News

हवाई पूर्वाधारमा ३ खर्ब ३५ अर्ब आवश्यक

February 06, 2020

अन्नपूर्ण पोष्ट, माघ २३, २०७६ 

काठमाडौं : नेपालका विमानस्थल स्तरीय बनाउन हवाई पूर्वाधारमा मात्रै करिब साढे तीन खर्ब लगानी गर्नुपर्ने भएको छ। हिमाल, पहाड र तराईमा क्षमता अनुसारका जहाज उडान गर्ने गरी विमानस्थलको निर्माण र स्तारोन्नति गर्न आगामी पाँच वर्षभित्रै तीन खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने नेपाल नागरिक उड्यन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले बुधबार पत्रकार सम्मेलन आयोजना गरी आन्तरिक र अन्तर्राष्ट्रिय उडानका विमानस्थल निर्माण तथा यसका लागि आवश्यक जग्गा अधिग्रहणमा मात्रै उक्त रकम खर्च गर्नुपर्ने जानकारी दिएको हो।

प्राधिकरणले विगत दुई वर्षमा मात्रै विमानस्थलको क्षमता विस्तार र स्तरोन्नति ९० अर्ब रुपैयाँ खर्च गरिसकेकेको छ। यस्तो खर्च आन्तरिक विमानस्थलमा जम्मा ७ अर्ब र बाँकी ८३ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय विमानस्थलको लागि खर्च गरेको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

प्राधिकरणका अनुसार आगामी पाँच वर्षमा अन्तर्राष्ट्रिय हवाई पूर्वाधारतर्फ दुई खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ। त्यसमध्ये एक खर्ब ५० अर्ब रुपैयाँ निजगढ विमानस्थलको लागि मात्रै भएको प्राधिकरणले जानकारी दिएको छ।

आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने उल्लेख छ। यो रकम विराटनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगर विमानस्थललाई क्षेत्रीय तथा हब विमानस्थलका लागि भएको पनि उल्लेख छ।

निजगढ विमानस्थल बनाउन रुख गनिदै
काठमाडौं विमानस्थलको विकल्प र नेपालको हवाई उड्डयनको दीर्घकालीन विकासको लागि बारामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल नै भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन्। भट्टराईले भने, ‘नेपालको आवश्यकता र दीर्घकालीनसम्मका लागि निजगढ बनाउनै पर्छ। यसका लागि अहिले वन मन्त्रालयसँगको समन्वयमा काट्नुपर्ने रुख गन्ने काम हुँदै छ।’ सरकारको हवाई पूर्वाधार निर्माणमा अर्जुन दृष्टि भनेको निजगढ विमानस्थल भएको पनि मन्त्री भट्टराईको तर्क छ।

स्रोत: http://annapurnapost.com/news/147333