News

सूचना प्रविधिमा फड्को

May 04, 2017

The Annapurna Post, 1st May 2017, Ranjhan Hari Koirala, Kathmandu

सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याएको छ । अन्य मुलुकको तुलनामा सुस्त गतिले भए पनि हालैका वर्षमा नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति देख्न थालिएको छ । विश्वबजारमा सूचना-प्रविधि क्षेत्रमा भइरहेका नयाँ-नयाँ विकासलाई नेपालले आत्मसात गर्न सक्नु एउटा उपलब्धि हो ।

०५० सालमा मर्कन्टाइल कम्पनीले नेपालमा पहिलोपटक इन्टरनेट सेवा सुरु गरेको हो । त्यसयता नेपालमा सूचना प्रविधिको विकासले व्यापक गति लिएको छ । निकै ढिलो मात्र इमेल-इन्टरनेट सेवा सुरु भएको हाम्रो मुलुकको सूचना तथा सञ्चारले आज महत्ववपूर्ण उपलब्धि हासिल गरिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले चैतमा सार्वजनिक गरेको पुसको प्रतिवेदनअनुसार अहिले नेपालमा तीन करोड ३८ लाख २५ हजार आठ सय ४० टेलिफोन सेवा विस्तार भएको छ ।

यो नेपालको कुल जनसंख्याभन्दा २७ प्रतिशतले बढी हो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्द खनालका अनुसार सूचना-प्रविधि विकासका लागि टेलिफोनको विस्तार सबैभन्दा महत्ववपूर्ण पक्ष हो । टेलिफोनमा भएको तीव्र गतिको विस्तारले इन्टरनेटमा मानिसको पहुँच बढ्दै गएको छ । आज एक करोड ४५ लाख ७९ हजार आठ सय ८९ नेपाली इन्टरनेटसँग जोडिएका छन् । यो नेपालको कुल जनसंख्याको ५५.०३ प्रतिशत हो ।

ठुल्ठूला कम्प्युटरदेखि मिनी ल्यापटपसम्मको यात्रामा सूचना तथा प्रविधिको क्षेत्रले विभिन्न सफलता हात पारेको छ । ल्यापटप, डिजिटल क्यामेरा, सीसीटीभी क्यामेरा, फ्याक्स मेसिन, फोटोकपी मेसिन, स्क्यानर, इन्टरनेट, रेडियो, टेलिभिजन आदि सञ्चारसाधनले मानिसको दैनिक जीवन सहज बनाइदिएको छ । मोबाइल फोनमा भएको विकास र परिवर्तनलाई सूचना प्रविधि क्षेत्रमा भएको आमूल परिवर्तन मान्न सकिन्छ । बारफोनबाट सुरु भएको मोबाइल यात्रा स्मार्टफोनसम्म आइपुगेको छ ।

स्मार्टफोनलाई पनि समयसाक्षेप तुल्याउने क्रम जारी छ । मोबाइलमा प्रयोग भएको प्रविधि र त्यसमा भत्रिएका नयाँ-नयाँ आयामले पुराना, ठूला र भद्दा किसिमका उपकरणलाई विस्थापित गरिदिएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) का अध्यक्ष विनोद ढकालका अनुसार अहिले संसार एउटा हातमा अडिएको अवस्था छ । यसले मोबाइलमै इन्टरनेट चलाउनेदेखि ग्रामीण क्षेत्रसम्म प्रभाव पारेको छ । विकट गाउँमा स्थापना भएका ग्रामीण सूचना केन्द्रमार्फत टेलिमेडिसिनको प्रयोगबाट अत्यावश्यक सेवा उपयोग गर्ने मानिस बढ्दैछन् । अहिले नेपालमा मोबाइलमार्फत इन्टरनेटको प्रयोग गर्नेको संख्या एक करोड ३९ लाख ६९ हजारभन्दा बढी रहेको नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

सूचना प्रविधिमा नेपालीको पहुँच विकसित मुलुककै हाराहारीमा छ । विश्व सूचना प्रविधि प्रतिवेदन २०१६ ले विश्वका १३९ मुलुकमध्ये सूचना प्रविधिको समग्र विकासको सूचकमा नेपाल ११८ औं स्थानमा रहेको देखाएको छ । तर, खरिद क्षमता सूचकमा भने नेपाल ३० औं स्थानमा छ । यसले पनि नेपालीको सूचना प्रविधि क्षेत्रमा भएको पहुँचलाई दर्शाउँछ ।

यसरी भएको सूचना प्रविधिको तीव्र विकासले देशको विकट भौगोलिक दूरीसमेत कम गरिदिएको छ । प्रविधिको प्रयोगमार्फत छिटो-छरितो रूपमा सूचना आदानप्रदान गर्न सकिने भएको छ । यसका साथै देशको ग्रामीण भेगमा पनि आधुनिक सूचना प्रविधिको प्रयोग बढ्दो छ । अहिले गाउँमा बस्ने ग्रामीण महिला खाडीमा बसेर पसिना बगाइरहेका आफ्ना श्रीमानसँग भिडियोमार्फत कुरा गर्छिन् । विकट गाउँमा बस्ने वृद्ध आमा विदेशमा बसेर पढिरहेको आफ्ना छोराछोरीसँग भिडियो च्याटमा सम्झना साटिरहेकी हुन्छिन् । यसले देखाउँछ, सूचना र प्रविधिमा नेपालले कति फड्को मारेको छ ।

सूचना प्रविधिको तीव्र विकासले देशको विकट भौगोलिक दूरीसमेत कम गरिदिएको छ ।

सूचना प्रविधि विकासले पछिल्लो समय नेपालमा मोबाइल बैंकिङले पनि प्राथमिकता पाएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, ई-बैंकिङजस्ता सेवा आरम्भ गरिसकेका छन् । मोबाइल बैंकिङ तथा मोबाइल कारोबारको उत्कृष्ट उदाहरणका रूपमा ई-सेवालाई लिन सकिन्छ । बैंकले बैंकमा पैसा पठाउनदेखि मोबाइल रिचार्ज तथा विभिन्न सेवाका पैसा तिर्न पनि ई-सेवा प्रयोग हुँदै आएको छ । ई-सेवामार्फत मोबाइल रिचार्जका लागि मात्रै अहिले दैनिक एक करोड ३० लाख हाराहारीमा कारोबार हुने गरेको एफ १ सफ्टका कार्यकारी अपरेटिङ अफिसर रोशन लामिछाने बताउनुहुन्छ । लामिछानेका अनुसार मोबाइलमार्फत कारोबार गर्ने प्रचलन पछिल्लो समय बढ्दो क्रममा छ । यसले विस्तारै मानिसलाई पैसाका लागि बैंकमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सक्छ भन्ने बहस नेपालमै सुरु भएको छ ।

सूचना-प्रविधि शिक्षाको विकास नेपालमा बढ्दोक्रममा छ । विगतमा कम्प्युटर चलाउन सिकाउने ट्रेनिङ सेन्टरबाट सुरु भएको सूचना-प्रविधि शिक्षाले अहिले विश्वविद्यालयसम्म पुगेको छ । आईटी विषय अध्यापन गराउने विद्यालयको संख्या नै दुई दर्जनभन्दा बढी छ भने हजारौंको सख्यामा आईटी अध्ययन गर्ने विद्यार्थी छन् । यति मात्र होइन, नेपालमै अध्ययन गरेर सूचना पविधि क्षेत्रमा उत्कृष्ट काम गरी विश्वमा नाम र दाम कमाउन सक्ने जनशक्ति पनि यहीँ उत्पादन भएको छ । एउटा मोबाइल एप्स निर्माणमा करोड खर्च गर्ने प्रचलन विकास भइसकेको छ । यसको उत्कृष्ट उदाहरण ई-सेवा हो । नेपालीले अन्तर्राष्ट्रिय स्तरका कम्प्युटर सफ्टवेयरको निर्माण गर्न सक्नु पनि नेपालको लागि ठूलो उपलब्धि हो ।

दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धाले नवीन र अत्याधुनिक प्रविधियुक्त दूरसञ्चार सेवा ग्राहकले प्रयोग गर्न पाएका छन् । संख्यात्मक रूपमा दूरसञ्चार सेवा प्रदायकको पनि वृद्धि भएको छ । यसले गुणस्तरीय सेवा विस्तारका लागि सहयोग पुगेको बताउउनुहुन्छ नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक खनाल । अहिले नेपालमा भ्वाइस सेवाप्रदायकको संख्या ६ पुगेको छ । त्यसमा मोबाइल सेवाप्रदायक चार छन् भने इन्टरनेट सेवाप्रदायक कम्पनीको संख्या ५० भन्दा बढी छ । यसरी ठूलो संख्यामा सेवाप्रदायक कम्पनीको प्रवेशले सूचना तथा प्रविधिमा आममानिसको पहँचलाई सहज बनाएको देखिन्छ ।

टेलिफोन सेवा र मोबाइल इन्टरनेट सेवा देशभरि विस्तार भइसकेको छ । यही क्रममा नेपाल टेलिकमले सुरु गरेको चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा ‘फोरजी' नेपालको सूचना प्रविधि क्षेत्रमा भएको ठूलो उपलब्धि हो । पहिलो चरणमा काठमाडौं र पोखाराबाट सुरु भएको फोरजी सेवालाई नेपाल टेलिकमले विस्तारै देशैभर विस्तार गर्ने योजना बनाएको छ । यसको विस्तारले मोबाइल इन्टरनेट सेवामा अझ प्रभावकारी हुने विश्वास लिइएको छ । यसका साथै सरकाले नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाउनका लागि पनि कदम चालिसकेको छ । यसका लागि सरकाले अन्तर्राष्ट्रिय संस्थासँग आह्वानसमेत गरी बोलपत्रमा २१ वटा कम्पनीको आवेदन परेको थियो । स्याटलाइट अन्तरिक्षमा पठाउने कदम सफल भएमा ताररहित दूरसञ्चार सेवा प्रवाह गर्न सहज हुनेछ । स्याटेलाइटका नाममा नेपालबाट वार्षिक अर्बौं बिदेसिने क्रम रोकिनेछ । अहिले नेपालले भारत, सिंगापुर, थाइल्यान्डलगायत देशका स्याटेलाइटमार्फत नेपाली दूरसञ्चार सेवाप्रदायक सेवा लिने गरेका छन् । यससँगै ग्रामीण क्षत्रेमा इनटरनेट विस्तारमा सहज हुनुका साथै टेलिमेडिसिनलगायत प्रविधिमा आधारित सेवा गाउँ-गाउँसम्म विस्तार गर्न पनि मद्दत पुग्नेछ ।

सरकारी सेवा पनि अहिले इन्टरनेट र प्रविधिमै घर पर्न थालेको छ । जस्तै, सवारी चालक अनुमति पत्रको फाराम भर्न, वैदेशिक रोजगारीमा जानेका लागि श्रम इजाजत जारी गर्न, पासपोर्टका लागि आवेदन दिन, निजामती कर्मचारीको सरुवाका लागि आवेदन भर्न र नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी लिन अनलाइनमार्फत नै गर्न सकिन्छ । यस्ता सेवा अनलाइनमा आधारित हुनु स्वाभाविक भएको बताउनुहुन्छ म्यागासेसे पुरस्कार विजेता तथा सूचना प्रविधिविद् महावीर पुन । उहाँका अनुसार नेपालको परिवेशमा अनलाइन सेवा सुरु चरणमै छ तर यसले सूचना प्रविधिको विकासमा सहयोग पुर्‍याउने निश्चित छ ।

सरकारले आगामी बजेटमार्फत देशका विभिन्न सहरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजना अघि सारेको छ । स्मार्ट सिटी भन्नाले सहरीकरणमा सूचना प्रविधिको प्रयोग गर्नु हो । सरकार, जनता, आवागमन, आर्थिक अवस्थालगायत क्षेत्रमा सूचना प्रविधिलाई प्रयोगमा ल्याउनु सहरलाई स्मार्ट सिटी बनाउनु हो । देश विकासको मेरुदण्ड मानिने सूचना प्रविधि विकासमा सरकारले लगानी बढाउनुपर्ने सूचना प्रविधिविद्को धारणा छ ।

Source: http://annapurnapost.com/news/70081