वैदेशिक रोजगारी बचतपत्रमा लगानीको अवसर

February 07, 2018

यादव हुमागाई, कारोबार दैनिक, बुधवार, माघ २४, २०७४

रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपालीका लागि सुरक्षित लगानी गर्ने अवसर फेरि आएको छ । नेपाल राष्ट्र बैंकले आगामी फागुनमा २५ करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्न लागेको छ । 
वार्षिक १० प्रतिशत व्याजदर रहेको बचतपत्र २०७४ फागुन २८ गतेबाट ५ वर्षका लागि जारी हुनेछ । बचतपत्र खरिद गर्न चाहने सर्वसाधारणले फागुन ३ गतेदेखि २३ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली र गैरआवासीय नेपालीका साथै तिनका परिवारले एजेन्टमार्फत बचतपत्रका लागि आवेदन दिन पाउनेछन् । न्यूनतम ५ हजारदेखि लगानी गर्न सकिने बचतपत्र धितो राखी कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत सकिन्छ । 


अहिले वाणिज्य बैंकहरूमा रहेको व्याजदरको तुलनामा बचतपत्रको व्याजदर केही कम छ । तर, बजारको उतारचढावसँगै बैंकहरूको व्याजदर घट्ने भएकाले बचतपत्रको लगानी राम्रो र सुरक्षित हुने राष्ट्र बैंकका अधिकारीहरू नै बताउँछन् । 
वैदेशिक रोजगार बचतपत्र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आकर्षक र सुरक्षित लगानीको अवसर हो । यो बचतपत्र नेपाल सरकारको प्रमिसनरी नोट भएकाले यसमा गरिएको लगानी शतप्रतिशत सुरक्षित मानिन्छ । 
विदेशबाट प्राप्त हुने रेमिट्यान्सलाई बचत गर्ने र उत्पादनशिल क्षेत्रमा खर्च गर्ने योजनाअनुसार सरकारले बचतपत्र कार्यक्रम ल्याएको हो । “रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा खर्च गर्नपर्छ भनेर सरकारले बचतपत्रको कार्यक्रम ल्याएको हो,” राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी भन्छन्, “यसबाट विदेशमा रहेका नेपाली कामदारलाई आफ्नो बचत सुरक्षित लगानी गर्ने अवसर दिएको छ ।”

कहाँबाट किन्ने ?
बचतपत्र खरिदका लागि नेपालमा १३ वटा र विदेशमा ६ वटा बिक्री एजेन्ट तोकिएका छन् । सबै कामदारको पहुँचमा पुग्ने गरी बिक्रीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । 
राष्ट्र बैंकका नेपालमा अनुसार नेपालमा सिटिजन्स् इन्टरनेशनल, एनएमबी, नबिल, माछापुच्छ«े, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा, सेञ्चुरी कमर्शियल बैंकका साथै प्रभु मनी ट्रान्सफर, सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई र सेवा रेमिटबाट सर्वसाधारणले आवेदन बुझाउन सक्नेछन् ।
यसैगरी नेपालबाहिर कतार, मलेसिया, अमेरिका, भारत, साउदी अरब, यूएई, जापान, कोरिया, बहराइन, अष्ट्रेलिया, यूकेलगायत देशमा ८ वटा विक्री एजेण्ट तोकिएका छन् । बिक्री एजेन्टहरूले पनि यी देशका मुख्य शहरमा आफ्नो प्रतिनिधि तोकेर आवेदन संकलन गर्ने व्यवस्था मिलाइएको छ । 
विदेशमा आईएमई, सिटी एक्सप्रेस मनि ट्रान्सफर, प्रभु बैंक, प्रभु मनि ट्रान्सफर, सेञ्चुरी कमर्शियल बैंक, सनराइज बैंकका कार्यालय तथा एजेन्टमार्फत आवेदन बुझाउने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

बिक्री भने कम 
सरकारले विगत ८ वर्षदेखि नियमित रूपमा वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको छ । सरकारको वार्षिक कार्यक्रमअनुसार नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष बचतपत्र निश्कासन गर्दै आएपनि न्यूनमात्र बिक्री हुने गरेको छ । 
सरकारले आर्थिक वर्ष २०६६/०६७ देखि बचतपत्रको अवधारणा सुरु गरेको थियो । त्यसयता १४ वटा योजनामार्फत ११ अर्व ८ करोड ७९ लाख रुपैयाँ बराबरको बचतपत्र निश्कासन गरेपनि ५.१५ प्रतिशत अर्थात् ५७ करोड ३९ लाख रुपैयाँ बराबरको मात्र बचतपत्र बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । 
केन्द्रीय बैंकले पहिलोपटक २०६६/०६७ मा १ अर्ब रुपैयाँको बचतपत्र निष्काशन गरेकोमा त्यसको ०.४० प्रतिशत अर्थात् ४० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो । त्यसयता केही वर्ष बचतपत्रको बिक्रीमा वृद्धि देखिएपनि गत वर्षदेखि बिक्रीदर पुनः ओरालो लागेको छ । 
हालसम्म सबैभन्दा बढी बचतपत्र बिक्री २०७३ असारमा जारी भएको २०७८ ‘क’ भएको छ । उक्त समयमा ३३ करोड ७९ लाख बराबरको बचतपत्र जारी भएकोमा ११ करोड २४ लाख बराबरको बिक्री भएको थियो ।
बचतपत्र र यसबाट हुने फाइदाका बारेमा लक्षित वर्गसम्म प्रचारप्रसार गर्न नसक्दा यसको खरिदमा आकर्षण नदेखिएको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर सिवाकोटी स्विकार गर्छन् । “जसलाई लक्षित गरी बचतपत्र जारी ग¥यौं, ऊसम्म पुग्ने गरी प्रचारप्रसार गर्न सकेनौं,” उनले भने, “यसबाट बचतपत्रमा सर्वसाधारणको आकर्षण नभएको जस्तो देखियो ।”
बचतपत्र बिक्री बढाउनका लागि राष्ट्र बैंकले गत वर्ष कतार र दुवईमा प्रचारप्रसार समेत गरेको थियो । तर, यी कार्यक्रमहरू खासै उपलब्धीपूर्ण नभएको प्रचारप्रसार कार्यक्रमको नेतृत्व गरेका डेपुटी गर्भनर सिवाकोटी बताउँछन् । “हामीले गरेका कार्यक्रममा वास्तविक कामदारलाई ल्याउन सकेनौं,” उनले भने, “उपस्थित भएका सीमित व्यापारी वर्ग र विदेशमा राम्रै काम गरिरहेकालाई यसमा वास्ता छैन ।” 
राष्ट्र बैंकले ०७० मा ‘वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने कार्यविधि–०६७’ संशोधन गरेपछि बिक्रीमा बृद्धि देखिएको थियो । कार्यविधिमा विदेशमा काम गर्ने नेपालीले वैदेशिक मुद्रामा मात्र बचतपत्र किन्न सक्ने व्यवस्थाका कारण खासै आवेदन नपरेको र अहिले कार्यविधिमा संसोधन गरी नेपालबाट पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेको वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा परिवारका सदस्यले उक्त बचतपत्र खरिद गर्न पाउनेछन् । परिवारका बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीले बचतपत्र खरिद गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 
कार्यविधि संसोधनपछि ३३ प्रतिशतसम्म पुगेको बचतपत्र बिक्रीदर पुनः घटेर १ प्रतिशतभन्दा कम भइसकेको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आउनु, रेमिट्यान्स आप्रवाह समेत घट्नुले बचतपत्रमा समेत असर परेको शिवाकोटी दावी गर्छन् । “एकातिर रेमिट्यान्स वृद्धिदर घटेको छ, अर्कोतिर बचतपत्रमा पनि कम आवेदन पर्नुले अनौपचारिक कारोबार वृद्धि भएको आशंकालाई बलियो बनाउँछ,” उनले भने । 
वैदेशिक रोजगार बचतपत्रको बिक्री बढाउन श्रम, रोजगारका साथै एनआरएनलगायतका संघसंस्थाबीच सहकार्य जरुरी रहेको सिवाकोटीले औल्याए । “बचतपत्रको महत्व बुझाएर औपचारिक च्यानलबाट कारोबारमा प्रोत्साहन गर्न सबै सरोकारवाला निकायको सहकार्य जरुरी छ,” उनले भने, “वैदेशिक रोजगारीमा जाने युवालाई गर्ने अभिमुखीकरणदेखि नै यो विषयमा जानकारी दिनुपर्छ ।”
के हो वैदेशिक रोजगार बचतपत्र ? 
रोजगारीका लागि मुलुक बाहिर गएका वा रोजगारीबाट फर्केका नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपाली तथा उनीहरूका परिवारलाई बचतमा प्रोत्साहन गर्न बचतपत्रको अवधारणा ल्याइएको हो । वैदेशिक रोजगार बचतपत्र सम्बन्धी कार्यविधि–२०६९ मा नेपालीहरूले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरी राष्ट्र निर्माणका लागि पूँजी परिचालन गर्नका लागि समेत बचतपत्र प्रयोग गरिने उल्लेख छ । 
बचतपत्र नेपाली रुपैयामाँ जारी हुनेछ । बचतपत्रको किसिम स्टक र प्रमिसरी नोट दुवै हुन सक्नेछ । बचतपत्र खरिदकर्ताले बचतपत्रको किसिम स्टक र प्रमिसरी नोट कुन किसिमको खरिद गर्ने हो, सो स्पष्ट खुलाई आवेदन दिनुपर्ने कार्यबिधिमा उल्लेख छ । आवेदन फारममा उल्लेख भएको बचतपत्रको किसिम अनुसार प्रमाणपत्र दिइने जनाइएको छ । 
खरिदकर्ताले आफ्नो वा परिवारका सदस्यका नाममा खरिद गर्न सक्नेछन् । बचतपत्र दुई वा दुईभन्दा बढी व्यक्तिले संयुक्त नाममा पनि खरिद गर्न सक्नेछन् । यसरी दुई वा दुईभन्दा बढी व्यक्तिले बचतपत्र खरिद गर्दा दुई नाम बीचमा ‘र’ अथवा ‘वा’ राखी खरिद गर्न सकिने छ । दुई जनाले ‘र’ बाट बचतपत्र खरिद गर्दा दुवै व्यक्तिले संयुक्त रूपमा मात्र उक्त बचतपत्रको कारोबार गर्न सक्नेछन् भने ‘वा’ बाट बचतपत्र खरिद गर्दा दुईजना मध्ये एकजना व्याक्तिले मात्र पनि बचतपत्रको कारोबार गर्न सक्नेछन् । दुई व्यक्तिले खरीद गर्दा दरखास्त फारममा दुवै जनाको दस्तखत र आवश्यक कागजातको प्रतिलिपी पेश गर्नुपर्नेछ । बचतपत्र खरिद गर्न योग्य व्यक्तिले नाबालकको तर्पmबाट समेत संरक्षण भई बचतपत्र खरीद गर्न सक्नेछन् । यसरी बचतपत्र खरीद गर्दा संरक्षकले तोकिए बमोजिम कागजात पेश गर्नु पर्नेछ ।

आवश्यक कागजात 
बचतपत्रका लागि आवेदनकर्ताले आवेदनका साथ राहदानी, आफू कार्यरत रहेको मुलुको भिसा (भारत बाहेक अन्य मुलुकहरूमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र र २ प्रति फोटो आवश्यक हुनेछ । बचतपत्र खरीद प्रयोजनका लागि आपूmले आर्जन गरेको विदेशी मुद्रा औपचारिक माध्यमबाट नेपाल भित्र्याएको प्रमाणित हुने कागजात हुनु पर्नेछ । यसका लागि विदेशी मुद्रा सटही रसिद वा विदेशी मुद्रामा खाता रहेको भए सो खातामा विदेशी मुद्रा जम्मा गरेको भौचर वा बैंक स्टेटमेन्ट हुनु पर्नेछ । 
परिवारका सदस्यको नाममा खरीद गर्ने भए सो सदस्यको नागरिकता, नाता प्रमाणित प्रमाणपत्र तथा विदेशी मुद्रा सटही गरेको रसिद हुनु पर्नेछ । नाबालकको तर्पmबाट संरक्षक भई खरिद गर्न चाहने व्यक्तिले बचतपत्र खरिद गर्दा नाबालकको नाम र जन्ममिति खुलेको जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्नेछ । साथै आवेदन फारममा संरक्षकको हस्ताक्षर गरेको हुनु पर्नेछ । 
बचतपत्रको साँवा, व्याज भुक्तानी लिने वा धितो राखी कर्जा उपभोग गर्ने वा बचतपत्र बिक्री गरी रकम लिने वा भुक्तानी मितिपछि साँवा भुक्तानी लिने प्रयोजनका लागि कुनै व्यक्तिलाई इच्छाउने भएमा इच्छाएको व्यक्तिको नाम, थर, ठेगाना खुल्ने कागजात र नागरिकताको प्रतिलिपी हुनु पर्नेछ ।

स्रोत: www.karobardaily.com/news/employment/2189

Newsletter

Submit your details below to receive Newsletters

Newsletter