News

१ खर्ब २७ अर्बको कृषिजन्य वस्तु आयात

May 24, 2017

Karobar Daily, Lakshmi Sapkota, 24th May 2017, Kathmandu

पछिल्लो ९ महिनामा मुलुकमा १ खर्बभन्दा बढीको कृषिजन्य सामान आयात भएको छ । स्थानीय उत्पादनको लागत महँगो पर्नु, मागअनुरूप उत्पादन हुन नसक्नु, आयातित सामान सस्तो पर्नुलगायतका कारणले पछिल्लो समय कृषिजन्य सामानको आयात बढ्दै गएको हो ।

कृषिजन्य सामानको आयात बढ्दै गए पनि निर्यात भने न्यून छ ।  छिमेकी मुलुक भारतबाट अधिकांश कृषिजन्य सामान आयात हुन्छ । स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी वस्तुको निर्यात बढ्न सकेको छैन ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामा १ खर्ब २७ अर्ब ५६ करोड ८६ लाख रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ । जसका कारण परनिर्भरता बढ्दै गएको छ । 

केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी तेल, चामल, मकै, फलफूल र तरकारीको आयात भएको छ । ९ महिनाको अवधिमा २४ अर्ब ९० करोड रुपैयाँको कच्चा तेल (सोयाबिन, सनफ्लावर, केक, पाम) आयात भएको छ । केन्द्रका अनुसार मलेसिया, इन्डोनेसिया, ब्राजिल, युक्रेनलगायत मुलुकबाट कच्चा तेल आयात हुन्छ । 

९ महिनाको अवधिमा १८ अर्ब ५० करोड रुपैयाँको चामल आयात भएको केन्द्रले जनाएको छ । यस्तै १४ अर्ब ३० करोड रुपैयाँको तरकारी र ६ अर्ब ९२ करोड रुपैयाँको फलफूल आयात भएको छ ।  

यो वर्ष मुलुकमा धानको उत्पादन बढे पनि चामल आयात भने घट्न सकेको छैन । कृषि विकास मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादनमा २१ प्रतिशतले बढेर ५२ लाख टन पुगेको थियो । सरकारले कृषि क्षेत्रमा बजेट बजेट बढाउँदै गए पनि सो क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण नहुँदा कृषिमा आत्मनिर्भर बन्न नसकेको कृषि विज्ञको भनाइ छ । 

केन्द्रका वरिष्ठ तथ्यांक अधिकृत कृष्णराज बजगाईंले स्थानीय उत्पादनले माग धान्न नसक्दा वर्षेनी खर्बौं  रुपैयाँको  कृषिजन्य सामान आयात हुने गरेको बताए ।

“भारतमा कृषि क्षेत्रमा दिने प्रयाप्त सहुलियतले लागत मूल्य कम पर्ने गर्छ,” उनले भने, “जसले गर्दा कृषि जन्य वस्तुको आयात बढी हुने गरेको देखिन्छ ।” खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुनु, जनशक्तिको अभाव, खानेबानीमा परिवर्तनले गर्दा पनि बर्सेनि चामल आयात बढ्दै गएको उनको भनाई छ ।

केन्द्रको तथ्यांकअनुसार ९ महिनामा भारतबाट ७ अर्ब ४८ करोड रुपैयाँको मकै आयात भएको छ । अघिल्लो वर्ष यही अवधिमा ६ अर्ब २० करोड रुपैयाँको आयात थियो । यो अवधिमा ५५ अर्ब ४४ करोड रुपैयाँको अन्य कृषिजन्य उत्पादन आयात भएको छ ।

 

Source: http://www.karobardaily.com/news/78830