News

स्थानीय उत्पादनमा पर्यटकको आकर्षण

November 26, 2017

विप्लव भट्टराई, कान्तिपुर राष्ट्रिय दैनिक, १०  मंसिर २०७४

दुई साताअघि स्विडेनबाट आएको पर्यटक टोली इलाम सदरमुकाममा देखियो । कोसीटप्पुमा अनेकथरी चराको अवलोकनपछि सीधा यहाँ आएको १३ सदस्यीय टोलीको अर्को आकर्षण थियो, यहाँ बुनेका ढाकाको कपडा । साँझ भेटिएका उनीहरू ढाकाबाट बुनेको विभिन्न सामग्री हेर्न तल्लीन थिए ।

सम्झना ढाका उद्योगमा भेटिएका पर्यटकहरूले उत्पदन मात्र हेरेर चित्त बुझाएनन् । बजार केही टाढा रहेको ढाका बुनाइ उद्योगको निरीक्षण पनि गरे । त्यसपछि यहाँ उत्पादित अकबरेको अचार खोज्दै उनीहरू एक किलोमिटर टाढाको पिपलबोटे पुगे । त्यहाँ उषा निरौलाले बनाएको अचार उद्योगको निरीक्षणसँगै खरिद पनि गरे ।

त्यसलगत्तै चन्द्र राईको चुरेघाँटीस्थित ललिपप उद्योगमा पुगेका उनीहरूले चियाबारीको घुमघामसँगै प्रशोधनको तरिका हेर्न पनि समय निकाले । आन्तरिक बजारको भरमा टिकेको यहाँका ढाका, अकबरे, ललिपप जस्ता उत्पादनमा युरोपबाट आएकाहरूको ध्यान तानिँदा व्यवसायीलाई पनि बजार विस्तार हुने आशा पलाएको छ । 

पहिलोपटक नेपाललाई नजिकबाट नियाल्न आएका पर्यटकहरूको एउटै उद्देश्य थियो, अधिकांशले बुझेदेखेको भन्दा फरक नेपाल नियाल्ने । खुम्बु, अन्नपूर्ण क्षेत्र, सौराहाबाहेक नेपालको विषेशता बुझ्ने क्रममा उनीहरूको रोजाइमा इलाम पनि परेको हो ।

‘काठमाडौंबाट खुम्बु क्षेत्रका लागि मात्र दैनिक तीन दर्जन उडान हुन्छन्,’ स्विडेनी पर्यटकलाई डोर्‍याउँदै ल्याएकी जेनीले भनिन्, ‘विश्वमा चिनिएका पर्यटन क्षेत्रबाहेक पनि नेपालमा हेर्ने र बुझ्ने धेरै स्थान र चिज भएकाले अघिल्लो वर्षदेखि नै यस क्षेत्रका पर्यटकलाई नयाँ गन्तव्यमा लैजाने गरेकी छु ।’ कतिपय पर्यटकले यहाँका बासिन्दाको रासोबासो, उद्यम, खेती प्रणालीदेखि समग्र जीवनयापनको तौरतरिका हेर्न रुचाउने भएकाले यस्ता चिजमा पुर्‍याउने गरेको जेनीको भनाइ छ । 

पाकाहरूको संख्या धेरै रहेको यो टोलीका सदस्यले यहाँका उत्पादनलाई मन पराएका छन् । ढाका बुनाइमा महिलाहरू व्यस्त देख्दा खुसी भएका उनीहरू स्थानीयस्तरमा रोजगारी सिर्जना भएकामा दंग देखिए । ‘ढाकाका विभिन्न उत्पादनलाई मन पराएर खरिद पनि गरे,’ सम्झना ढाका उद्योगकी सञ्चालिका देविका लिम्बूले भनिन्, ‘त्योसँगै स्थानीय प्रविधिबाट ढाका बुनाइ र महिलाहरूको सहभागिताले उनीहरूलाई निकै प्रभाव पारेको छ ।’ 

एकैपटक अन्तर्राष्ट्रिय बजार विस्तार हुन्छ भन्ने आशा नभए पनि यहाँ आउने पर्यटकले खरिद गर्ने क्रम बढेकाले बजार विस्तार हुने विश्वास भने बढेको उनको भनाइ छ । अघिल्लो वर्ष पनि स्विडेनबाट आएको टोलीले यसैगरी ढाका र अन्य उत्पादनबारे चासो देखाएको थियो ।

पछिल्लो सयम जिल्लामा पर्यटक आउने क्रमसँगै स्थानीय उत्पादनको बजार विस्तार हुँदै गएको छ । ढाकालगायतका उद्योगहरूले मुख्य गरी महिलाहरूलाई रोजगारीको अवसर दिएर आम्दानीको बाटो बढाउँदै लगेको छ । 



स्रोत: http://kantipur.ekantipur.com/news/2017-11-26/20171126082534.html