News

संग्रहालयमा बाग्मती सभ्यता

October 28, 2017

शिवहरि घिमिरे, नागरिक दैनिक, ११ कार्तिक २०७४

पाटन दरबारबाट बायाँ मोडिएर करिब सात मिनेटको भित्री बाटो हिँडेपछि पुगिन्छ, च्यासल चोक । चोकबाट केही पर देखिन्छ, एउटा अग्लो भवन । भवनको बाहिरपट्टि लेखिएको छ ‘ज्यापु प्रज्ञा भवन’ । भवनको दक्षिण ढोकाबाट भित्र छिर्नेबित्तिकै देखिन्छ, ‘ज्यापु संग्रहालय’। 

संग्रहालयभित्र खेत खनिरहेका, तान बुनिरहेका, बच्चा रोइरहेका, नाचिरहेका, आगो फुक्दै गरेका नमुना राखिएका छन् । दायाँबायाँ भित्ता सजाइएका छन्, पुराना कलाले । हेर्दा दुरुस्तै लाग्ने यी दृश्य वास्तविक भने होइनन् । ललितपुरको च्यासलस्थित भोलढोकास्थित ज्यापु समाजको भवनमा निर्मित संग्रहालयका दृश्य हुन् यी। 

‘हामीले देखेका धेरैजसो संग्रहालयमा पुरातात्विक वस्तु र सम्पदा सामग्री भेटिन्छन्,’ ज्यापु समाजका कोषाध्यक्ष वीरबहादुर महर्जनले भने, ‘ज्यापु समाजको प्रांगणका निर्मित यो संग्रहालयमा भने मानिसको जीवन्तता पाइन्छ ।’

यो संग्रहालय अरुभन्दा भिन्न छ । यसमा मावन सभ्यता झल्कने वस्तु संग्रह गरेर राखिएका छन् । ज्यापु समाजको सक्रियतामा चार वर्षपहिले निर्मित यो संग्रहालयमा मानिसको जीवनशैली भेटिन्छ । संग्रहालय अवलोकनमा पुग्ने जो कोहीले सयौँ वर्ष पुरानो मानव संस्कृति र संस्कार बुझ्ने अवसर पाउने ज्यापु समाजका कोषाध्यक्ष वीरबहादुर महर्जन बताउँछन् । उनले करिब दुई करोडको लागतमा संग्रहालय निर्माण गरिएको जानकारी दिए। 

‘हामीले देखेका धेरैजसो संग्रहालयमा पुरातात्विक वस्तु र सम्पदा सामग्री भेटिन्छन्,’ उनले भने, ‘ज्यापु समाजको प्रांगणका निर्मित यो संग्रहालयमा भने मानिसको जीवन्तता पाइन्छ ।’ उनका अनुसार यो संग्रहालय निर्माण गर्न समाजले ८ वर्षपहिलेदेखि नै काम गर्दै आएको थियो । ‘च्यासल र ज्यापु समाजसँग जोडिएका स्थानीय सबैको सहयोगमा हामीले यो संग्रहालय खडा गरेका हौं,’ महर्जनले भने, ‘स्थानीयले आफूसँग भएका पुराना सामग्री संग्रहालयमा बुझाउनु भयो, हामीले पनि धेरै पहिलेदेखि मानिसको जीवन जोडिएका पुराना वस्तु संग्रहित गर्दै आएका थियौं।’ 

संगहालय पुराना सामग्रीको भकारी पनि हो, जहाँ विगतको कुरा सहजै नियाल्न पनि सकिन्छ । संग्रहालय पुरातात्विक र लोप हुन लागेका सामग्रीको संग्रह गर्ने ठाउँ पनि हो । यो संग्रहालय पनि त्यस्तै छ । संग्रहालयमा पुराना माटोका भाडा, पुजा सामग्री, किसानका सामग्री, जीवन्त संस्कृति, माटोका संलिचा (परम्परागत रक्सी राखेर पिउने कचौरा), विवाह सामग्री, धागोबाट कपडा बुन्ने पुरानो मेसिन, लोप भएका बाजा, ढुंगेधारा, पीतल र काँसका भाडा, नेवारी समुदायमा प्रयोग हुने चाडपर्वका सामग्रीलगायत राखिएका छन् । मानव जातिले अँगाल्दै आएका जात्रा पर्व, गुठिगाना, पूजाजस्ता अनेकांै धार्मिक तथा सांस्कृतिक क्रियाकलापसँगै जन्मदेखि मृत्युपर्यन्त गर्नुपर्ने दसकर्म काण्डका झलक पनि संग्रहालयमा देख्न सकिन्छ।

समाजका अध्यक्ष प्रेम महर्जनका अनुसार संग्रहालय नेपालकै भिन्न संग्रहालय हो । यहाँ बाग्मतीको सभ्यता झल्किने र मानव सभ्यता सुरु हुँदा प्रयोग भएका सबैखाले सामग्री छन् । ‘यो संग्रहालयभित्र नेवार समुदायमात्रै होइन, हिमाल, पहाड र तराईका मानिसको जीवन्तता झल्काउने सामग्री राखिएको छ,’ उनले भने, ‘संग्रहालय अवलोकन गर्नेले मानव जीवनको इतिहास देख्नेछन् ।’ उनले अनौपचारिक रूपमा चार वर्षपहिले नै संग्रहालय सञ्चालनमा आए पनि शनिबारदेखि मात्रै विदेशी तथा नेपाली पर्यटकका लागि खुला गरिने बताए । संग्रहालय अवलोकनमा पुग्ने पर्यटकका लागि टिकट शुल्क पनि निर्धारण गरिएको छ । जसमा विदेशी पर्यटकले दुई सय रूपैयाँ तिनुपर्ने छ भने नेपालीले २० देखि ३० रूपैयाँसम्म तिरे पुग्छ। 

नेवार समुदायभित्र पर्ने ज्यापु जाति इतिहासबाटै ठगिँदै आए पनि पछिल्लो समय यो जाति जुर्मुराएको अध्यक्ष महर्जनले बताए । ‘पहिले–पहिले ज्यापुलाई खेतबारीको काम गर्ने भनेर मात्रै चिनिन्थ्यो,’ उनले भने, ‘अहिले यो समुदायको परिचय फराकिलो भएको छ । समाज परिवर्तन हुँदै जादा ज्यापु समुदायमा पनि केहि परिवर्तन भयो, जसले संग्रहालय खोल्नसक्ने बनायो ।’ उनले ललितपुर महानगरपालिकाले पर्यटक आगमनबाट आर्जन गरेको आयको १५ प्रतिशत पाटन म्युजियमलाई दिँदै आएकोमा दुई प्रतिशत ज्यापु म्युजियमलाई उपलब्ध गराउन माग गरे । ‘हामीले यो संग्रहालयलाई विश्वव्यापीरूपमै चिनाउन चाहन्छौं, त्यसको निम्ति सरकारी निकायको सहयोग पनि आवश्यक छ,’ उनले भने, ‘संग्रहालयले अरु भन्दा भिन्न महत्त्व बोकेको छ।’ 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संग्रहालयको लागि आवश्यक सहयोग गर्ने बताए । उनले भने, ‘यो संग्रहालयले पाटन क्षेत्रमा अझ बढी पर्यटक तान्ने छ, सिंगो ललितपुर क्षेत्रलाई हामीले पर्यटकीय र ऐतिहासिक क्षेत्रकारूपमा विकास गर्छौं ।’ मेयर महर्जनले यो संग्रहालयमा मावन जीवनको मौलिकता र इतिहास भेटिने बताए ।
संग्रहालयलाई उकास्न र संग्रहालयभित्र रहेका सामग्रीको जानकारी गराउन ज्यापु समाजले गत मंगलबारदेखि ३ दिनसम्म पाटन मंगलबजारमा ‘ज्यापु म्युजियम फिस्टा २०१७’ महोत्सव पनि आयोजना गरेको थियो । ‘ज्यापु संग्रहालयलाई नै उकास्न महोत्सव आयोजना गरेका थियौं,’ समाजका अध्यक्ष महर्जनले भने, ‘महोत्सवपछि मात्रै औपचारिकरूपमा संग्रहालय खुला गरेका छौं ।’ संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा आयोजित महोत्सवमा ऐतिहासिक ललितपुर नगरीको कला, संस्कृति र सम्पदाको महŒवलाई अरु देशका पर्यटकमाझ प्रचारप्रसार गर्ने लक्ष्य पनि राखिएको थियो । 
महोत्सवमा स्थानीय परिकारको स्वाद, विश्वमै पुरानो मानिने ५ सय वर्ष पुरानो फिल्म (झ्याल्चा), लोप भइसकेका माटाका सीप, हन्सिखेल, पाटन सहरको आदिवासी बस्ती, ज्यापु जातिको पहिचान बुझ्न, जीवन्त संस्कृति पनिलाई पनि देखाइएको थियो ।

लिच्छविकालीन मूर्ति, पाटनका हस्तकला, एकल घोडे जात्राको रौनक, मूर्तिकला, प्रस्तरकला, ताम्रकलाका नमुना, सांस्कृतिक साँझ र नेवारी भोजको स्वाद लिन सक्ने अवसर पनि थियो ।  महोत्सवमा पर्यटकले प्रत्यक्ष सुकुल बुनेको अवलोकन गरेका थिए। 

महोत्सव अवधिभर राजा योगनरेन्द्र मल्लकी कान्छी महारानी भीम ठकुं (टेपे महारानी), सांस्कृतिक भजन, हँन्सीं कासा (त्यति बेला खेलिने विषेश प्रकारको खेल), खपिन्छेँ टोलमा आकाश भैरवको मूर्ति, चिउरा र चामल कुट्ने परम्परागत तरिका र सांस्कृतिक कार्याक्रम प्रस्तुत भएको थियो। 

महोसत्वमा देखाइएका सबैखाले सामग्री शनिबारदेखि ज्यापु प्रज्ञा भवनमा रहेको संग्रहालयमा भेटिने छ । ज्यापु जातिको भेषभूषा, गरगहना, बाजागाजा, जीवनशैली एंव कृषिजन्य र घरायसी प्रयोगमा आउने औजार, भाँडार्वतनलगायत सामग्री पनि संग्रहालयमा राखिएको छ । महोत्सव दुई लाखभन्दा बढीले अवलोकन गरेका थिए। 

स्रोत: http://www.nagariknews.com/news/29417/