News

सुनचाँदी धितोमा ३२ अर्ब ऋण

February 27, 2017

Karobar, Kathmandu, February 27

चालू आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा करिब ३२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।  ०७२ पुससम्ममा सुनचाँदी धितोमा २९ अर्ब १८ करोड रुपैयाँ लगानी भएकोमा एक वर्षमा यस क्षेत्रको लगानी वृद्धि भई ३१ अर्ब ८८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बैंकहरूको पुँजी वृद्धिसँगै आक्रामक रूपमा कर्जा लगानी विस्तार गरेकाले यस क्षेत्रको लगानी पनि बढेको हो । तर, माघ महिनायता भने तरलता अभावका कारण कर्जा विस्तारमा कडाइ गर्दै आएका छन् । 

राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्दै आए पनि बैंकहरूले छिटो नाफा हुने अनुत्पादन क्षेत्रको लगानीमा प्राथमिकता दिने गरेका छन् । अनुत्पादक क्षेत्रमा लगानी बढ्दा बजारमा तरलता अभाव भएको भन्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै गाडी तथा ओभरड्राफ्ट कर्जामा कडाइ गरेको छ । 

बैंकहरूले सुन धितोमा कर्जा लगानी गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गरी ५०–७० प्रतिशतसम्म लगानी गर्ने गरेका छन् । भाउ घटबढ हुँदा मूल्यांकनसमेत कम हुने भएकाले यो शीर्षकको कर्जा घटबढ भइरहने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले जानकारी दिए । 

नगद सरह मानिने र यसमा गरिएको लगानीसमेत सुरक्षित मानिने भएकाले तथा जोखिम कम भएकाले बैंकहरूले प्राथमिकता दिएर लगानी गर्दै आएका छन् । सर्वसाधारणले पनि छिटो प्रक्रियाबाट कर्जा पाइने भएकाले आफूलाई अप्ठेरो पर्दा गर्जो टार्न सुन धितो राखेर कर्जा लिने गरेका छन् । 

सर्वसाधारणले गहना र बचतका रूपमा सुन किन्ने र आफूलाई अप्ठेरो पर्दा त्यही धितो राखेर ऋण लिने प्रचलन छ । बैंकिङ पहुँच नहुँदा सुन व्यापारीबाट यो सेवा उपभोग गर्ने सर्वसाधारण पनि सेवा विस्तारैसँगै बैंकमा नै आकर्षित हुन थालेका छन् । 

ऋण लिने प्रक्रिया सरल भएको र छिटो हुनुका साथै ब्याजदर पनि अन्य कर्जाको तुलनामा सस्तो रहेकाले सुनचाँदी धितो कर्जा सर्वसाधारणबीच लोकप्रिय छ ।  

घरजग्गालगायत अन्य सम्पत्ति धितोमा ऋण लिन मूल्यांकनदेखि अन्य लामो प्रक्रिया पूरा गर्नुपर्ने भए पनि सुनचाँदी धितोमा कर्जा छिटो पाइने भएकाले ग्राहकलाई समेत सुन कर्जा लिन सजिलो छ । 

विगतमा सुनचाँदी व्यवसायीले नै सुन धितो राखेर ग्राहकलाई कर्जा दिने गरेको भए पनि पछिल्लो समयमा बैंकहरू समेत यसप्रति आकर्षित भएका छन् । व्यवसायीको भन्दा बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम छ ।

बैंकहरूले ०७३ पुससम्ममा बैंक तथा वित्तीय संस्थाले कुल १८ खर्ब ९५ अर्ब रुपैयाँ लगानी गरेका छन् । उक्त कर्जामध्ये ९० प्रतिशत कर्जा घरजग्गालगायत स्थिर सम्पत्ति धितोमा गर्दै आएका छन् । यसबाहेक घरजग्गा तथा गाडी, सुनचाँदी, सेयर, ऋणपत्र, जमानी धितो पनि बैंकहरूको प्राथमिकतामा छ । 

Source: http://www.karobardaily.com/news/73429