको ८४ प्रतिशत संकलन भएको तथ्यांकले देखाएको छ। जसअनुसार ८६ अर्ब ४२ करोड रुपैयाँ आयकर संकलन भएको हो।

आयकरअन्तर्गत ब्याजकर भने लक्ष्यभन्दा माथि छ। तथ्यांकअनुसार ब्याजकर एक सय १० प्रतिशत उठेको हो।

जम्मा कर ९३ प्रतिशत 

यस अवधिमा करअन्तर्गतको राजस्व लक्ष्यको ९३ प्रतिशत संकलन भएको छ। समग्रमा कर तीन खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ।

गैरकर ९७ प्रतिशत

गैरकरतर्फ ४२ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको ९७ प्रतिशत हो। चालु आवको ६ महिनाको गैरकर ४३ अर्ब ९५ करोड संकलन गर्ने अर्थ मन्त्रालयको लक्ष्य थियो।

सोर्त: http://annapurnapost.com/news/118359