२०१५ सालको निर्वाचनमा मत हाल्न उत्प्रेरित गर्ने ब्रोसर

November 07, 2022

लुम्बिनी सञ्चार, कार्त्तिक २१, २०७९

काठमाडौं । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गतेबाट प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधि सभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो जसको अन्तिम परिणामको घोषणा २०१६ साल वैशाख २८ गते भएको थियो ।

प्रतिनिधि सभाको उक्त निर्वाचनमा ९ वटा राजनीतक दलबाट उम्मेदवारी दिइएको भए पनि नेपाली कांग्रेसले दुई तिहाइ (७४) सिटमा विजयी हासिल गरेको थियो भने नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९ सिट, संयुक्त प्रजातन्त्र पार्टीले ५ सिट, नेपाल कम्युनिष्ट पार्टीले ४ सिट, नेपाल प्रजापरिषद् (आचार्य गुट) २ सिट, नेपाल प्रजापरिषद् (मिश्र गुट) १ सिट र स्वतन्त्र ४ सिटमा विजयी भएका थिए ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुवर्णशम्शेर जबराले तीन वटा निर्वाचन क्षेत्रमा र शिवराज पन्तले दुईवटा निर्वाचन क्षेत्रमा विजयी भएकाले उनीहरुले क्रमसः २ र एउटा निर्वाचन क्षेत्रबाट राजीना दिएपछि उपनिर्वाचनसमेत भएको थियो ।

प्रत्यक्ष मतदानबाट हुने प्रतिनिधि सभाको निर्वाचन तत्कालको अवस्थामा संविधानमा छुट्टै निर्वाचन आयोगको व्यवस्था नभए तापनि निर्वाचन सम्पन्न गर्ने कार्य (दुई सदस्यीय टोली) प्रधान निर्वाचन कमिश्नर सुर्वण शम्शेर र निर्वाचन कमिश्नरका रूपमा प्रद्युम्नलाल राजभण्डारीलाई जिम्मा लगाइएको थियो ।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुन २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने र २१ वर्ष उमेर पूरा भई मतदाता नामावलीमा नाम भएका व्यक्तिले प्रतिनिधि सभाको सदस्य निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था थियो ।

त्यसबेला निर्वाचन गर्न जानका लागि उत्प्रेरित गर्दै सात फोल्ड भएको ब्रोसर छापिएको पाइएको छ । त्यसबेला निर्वाचन आयोग नै नभएकाले यो ब्रोसर कसले छाप्यो भन्ने खुलाइएको छैन ।

ब्रोसरको पूर्ण पाठः

१. पहिलो आम निर्वाचन

२०१५ फागुन ७ गते निर्वाचन शुरु हुँदैछ । प्रतिनिधि सभाको निमित्त प्रतिनिधि (बारेस) रोज्न हाम्रा राजाले तोकि बक्सेको दिन हो ।
२- १०९ निर्वाचन क्षेत्र

हाम्रो नेपाल निर्वाचनको निमित्त १०९ क्षेत्रमा बांडिएकोछ। १०९ ठाउंबाट १०९ प्रतिनिधि छानिनेछन् । तिनीहरूबाट प्रतिनिधि सभा बन्नेछ। त्यहीबाट नेपालको राजकाज चल्नेछ।

३-आफ्नो मतदान केन्द्रमा गइ मत खसाल्नोस् ।
तपाईँको गाउँ बस्ती वा टोल नजीक पर्ने मतदान केन्द्रमा नै गइ तपाईँ आफ्नो मत खसाल्नोस्। तपाईँले कहाँ आफ्नो मत खसाल्नु पर्छ पहिले तोकि सकेको हुन्छ । तोकिएको ठाउँको सूचना पहिले निस्किन्छ । हेर्न बुझ्न नबिर्सनु होला। आफ्नो तोकि दिएको केन्द्र बाहेक अन्त अरू कहीं आफ्नो मत खसाल्न पाउनु हुने छैन।


४-आफ्नो मत नखसालि नछोडन होस् ।

हुन सक्दछ आफ्ना मतदान केन्द्रमा पुग्न तपाईँलाई एकाध कोस हिड्न परोस्, तपाईँ आफ्नो खेतीपातीमा लाग्नु भएको होला, बन्द व्यापार र पसलबाट उम्कन गाह्रो भएको होला, घरधन्दाले सास फेर्ने फुर्सद नहोला, त्यसैले कहाँ मत खसाली रहने भो म त जान भन्नु होला—याद राख्नोस् तपाईलाई लायक उम्मेदवार छान्नुस। यसरी नीच मार्दा नालायक छानिएलान् र तपाईँलाई पछुतो होला।

५-सोचि-सम्झी मत दिनोस् ।

 प्रतिनिधि बन्न त्यही ठाउँको मतदाता हुनु पर्दैन । जसले जुनसुकै क्षेत्रबाट पनि उम्मेदबार हुन पाउँदछ। त्यसैले तपाईँले कुनै मानिस लायक छ-छैन भन्ने विचार गर्दा उ कत्तिको लायक छ, त्यतिमात्र हेर्नु पर्छ । अरु कुनै किसिमको भेदभाव राख्न हुँदैन । प्राप्त जातको हुनुपर्छ भने केही छैन, धनी-गरीब भन्ने पनि केही छैन । जसले तपाईको सेवा बर्ता गर्छ भन्ने ठान्नु हुन्छ, जसले प्रतिनिधि सभामा गएर तपाईँको पीर मर्का हटाउन सक्छ अथवा तपाईँको क्षेत्रको भलो गर्नाको साथ साथै आफ्नो मुलुकको तरक्की गराउन सक्दछ । त्यस्तैलाई रोज्नोस् ।लोग्ने मानिस स्वास्नी मानिस दुबैको बराबरी हक छ। हामी आइमाइले पनि मतदान के किन गर्ने भन्ने विचारै नगर्नोस् ।

६- तपाईँको मत गुप्त रहनेछ
मत खसाल्ने दिनभन्दा अगाडि उम्मेदवारहरूले पाएर तपाईँलाई सायद धेरै धाफ रवाफ, धमकी घुर्की, डर त्रास, लोभ लालच देखाउलान्, त्यसमा नफस्नु होला। तपाईले मतदान केन्द्रमा मत खसालेको कसैले देख्न पाउँदैन। तपाईँले आफ्नो मतपत्र कुन व्यालट बक्समा खसाल्नु भयो कसले पाहा पाउन सक्तैन। त्यसैले सबैको कुरा सुन्नु हवस् तर जसलाई सबभन्दा लायक ठहउन हुन्छ उसैको चिह्न भएको व्यालट बक्समा आफ्नो मत खसाल्नोस् । यो व्यालट बक्समा आफ्नो मत खसालेँ भनि तपाईले नभने सम्म कसैलाई अत्तोपत्तो हुँदैन।

७-निर्वाचनमा के के गर्नु पर्छ राम्ररी बुझ्नोस्! जान्नोस्, सुन्नोस् र अरुलाई पनि बुझाउनोस्, सिकाउनोस् र सुनाउनोस्।
हाम्रो नेपालमा पहिलो पटक नै निर्वाचन भै रहेछ । त्यसैले प्रत्येक नेपाली नागरिकले निर्वाचनको काममा चाख लिनु पर्दछ। निर्वाचन आयोगबाट निर्वाचनबारे निस्केका पत्र-पत्रिका पुस्तक-पुस्तिका खोजीखोजी पढ़ने गर्नोस्। अरूलाई पढाउनोस्। अक्षरै नजान्नेलाई निर्वाचन के हो र के के गर्नु पर्दछ। राम्ररी बुझाइ दिनोस्। जहाँ-जहाँ निर्वाचन प्रदर्शन हुन्छ त्यहाँ जानोस्, हेर्नोस्, बुझ्नोस् र नबुझेका कुरा सोधनोस् । उम्मेदवारहरूले पनि आफ्नो-आफ्नो कुरा सबैले भन्नेछन् त्यो सबै तौलनोस् ।

८-मतदान केन्द्रमा गइ मत खसाल्न दिन तपाईँले यो के गर्नु पर्छ पहिले नै सिकि राख्नुस्।
तपाईंको क्षेत्रमा निर्वाचन कुन दिन हुन्छ, कहाँ हुन्छ र तपाईँले कहाँ गएर मत खसाल्नु पर्छ बुझि राख्नु होला। त्यो दिनलाई अरु कुनै काम पनि नसंगाल्नु होला । आफ्नो मातृभूमिको सेवा गर्ने दिन हो, त्यो दिन तपाईँले निर्वाचनमा नै लगाउनु पर्दछ। मतदाताको नामावलिमा तपाईँको नाम दर्ता भएको तपाईँले हेर्नु भएकै होला। सबभन्दा पहिले तपाईँले लाइन मिलेर उभिनु पर्छ। मतदान केन्द्रमा तपाईँको नाम उमेर र बाबु वा पतिको नाम सोधने छन् ठीक-ठीक बताउनु होला अनि तपाईँलाई परिचयपत्र दिनेछन् सो लिएर मतदान केन्द्रमा पस्नुहोला । त्यहाँ अर्को कर्मचारी बसेका हुन्छन् उनले तपाईँलाई मतदानपत्र दिनेछन् । तपाइको चोर औंलामा नमेटिने मसीले चिनो लाउनेछन् । त्यसपछि व्यालट बक्स राखेको गुप्त ठाउँमा तपाईँले जानु पर्छ । आफूले जुन चिन्हल भएको व्यालट बक्समा मतपत्र खसाल्ने अठोट गर्नु भएको छ सोही ब्यालट बक्समा आफ्नो मतपत्र खसाल्नोस्। निर्धक्कसँग आफ्नो मत दिनोस् र बाहिर निस्की हाल्नोस् । त्यहाँ अलमलीन हुँदैन, हेर्नोस् नि तपाईको मतपत्र च्यालट बक्स भित्र पस्नै पर्छ। अरू व्यालट बक्सलाई नछुनोस् ।

स्रोत: https://www.lumbinisanchar.com/archives/70103

Newsletter

Submit your details below to receive Newsletters

Newsletter