News

विभिन्न देशका शिक्षाविद काठमाडौंमा, शिक्षा क्षेत्रको विकासमा सहयोग पुग्ने ओलीको विश्वास

February 23, 2018

आर्थिक अभियान, फागुन ११, २०७४

काठमाडौं (अस) । शिक्षा क्षेत्रका विविध आयामहरुको बारेमा छलफल गर्न विभिन्न देशका विज्ञहरु राजधानीमा आएका छन् ।

उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले आयोजना गरेको ‘सङ्घीय नेपालमा गुणस्तरीय शिक्षा’ विषयक अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका, बेलायत, भारत, थाइल्याण्डलगायतका विभिन्न १६ देशका विज्ञहरु नेपाल आएका हुन् ।

शुक्रवारदेखि शुरु भएको उक्त सम्मेलनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अब द्रुत गतिमा दिगो विकास गर्नु आवश्यक रहेको बताउँदै देश तथा विदेशका अनुभवी विद्वानहरुको सहभागितामा आयोजित यो सम्मेलन अर्थपूर्ण हुने विश्वास आफूले लिएको बताए ।

‘देश एउटा युगबाट अर्को युगमा प्रवेश गरेको छ,’ उनले भने, ‘यस क्रममा पहिले नै सङ्घीय व्यवस्थाको अभ्यास भैसकेको देशका प्रतिनिधिहरुबाट आउने विचार तथा अनुभवले हामीलाई पनि शिक्षाको क्षेत्रमा प्रभावकारी कदम चाल्न सहयोग हुने विश्वास लिएको छु ।’ प्रधानमन्त्री ओलीले सम्मेलनबाट अब शिक्षामा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा आफूले उपयुक्त सुझावको अपेक्षा गरेको बताए ।

मुलुकको परिवर्तित संरचनाअनुकूल शिक्षा प्रणालीको व्यवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलनको आयोजना गरेको हिसानले बताएको छ ।

शनिवारसम्म चल्ने दुई दिने सम्मेलन ‘टिचिङ एण्ड लर्निङ, रिसर्च एण्ड स्कलरशिप र सोसियल एण्ड ग्लोबल इङ्गेजमेण्ट’ विषयमा केन्द्रीत हुने बताइएको छ । सम्मेलनमा सहभागी नेपालका नौ ओटै विश्वविद्यालय, शिक्षा नीति निर्माता, शिक्षाका उच्चपदस्थ अधिकारीका साथै अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन, क्यानडा, नेदरल्याण्ड, स्पेन, बङ्गलादेश, भारत, भियतनाम, मलेशिया, थाइल्याण्डलगायत देशका विज्ञले विषयगत कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनले शिक्षा विकासका विश्वका अनुभव तथा मान्यताको अवलोकन र समीक्षा गरी नेपाली माटो सुहाउँदो शिक्षा नीति निर्माणमा सहयोग गर्ने अपेक्षा राखिएको छ ।

स्रोत: www.abhiyan.com.np/2018/02/23/182824