News

१६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

July 02, 2017

दामोदर न्यौपाने, कान्तिपुर दैनिक, असार १८, २०७४

लाइसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल यातायात कार्यालय नेपालगन्जका १६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्यालय प्रमुख उपसचिव पवन सुवेदीसहित अधिकृतहरु सीताराम खनाल, डेकराज पोखरेल, विष्णु साहनी र ध्रुव देवकोटाविरुद्ध मुद्दा दायर गरेको हो । मेकानिकल इञ्जिनियर अर्जुन चौधरी र प्रहरी निरीक्षक विमलकुमार उपाध्याय पनि परेका छन् ।

त्यसैगरी नासुहरु ललितबहादु वली, केशव डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय, अरुण गौतम, डिलाराम खरेल, ओमबहादुर बस्नेत, गणेशमान आचार्यविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रहरी नायव निरीक्षक दीपेन्द्रबहादुर सिंहविरुद्ध पनि मुद्दा चलाइएको छ ।

गत कात्तिक ५, ६, ७ र ८ गते भएको लिखित परीक्षामा १२ हजार ६ सय ३१ जना परीक्षार्थी सहभागी भएकोमा ९ हजार ४ सय ९ जनालाई अनियमित ढंगले उत्तीर्ण गराइएको उनीहरुमाथि आरोप छ । त्यसमध्ये ४ सय ६५ जनाको नाममा लाइसेन्स जारी भइसकेको छ । 

लिखित परीक्षामा ९ वटा प्रश्नको सही उत्तर दिनुपर्नेमा त्योभन्दा कम सही उत्तर दिनेसमेत पास भएको भेटिएको छ । ४ सय ६५ जनामध्ये ९० जना अनुत्तीर्णसमेतलाई पास गराइएको छ भने ३३ जनाको उत्तर पुस्तिका नै परीक्षण नगरिएको भेटिएको छ । 

अख्तियारले उनीहरुमाथि बिगो मागदाबी भने गरेको छैन ।

स्रोत: http://kantipur.ekantipur.com/news/2017-07-02/20170702182702.html