व्यापार घाटा उच्च बन्दै

December 02, 2017

राजेश बर्मा, अन्नपुर्ण पोस्ट, १६ मंसिर २०७४

काठमाडौं : चालू आर्थिक वर्ष वैदेशिक व्यापार घाटा उच्च हुने भएको छ। सरकारले गत आवको तुलनामा चालू आवमा ४४ अर्ब रुपैयाँबराबरको व्यापार घाटा बढ्ने अनुमान गरेको छ। वाणिज्य मन्त्रालयले हालै प्रधानमन्त्री कार्यालयलाई बुझाएको प्रतिवेदनमा यो उल्लेख छ। वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले चालू आवमा व्यापार घाटा नौ खर्ब ५६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको जानकारी दिए। आव २०७३/७४ मा नौ खर्ब १२ अर्ब रुपैयाँ व्यापार घाटा थियो।

नेपालमा ठूलो परिमाणमा आयात हुने इनर्जी ड्रिंक, सफ्ट ड्रिंक, सवारी साधन, इन्धन, विद्युत्का उपकरण, फर्निचर, अल्कोहलिक पेय पदार्थ, सूर्तीजन्य वस्तु, मोबाइल फोन, पहेंलो धातु, खाद्यान्न, दुग्धजन्य पदार्थ, मासु र तरकारीजन्य वस्तुलाई निरुत्साहित गरी व्यापार घाटा कम गर्न सकिने वाणिज्य मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई सुझाव दिएको छ।

व्यापार घाटा कम गर्न निर्यातजन्य प्रमुख १० वस्तुको निर्यातका लागि प्रोत्साहन गर्नुपर्नेछ। चिया, जडीबुटी, कफी, अलैंची, अदुवा, ऊनी गलैंचा, जुत्ता, च्यांग्रा पस्मिना, धागो, तयारी पोसाक, हस्तकला र तयारी चाउचाउको गुणस्तर कायम गरी निर्यातमा जोड दिनुपर्ने सचिव घिमिरेले जानकारी दिए।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १८.८७ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ। मन्त्रालयको तथ्यांकअनुसार पहिलो तीन महिनाको अवधिमा यो वर्ष दुई खर्ब ३९ अर्ब ७५ करोड एक लाख ३५ हजार मूल्यबराबरको व्यापार घाटा भएको छ। आव २०७३/७४ को पहिलो तीन महिनाको दुई खर्ब एक अर्ब ६९ करोड ८० लाख ९० हजार व्यापार घाटा भएको थियो।


सरकारले गत आवको तुलनामा चालू आवमा ४४ अर्ब रुपैयाँको व्यापार घाटा बढ्ने अनुमान गरेको छ।

यो वर्ष गत वर्षको तुलनामा करिब १८ प्रतिशतले आयात दरसमेत वृद्धि भएको छ। मन्त्रालयका अनुसार दुई खर्ब ६० अर्ब २० करोड ५२ लाख ९७ हजार मूल्यबराबरको सामान भारत र तेस्रो मुलुकबाट आयात भएको छ। गत आवको तीन महिनाको अवधिमा दुई खर्ब २० अर्ब ६० करोड २२ लाख ३४ हजार मूल्यबराबरको सामान आयात भएको थियो।

गत वर्षको तीन महिनाको तुलनामा यो वर्ष पहिलो तीन महिनामा १७.१८ प्रतिशतले वैदेशिक व्यापार बढेको छ। यसअनुसार यो वर्ष दुई खर्ब ८० अर्ब सात करोड ६६ करोड चार लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ। गत वर्षको तीन महिनामा भने दुई खर्ब ३९ अर्ब ५० करोड ६३ लाख ७८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो।

१४ औं योजनाले कुल ग्राहस्थ उत्पादनमा व्यापार घाटाको अनुपात ३० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो। यसअनुसार गत आवमा व्यापार घाटा सात खर्ब ८० अर्बको सीमामा रहनुपर्नेमा नौ खर्ब १२ अर्ब पुगेको थियो। कुल आयातमध्ये झण्डै ८४ प्रतिशत भारत, चीन, खाडी मुलुक, फ्रान्स र इण्डोनेसियाबाट हुन्छ।
 

मुख्य सचिव लोकदर्शन रेग्मीले व्यापार घाटा कम गर्न कार्ययोजना तयार गरी आगामी बैठकमा उपलब्ध गराउन वाणिज्य मन्त्रालयलाई आग्रह गरेका छन्। मन्त्रालयले व्यापार घाटा कम गर्न स्वेतपत्र जारी गर्नुपर्ने, निर्यातमा अनुदान प्याकेज ल्याउनुपर्ने, निकासी पैठारी नियन्त्रण ऐन २०१३ लाई संशोधन गर्नुपर्ने, पारवहनसम्बन्धी कोलकाता, हल्दिया र बिशाखापट्टनम बन्दरगाहका समस्या समाधान गर्नुपर्ने निश्कर्षसहितको सुझाव दिएको छ। यस्तै चीनतर्फको पारवहन सन्धिसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने, थप राष्ट्रसँग व्यापार सम्झौता गर्नुपर्ने, एनटीआईएसले पहिचान गरेका अदुवा, अलैंची, पश्मिना, कफीलगायत वस्तुको मूल्य शृंखला वृद्धि गर्न जिल्ला तहमा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझावसमेत वाणिज्य मन्त्रालयले दिएको छ।

निर्यात थोरै वृद्धि

चालू आवको प्रथम तीन महिनामा गत आवको तुलनामा निर्यात व्यापारमा थोरै सुधार आएको छ। गत वर्षको यसै अवधिको तुलनामा यो वर्षको तीन महिनामा साढे आठ प्रतिशतले निर्यात वृद्धि भएको छ। यो वर्ष २० अर्ब ४५ करोड ५१ हजार ६३ हजार मूल्यबराबरको नेपाली वस्तु निर्यात भएको छ। गत वर्ष यही यही अवधिमा १८ अर्ब ९० करोड ४१ लाख ४४ हजार मूल्यबराबरको नेपाली वस्तु निर्यात भएको थियो।

स्रोत: http://annapurnapost.com/news-details/85074

Newsletter

Submit your details below to receive Newsletters

Newsletter