News

रुप फेर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

December 20, 2018

विश्वास रेग्मी, गोरखापत्र, ०५ पुष २०७५ 

काठमाडौँ: ट्याक्सी चालकको तछाडमछाड, आगमन र प्रस्थान कक्षमा अत्यधिक भीडभाड, फोहोर शौचालय, बस्न नपाएर भुइँमै पल्टिएका यात्रुहरू । देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रियतर्फको टर्मिनल र त्यसको वरिपरिका केहीअघिका दृश्य हुन् यी । विगत एक महिना आसपासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छैन भने विगतको त्यो परिवेशभन्दा अब पक्कै फरक अनुभव गर्न सक्नु हुन्छ ।

 
विमानस्थल प्रवेश गर्ने र बाहिरिने सवारीका कारण प्रायः जाम रहने मुख्य प्रवेशद्वार अघिको सडक अहिले केही खुला देखिन्छ । विमानस्थल प्रवेशका लागि निर्माण गरिएको मुख्यद्वार (गोल्डेन गेट)बाट अब प्रवेश मात्र गर्न पाइनेछ । विमानस्थल पुगेर फर्किएका सवारी त्यही मुख्यद्वार हुँदै अब फर्किन पाउने छैनन् । यात्रु छाड्नका लागि अन्तर्राष्ट्रिय टर्मिनल अघि पुगेका जुनसुकै सवारी तुरुन्त विमानस्थलको नवनिर्मित ट्याक्सी पार्किङ क्षेत्रबाट बाहिरिनुपर्नेछ । 
टर्मिनलअघि प्रायः भरिभराउ देखिने ट्याक्सीको भीड अहिले देखिँदैन । यद्यपि विमानस्थलले बढीमा १० ओटा ट्याक्सी भने त्यहाँ राख्न सक्ने सुविधा दिएको छ । यसबाहेक त्यतिकै सङ्ख्यामा हरियो प्लेटसहितका विमानस्थल ट्याक्सी त्यहाँ रहन्छन् । विदेशबाट आएका यात्रुको सहजताका लागि थोरै सङ्ख्यामा भए पनि तत्काल राख्ने सुविधा दिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । बढीमा २० ओटा मात्र ट्याक्सी राख्न पाउने भए पनि टर्मिनल अगाडिको क्षेत्र अहिले केही खुला देखिन्छ ।

वैशाखपछि भने ती ट्याक्सी पनि त्यहाँ रहन पाउने छैनन् । निर्माणको चरणमा रहेको आगमन कक्षबाट सीधै नयाँ पार्किङ क्षेत्रमा पुग्न सकिने क्षेत्रीले जानकारी दिनुभयो । ‘आगन्तुक यात्रुले एकैपटक लगेजसहित पार्किङ क्षेत्रबाट ट्याक्सी प्रयोग गर्न सक्छन्’ उहाँले भन्नुभयो । ट्याक्सीको चाप घट्दा विमानस्थलको बाइक पार्किङ क्षेत्र पनि केही खुला भएको छ । यसअघि पार्किङ क्षेत्रतर्फ रहेका व्यावसायिक विज्ञापनसहित होर्डिङ बोर्ड कम भएका छन् । यसले काठमाडौँको फराकिलो दृश्य पनि देखिने भएको छ । 
अन्तर्राष्ट्रिय विमानस्थलबारे यात्रुको सबैभन्दा ठूलो गुनासो त्यहाँको शौचालयको सरसफाइबारे रहन्थ्यो । पछिल्लो समय त्यो गुनासो सम्बोधन गर्न आवश्यकता अनुसार शौचालयलाई नै भनेर कर्मचारी खटाएर राखिएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिनुभयो । 
‘कार्यालय प्रवेश पछिको मेरो दैनिकी आजकल शौचालयको अवस्था बुझेर नै शुरु हुन थालेको छ’ उहाँले भन्नुभयो । टर्मिनलभित्रका विमान कम्पनीका काउन्टर अघिको चाप केही घटेको छ तर, त्यो उल्लेख्य भने छैन । वैशाखपछि काउन्टर अघिको चाप घट्ने उहाँले बताउनुभयो । 
टर्मिनल भवनको दोस्रो तलामा सुरक्षा अध्यागमनको प्रक्रिया पार गरेर सुरक्षा चाँज हुनुअघिको खाली ठाउँमा हालै नयाँ कार्पेट बिछ्याइएको छ । ड्युटी फ्रि पसलअघिको उक्त स्थानमा नयाँ कार्पेटले सौन्दर्य थपेको छ । विमान चढ्नुअघि बोर्डिङ प्रक्रियाको प्रतीक्षामा रहँदा यात्रुहरूले बस्ने सिट नपाएर उभिनुपर्ने बाध्यता अहिले हटेको छ । त्यस क्षेत्रमा हालै मात्र दुई सयओटा नयाँ सिट थपिएको छ । विमानस्थलले केही समयअघि मात्रै यस्ता एक हजार सिट ल्याएर आवश्यक ठाउँमा व्यवस्था गरेको क्षेत्रीले जानकारी दिनुभयो । 
आगमन कक्षमा पनि केही परिवर्तन देखिएको छ । नेपाल भित्रने विदेशी पर्यटकलाई अनलाइनबाटै भिसा आवेदन गर्नसकिने व्यवस्था गरिएको छ । आधा दर्जन मेसिन त्यसका लागि राखिएका छन् । सन् २०२० को भ्रमण वर्षलाई लक्षित गर्दै नेपालतर्फको अध्यागमन कक्ष पछाडिको क्षेत्रमा ‘सेल्फी पोइन्ट’ र केही तस्बिर राखिएको छ । 
नेपाल भित्रने पर्यटक त्यस क्षेत्रमा तस्बिर लिइरहेका भेटिन्छन् । विमानस्थल भन्सार आसपासका क्षेत्रमा पनि केही पर्यटकीय तस्बिर राखिएका छन् । टर्मिनल भवन भित्रका व्यावसायिक विज्ञापनसहितका बोर्डमा नेपालको कला संस्कृति झल्काउने तस्बिर देखिन्छन् तर त्यही तस्बिरकै छेउमा विज्ञापनका लागि ठाउँ खाली राखिएको सूचना भने राख्न छाडिएको छैन ।

बुटिङ विमानस्थलको सोच
विमानस्थलको हाल उपलब्ध रहेकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच रहेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो । नेपालमा मनाइने चाडपर्व अनुसार पर्यटक भित्रनासाथ त्यही किसिमको संस्कृति पस्किने तयारी रहेको उहाँले जानकारी दिनुभयो । ‘दशैंको समयमा हामीले भित्तामा राखेका चङ्गाको बारेमा पनि पर्यटकहरू जानकारी लिन उत्साही देखिए’ उहाँले भन्नुभयो ‘अझ धेरै संस्कृति झल्काउने प्रस्तुति दिनसके नेपालबारे जानकारी फैलाउन सकिन्छ’ । यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने वस्तु तस्बिर, काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रुप दिने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

हेलिकप्टरलाई छुट्टै टर्मिनल
हेलिकप्टर यात्रुका लागि विमानस्थलको पेप्सीकोला क्षेत्रतर्फ छुट्टै टर्मिनल निर्माण गरिने भएको छ । करिब दुई वर्षभित्र सम्पन्न गर्ने गरी सोही क्षेत्रबाट उडान अवतरण गराइने महाप्रबन्धक क्षेत्रीले बताउनुभयो । ‘त्यसपछि हवाई यात्रुहरूको प्रवेश पनि पेप्सीकोलातर्फको गेटबाटै हुनेछ’ उहाँले भन्नुभयो ।

सोर्त: http://gorkhapatraonline.com/news/63645