News

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५४ प्रतिशत पास

March 12, 2018

नयाँ पत्रिका, फागुन २८, २०७४ 

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५४ प्रतिशत डाक्टर पास भएका छन् ।

काउन्सिलले २६ फागुन (शनिबार)मा लिएको परीक्षामा ४६ प्रतिशत डाक्टर फेल हुँदा विशेषज्ञताको लाइसेन्स लिनबाट वञ्चित भएका छन् ।

फेल हुने अधिकांश डाक्टर विदेशमा अध्ययन गरेका छन् । काउन्सिलले विशेषज्ञ चिकित्सकका रूपमा काम गर्न अनुमति दिन वर्षमा चारपटक विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा गराउँदै आएको छ ।

‘यसअघि ७० प्रतिशत डाक्टर विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा पास भएका थिए’, मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने, ‘यसपटक ५४ दशमलव ४ प्रतिशत डाक्टर मात्रै पास भए ।

यो संख्या अत्यन्तै न्यून हो ।’ चार महिनाको अवधिमा १६ प्रतिशतले पासदरमा कमी आउनुलाई गम्भीर रूपमा लिएको काउन्सिलले जनाएको छ ।

चिकित्सा क्षेत्रमा देखिएको बन्दहडताल आन्दोलनको प्रत्यक्ष प्रभाव रिजल्टमा परेको हुन सक्ने काउन्सिलको अनुमान छ ।

डा. शर्माका अनुसार यसपटकको परीक्षामा ३९ विधामा डाक्टरहरूले परीक्षा दिएका थिए । ३ सय २२ जनाले परीक्षा फारम भरे पनि चारजना अनुपस्थित थिए । ३ सय १८ जना डाक्टरले परीक्षा दिएकोमा १ सय ७३ जना मात्रै पास भएको डा. शर्माले बताए ।

स्रोत: www.enayapatrika.com/2018/03/12/30889/