News

२५ वर्षपछि इम्बोस्ड प्लेट कार्यान्वयन !

August 22, 2017

शिव बोहोरा, कारोबार आर्थिक दैनिक, ०६ भाद्र २०७४ 

नेपालमा कानुन कार्यान्वयन गर्न कति वर्ष लाग्छ ? – २५ वर्ष । सुन्दा अनौठो लाग्ला तर यो सत्य हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ ले परिकल्पना गरेको इम्बोस्ड नम्बर प्लेट अढाइ दशकपछि कार्यान्वयनमा आएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेट सार्वजनिक गरेका छन् । 

सवारीसाधनको चोरी तथा त्यसको दुरुपयोग रोक्न एवं समग्र यातायात प्रणालीलाई नै आधुनिकीकरण गर्न इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याइएको विभागको भनाइ छ । सवारीसाधनमा यस्तो प्लेट जडानसँगै यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने मन्त्री बलायरले बताए ।

“यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन स्मार्ट लाइसेन्स कार्यान्वयनमा आइसकेको छ र अब इम्बोस्ड नम्बर प्लेट आएपछि अर्को उपलब्धी भएको छ,” उनले भने । इम्बोस्ड नम्बर प्लेट जडानपछि सवारी साधन र सवारी धनीको विवरणका साथै राजस्व असुलीको अवस्थाको बारेमा तत्काल जानकारी लिनसकिने मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए ।

उनका अनुसार तत्कालको लागि सरकारी गाडीबाट इम्बोस्ड प्लेट जडान गरिने छ भने निजी सवारी तथा उपत्यकाबाहिर पनि क्रमशः विस्तार गर्ने योजना छ । इम्बोस्ड नम्बर प्लेटका लागि २०१६ को मेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीबीच ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर बनाइ जडान गरिसक्ने सम्झौता भएको थियो ।

कम्पनीले यो प्रक्रिया पूरा गरेपछि सबै संरचना सरकारलाई हस्तान्तरण गर्ने विभागका महानिर्देशक रूपनाारायण भट्टराइले बताए । सरकारले मूल्य अभिवृद्धी करसहित ४ करोड ३७ लाख ८७ हजार ५ सय अमेरिकी डलर ठेकेदार कम्पनी डेकाटुर–टाइगरलाई ठेक्का दिएको थियो । 

इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपालमा हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा सीमित हुनेछन् । अबदेखि राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामुनी माथिबाट हल्का निलो रङ हुँदै तल गाढा निलो रङ, एनईपी अक्षर, एनईपी अक्षरमुनी लालिगुराँससहितको नेपालको निशानछाप हुनेछ ।

सार्वजनिक सवारीमा भने पँहेलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो, सरकारीमा सेतो प्लेटमा रातो, कुटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने व्यवस्था छ । त्यस्तै सबै प्रकारका सवारी साधनहरूको नम्बर प्लेट अगाडि लामो र पछाडि चर्तुभुज आकारको हुनेछ ।

९९ प्रतिशत आल्मुनियमबाट बनेको यो नम्बर प्लेटमा रेट्रोे रिफ्लेक्टिभ सिट लेमिनेट गरिएको छ भने उक्त प्लेट अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ । यसको कडापन एच ४१ र एच ४२ हुनेछ भने मोटाइ ०.९८ मिलिमिटर हुनेछ ।

बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ड रहेको हुनेछ । प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैको मुनी देश जनाउने गरी अंग्रेजीमा एनईपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुने महानिर्देशक भट्टराईले बताए । 

प्लेटको माथि अञ्चल जनाउने गरी अंग्रेजीमा लेखिएको छ भने प्रदेशको नामाकरण भएपछि सोहीअनुसार लेखिने योजना छ । त्यसको मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र यसको मुनी बढीमा ४ अंक लेखिएको हुनेछ ।

दुईपाङ्ग्रे बाहेकका सबै साधनहरूमा अगाडि वाइड स्क्रिन ग्लासको भित्रपट्टीबाट आरएफआईडी एन्टेना स्टिकर राखिएको छ । मोटरसाइकलको हकमा पछाडिपट्टीको नम्बर प्लेटमा विषेश प्रकारको कभरको डिजाइन गरी चिप्स राखिएको हुन्छ र यसमा आरएफआइडी स्टिकरको सम्पूर्ण विवरण राखिएको हुन्छ ।

सवारी साधनको अवस्थाको बारेमा जानकारी लिनको लागि काठमाडौंको ५ वटै नाकामा ५ वटा आरएफआईडी गेट राखिने विभागले जनाएको छ । आरएफआईडी गेटबाट क्रस हुने सम्पूर्ण सवारी साधनको विवरण विभागमा जडित कन्ट्रोल रुममा छुट्टाछुट्टै एलईडीमा डिस्प्ले हुनेछ । इम्बोस्ड नम्बर प्लेट राख्नलाई हालकोभन्दा केही महँगो हुने भएको छ ।

विभागका अनुसार मोटरसाइकललाई २ हजार ५ सय, तीनपाङ्ग्रे सवारीलाई २९ सय, चारपाङ्ग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३६ सय रुपैयाँ तिर्नुपर्नेछ । 

स्रोत : www.karobardaily.com/news/81702