News

सातामै २७ अर्ब कर्जा प्रवाह

March 30, 2021

कान्तिपुर, चैत्र १७, २०७७ 

अधिक तरलता ५३ अर्ब

अन्तरबैंक ब्याजदर एक प्रतिशतभन्दा कम

काठमाडौँ — गत साता २७ वाणिज्य बैंकले मात्र २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो साता प्रवाह भएको कर्जाभन्दा केही बढी हो । अघिल्लो साता ती बैंकले करिब २३ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका थिए ।

मुलुकमा आर्थिक गतिविधि चलायमान बन्दै गएपछि बैंक तथा वित्तीय संस्थामा पनि कर्जा माग बढेको हो । सोही कारण पछिल्लो समय निरन्तर कर्जा माग बढ्दै गएको बैंकरहरू बताउँछन् । जसअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ३४ खर्ब ६२ अर्ब रुपैयाँ छ । अघिल्लो साता यस्तो कर्जा प्रवाह ३४ खर्ब ३५ अर्ब रुपैयाँ थियो ।

कर्जा प्रवाह बढे पनि गत साता सो अनुपातमा निक्षेप बढ्न सकेको छैन । राष्ट्र बैंकको तथ्यांकअनुसार गत साता २७ वाणिज्य बैंकमा कुल १० अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएको छ । अघिल्लो साताको तुलनामा गत साताको निक्षेप संकलन कम हो । अघिल्लो साता ती बैंकको कुल निक्षेप संकलन १४ अर्ब रुपैयाँ थियो, जसअनुसार गत सातासम्म वाणिज्य बैंकको कुल निक्षेप ३८ खर्ब ५० अर्ब रुपैयाँ थियो । अघिल्लो साता यस्तो निक्षेप कुल ३८ खर्ब ४० अर्ब रुपैयाँ थियो ।

गत असोजयता बैंकहरूमा कर्जा प्रवाह निरन्तर बढ्दो छ । तर सो अनुपातमा निक्षेप संकलन हुन सकेको छैन । यही कारण लामो समयदेखि अधिक तरलताको मार खेपिरहेका बैंकहरूमा विस्तार तरलता घट्दो छ । सोमबारसम्म वित्तीय प्रणालीमा करिब ५३ अर्ब अधिक तरलता रहेको र यो सामान्य अवस्था भएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘पछिल्लो साता करिब १०/१५ अर्ब रुपैयाँको ट्रेजरी बिलको परिपक्वको अवधि पूरा भएको छ, सरकारी खर्च बढेको छ भने पुनर्कर्जाबापतको रकम पनि बैंकमा गएको छ,’ उनले भने, ‘तरलता सामान्य अवस्थामा भएकाले पनि अन्तरबैंक ब्याजदर एक प्रतिशतभन्दा तल झरेको छ ।’ दुई साताअघि अन्तरबैंक ब्याजदर एक्कासि बढेर ३ प्रतिशत पुगेको थियो । यसअघि लामो समय तरलता अधिक रहेकाले अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा कम थियो ।

कर्जा प्रवाह र निक्षेप संकलनको अन्तर बढ्दै गए पनि वाणिज्य बैंकको कर्जा निक्षेप तथा पुँजी (सीसीडी) अनुपात औसत ७७.०८ प्रतिशत छ । तर ६ वटा वाणिज्य बैंकको सीसीडी अनुपात ८० प्रतिशतभन्दा बढी छ । बाँकी २१ वटाको यस्तो अनुपात ८० प्रतिशतभन्दा कम हो । राष्ट्रिय वाणिज्य बैंकको सीसीडी अनुपात सबैभन्दा कम ६७.७१ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार हाल बैंकले बढीमा ८५ प्रतिशतसम्म सीसीडी अनुपात कायम गर्नुपर्ने व्यवस्था छ ।

चालु आर्थिक वर्षका प्रायः महिना बैंक तथा वित्तीय संस्थाले अधिक तरलताको मार खेप्नुपर्‍यो । गत चैतमा सरकारले लकडाउन सुरु गरेपछिका करिब पाँच महिना (चैत अन्तिमदेखि भदौसम्म) कर्जा प्रवाह ठप्प रह्यो । भदौ अन्तिम साताबाट बिस्तारै बढ्न थालेको कर्जा प्रवाह हाल पुरानै लयमा फर्किएको छ । रेमिट्यान्स आप्रवाह घट्न थालेको, आयात बढेको, कर्जा माग बढेको लगायत कारण वित्तीय प्रणालीमा रहेको अधिक तरलतामा कमी आएको जानकारहरू बताउँछन् । वित्तीय प्रणालीमा रहेको अधिक तरलतामा कमी आएको र त्यसले ब्याजदर वृद्धिको संकेत गरेको राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ३८ खर्ब ३९ अर्ब रुपैयाँ थियो । गत असारमा यस्तो कर्जा ३२ खर्ब १० अर्ब रुपैयाँ थियो । करिब ८ महिनामा ६ खर्ब २९ अर्ब रुपैयाँले थप कर्जा विस्तार भएको छ । सो अवधिको निक्षेप वृद्धि कर्जा प्रवाहको तुलनामा निकै कम छ।

स्रोत: https://ekantipur.com/business/2021/03/30/161706879809065934.html