News

१८ देशबाट लगानी प्रतिवद्धता

October 12, 2017

सरस्वती ढकाल, कारोबार आर्थिक दैनिक, २६ आश्विन २०७४

काठमाडौं: उद्योग विभागमार्फत् चालू आर्थिक वर्षको पहिलो २ महिनामा विभिन्न १८ देशबाट झन्डै साढे ३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता प्राप्त भएको छ । साना तथा मध्यम लगानीका लागि प्रवेशद्वार मानिने विभागमा चालू आवको भदौसम्ममा ३ अर्ब ४३ करोड रुपैयाँको लगानीसहित ६४ उद्योग दर्ता भएका छन् । यी उद्योगबाट २ हजार रोजगारी थप्ने अनुमान गरिएको छ । 

विभागले कृषि तथा वन्यजन्तु, निर्माण, उर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा, पर्यटन र सूचना तथा प्रविधि विधामा प्रत्यक्ष बैदेशिक लगानी भिœयाउँदै आएको छ । एकातिर विदेशी लगानीकोे प्रतिवद्धता कम छ भने अर्कातर्फ सोहीबमोजिम लगानी भित्रन सकेको छैन ।

विभागका अनुसार सबैभन्दा धेरै चीनबाट २८, भारतबाट ७, अमेरिकाबाट ५, वेलायत, अस्ट्रेलिया, बंगलादेश, फ्रान्स इजरायल, जापान, दक्षिण कोरियाको दुई÷दुई उद्योगका लागि आवेदन दर्ता भएका छन् । जर्मनी, पोल्याण्ड, सिंगापुर, स्पेन, स्विट्जरल्याण्ड, स्वीडेन, युनाइटेड अरब इमिरेट्सबाट पनि एक÷एक उद्योग स्थापनाका लागि आवेदन दर्ता भएका छन् ।

उद्योग विभागका सहसचिव प्रदीप कोइरालालले पछिल्लो समय साना तथा मझौला उद्योगमा उत्साहजनक रूपमा उद्योग दर्ता भइरहेको बताए । विभागमा सानो लगानी आउने भन्दै पछिल्लो समय चीनको होङ्सी ग्रुपले शिवम् सिमेन्टमा गरेको लगानी पनि पछिल्लो उदाहण भएको बताए । लगानी नआएको होइन तर अहिलेको अवस्थामा जसरी लगानी आएको छ त्यसमा नीतिगतदेखि अन्य क्षेत्रमा सुधार गर्नुपर्ने अवस्था रहेको उनको अनुभव छ । 

उद्योग विभागमार्फत् लगानी प्रतिवद्धता 
क्षेत्र            उद्योग संख्या                रकम (रु. हजारमा)

कृषिजन्य            ५                २८३.७
निर्माण            १                २४०
उर्जामूलक            ७                १६५५९.८३
सूचना सञ्चार प्रविधि    २                १०    
उत्पादनमूलक        १७                १३८२१.८२
सेवामूलक            २६                ९३१.९१
पर्यटन                ४०                ७३६४.७०
स्रोत– उद्योग विभाग
 

सरकारले गत आर्थिक वर्षमा विदेशी लगानी बढाउन तामझामका साथ अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरे पनि सोही अनुसारको लगानी भने आउन सकेको छैन । यसका लागि सबै क्षेत्रमा सुधार गरेर अगाडि बढेमा नेपालमा विदेशी लगानी बढ्न सक्ने पर्याप्त आधार भएको सहसचिव कोइरालाको भनाइ छ । राजनैतिक अस्थिरता, लगानीमैत्री वातावरणको अभाव, ऊर्जा र श्रम संकट मात्र नभएर एफडीआएको प्रक्रिया आफैंमा झन्झिटिलो हुँदा पनि लगानीका लागि समस्या हुने गरेको छ ।

उद्योग विभागका महानिर्देशक शंकर अर्यालले चालू आर्थिक वर्षमा विदेशी लगानी विगतका वर्षमा भन्दा धेरै आउने दावी गर्दै लगानी सम्मेलनले सकारात्मक प्रभाव पारेका दावी गरेका छन् । लगानीकर्ताले लगानी गर्नु अगाडि नै सहज रूपमा लाभ लिनसक्ने क्षेत्र खोज्ने भएकोले सबैभन्दा पहिले लगानीमैत्री वातावरण बनाउनु आवश्यक रहेको उनी बताउँछन् ।

“उत्पादनमूलक उद्योगको तुलनामा विदेशी लगानी सेवा क्षेत्रतर्फ केन्द्रित भएको पाइएको छ, जग्गा प्राप्ती समस्या उद्योग स्थापनाका लागि सवैभन्दा ठूलो समस्या बनेको छ,” उनले भने ।  लगानीकर्ताले जोखिम न्युनीकरण लागि पनि सहज ठाउँमा प्रवेश गर्न खोज्न उनको अनुभव छ ।

यता, विदेशी लगानीमा दर्ता भएका उद्योग कति सञ्चालनमा छन् र तिनमा वास्तविक लगानी कति भएको छ भन्ने एकीकृत तथ्यांक हालसम्म कुनै सरकारी निकायसँग छैन । विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले विभागको दायरा फराकिलो बनाएको छ । यो विधेयकअनुसार ५ अर्ब रुपैयाँसम्मको प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) स्विकृत गर्न पाउने अधिकार विभागलाई नै दिइएको छ ।

यसअघि विभागले २ अर्बभन्दा कम लगानीका उद्योगले सञ्चालन अनुमति दिँदै आएको छ । यस्तै, २ देखि १० अर्ब रुपैयाँ औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा बढीका लगानी भने लगानी बोर्डमार्फत् दर्ता हुन्छन् ।

स्रोत: 

https://www.karobardaily.com/news/82749