अनलाइन खबर, माघ १९, २०७७
काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रुपमा विकास गर्ने गरी अवधारणापत्र बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको पुर्ण बैठकले आइतबार यो अवधारणापत्र पारित गरेको आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार अवधारणापत्रले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त स्वस्थ्य, शिक्षित, मर्यादित नागरिक बस्ने मुलुकका रुपमा समेत नेपाललाई रुपान्तरण गर्ने लक्ष्य राखेको हो ।
आयोगले अवधारणापत्रमा संविधानको भावना, राजनीतिक दलहरुको घोषणा पत्रमा उल्लेख भएका दीर्घकालिन सोच र योजनाको कार्यान्वयनमा जोड दिने समेत अवधारणा पत्रमा उल्लेख गरेको छ ।
यसले तीव्र आर्थिक वृद्धि, स्थायित्वका माध्यमबाट विकासशील र मध्यम आय भएको राष्ट्र हुँदै दीगो विकास लक्ष्य प्राप्त हुनुका साथै समुन्नत राष्ट्रमा रुपान्तरण हुने समेत उल्लेख गरेको छ ।
२०७९ सालमा विकासशीलमा स्तरोन्नति
अवधारणापत्र अनुसार नेपाल २०७९ सालमा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ । त्यस समयसम्म प्रतिव्यक्ति आय भने १४ सय डलर पुर्याउने लक्ष्य छ । यो लक्ष्य भने निकै चूनौतिपूर्ण हुनेछ ।
किनकी अहिले नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर मात्र रहेको छ । सरकारले २१०० सालमा भने उच्च आय भएको मुलुकमा रुपान्तरण हुने बताएको छ । त्यसबेला नेपालीको प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुग्ने भएको छ ।
२५ वर्षपछि ‘समृद्ध नेपाल-सुखी नेपाली’
वर्तमान सरकार आएसँगै सबैभन्दा बढी घन्काइएको नारा हो, समृद्ध नेपाल-सुखी नेपाली । तर, यसको लक्ष्य भेटाउन भने कम्तिमा पाँच आवधिक योजना अर्थात् २५ वर्ष कुर्नुपर्नेछ ।
योजना आयोगका अनुसार यो लक्ष्य प्राप्तमा तीन चरणको विकास अवधि तोकिएको छ । चालु १५ औं योजनाले समृद्धि र सुखको आधार बनाउने भएको छ । १६ औं र १७ औं आवधिक योजनाले समृद्धि र सुखलाई तिब्रता दिने भएका छन् ।
यसै अवधिमा दीगो विकासका लक्ष्यको समेत प्राप्ती भइसक्ने प्रक्षेपण आयोगको छ । १८ औं र १९ औं योजनाले भने समृद्धि र सुखलाई दिगोपनः दिने अवधारणापत्रको सार रहेको छ । यस अवधिमा कृषि, उद्योग र सेवा क्षेत्रको परिस्कृत र आधुनिकीकरण गर्दै अर्थतन्त्रको संरचनामै परिवर्तन गर्ने लक्ष्य राखिएको छ ।
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका आधार
सरकारले दीर्घकालीन सोच प्राप्तीमा कुल १० वटा लक्ष्य राखेको छ । जसमा समृद्धि हाँसिल गर्न चार र सुखी नेपाली बनाउन ६ वटा आधार राखिएको छ ।
आयोजना आयोगका अनुसार समृद्धि प्राप्तिमा उच्च र समतामुलक राष्ट्रिय आय, मानवपूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवम सघन अन्तर आवद्धता एवं उच्च र दिगो उत्पादन तथा उत्पादकत्व रहेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलका अनुसार सुखी नेपाली बनाउन भने परिस्कृत तथा मर्यादित जीवन, सुरक्षित सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन सवल लोकतन्त्र र राष्ट्रिय एकता, सुरक्षा र सम्मान रहेका छन् ।
दोहोरो अंकको आर्थिक वृद्धि
सरकारले यी लक्ष्य प्राप्तिमा दोहोरो अंकको आर्थिक वृद्धि गर्ने बताएको छ । जसअनुसार १०.५ प्रतिशतको आर्थिक वृद्धि हुने उल्लेख छ ।
निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्यालाई शून्यमा झार्ने, बहुआयामिक गरिबीको रुखामुनी रहेको जनसंख्या ३ प्रतिशतमा झार्ने, श्रम सहभागिता दर ७२ प्रतिशत माथि लैजाने, रोजगारीमा औपचािरक क्षेत्रको हिस्सा ७० प्रतिशत माथि पुर्याउने लक्ष्य समेत राखिएको छ ।
विद्यूतमा शतप्रतिशत परिवारको पहुँच, उर्जा उत्पादन (जडित क्षमता) ४० हजार मेगावाट, इन्टरनेट शतप्रतिशत जनसंख्यामा पुर्याउनेसम्मका महत्वकांक्षी लक्ष्य राखेको छ ।
९९ प्रतिशत जनसंख्यालाई यातायातको न्यूनतम ३० मिनेटको दूरी भित्रै राख्ने, शतप्रतिशत जनसंख्यालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने, ९५ प्रतिशत जनसंख्यालाई उच्च मध्यम स्तरको खानेपानी सुविधा पुर्याउने समेत अवधारणापत्रको लक्ष्य छ ।
समृद्ध नेपाल सुखी नेपालीको यात्राले गति लियो : प्रधानमन्त्री
आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको यात्राले गति प्रारम्भ गरिसकेको बताए । उनले दीर्घकालीन सोचले निर्धारण गरेका राष्ट्रिय लक्ष्य, गन्तब्य र सूचक हासिल गर्न सबै पक्षले इमानका साथ काम गर्नुपर्ने समेत उल्लेख गरे ।
उनले जनताको समृद्धि र सुखको आंकक्षा सम्बोधन गर्ने गरी योजना तर्जुमा गर्न समेत निर्देशन दिएका छन् ।